तुइनमुक्त बन्यो कालिकोट

२ वर्षमा १६ झोलुंगे पुल
जिल्लाभर ५९ पुल पुग्यो
उत्पादनलाई बजार पुर्‍याउन सहज
तुलाराम पाण्डे

कालिकोट — तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट कालिकोटवासी मुक्त भएका छन् । सरकारले दुई वर्षअघि तुइन विस्थापन घोषणा गरेर अभियान चलाएपछि १६ झालुंगे पुल निर्माण भएको थियो ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रत तिला र कर्णाली नदीका ६ वटा पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै ०६४ मै बने पनि अन्य ठाउँमा हालिएका तुइन विस्थापन हुन सकेका थिएनन् । ओली नेतृत्व सरकारको पालामा देशभरका तुइन विस्थापन गर्ने कार्ययोजनासहित काम सुरु गरिएपछि कालिकोटमा उक्त उपलब्धि भएको जिल्ला समन्वय समितिका इन्जिनियर चक्रबहादुर शाहीले बताए । ‘कालिकोट अब तुइन मुक्त भयो ।’

जिल्ला प्राविधिक कार्यालय प्रमुखसमेत रहेका शाहीले भने, ‘मुख्य नदी र ठूला खोलामा तुइन छैनन् ।’ उनले केही ठाउँमा स्थानीयले नदीपारिको घाँस दाउरा गर्न लठ्ठा हालेको सुनेपछि जिससको रेर्डमा कतै तुइन छैनन् । विगतमा दुर्गम क्षेत्र विकास समिति, जिविसलगायतले पुल निर्माणमा सहयोग गरेका भए पनि दुई वर्ष अवधिमा बनेका धेरैजसो नेपाल सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको सहयोगमा निर्माण भएका हुन् । पुल बनाउन हेल्भेटास, हुरेन्डेकलगायतले प्राविधिक सहयोग र सहजीकरण गरेका थिए । इन्जिनियर शाहीका अनुसार कालिकोटमा पुराना र नयाँ गरी ५९ झोलुंगे पुल बनिसकेका छन् । 

पुलको विकल्पमा बनाइएका तुइनबाट नदी तर्दा स्थानीयलाई सास्ती थियो । ०५८ यता तुइनबाट खसेर कालिकोटमै ११ जनाले ज्यान गुमाएका थिए । सयभन्दा बढीका हातका औंला काटिएका छन् । स्थानीय खुलालु, भात्तडी, लालीघाट, जीते, लाफा, पान्तडी, पिली, भिग्मलगायतका ठाउँमा तिला र कर्णालीका पूरै तुइन विस्थापन भइसकेका छन् । रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायत खोलामा पनि झोलुंगे पुल बनेको छ ।

जिल्लामै सबैभन्दा बढी आवतजावत हुने खुलालु तुइन विस्थापन भएर झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका बासिन्दालाई निकै सहज भएको जिसस प्रमुख अनिपाल शाहीले बताए । उनको घर त्यही क्षेत्रको माल्कोटमा पर्छ । उनले जिल्लाका सबै ठाउँमा पुल बनिसकेकाले केही समयभित्रै जिससले तुइन मुक्त जिल्ला घोषणा तयारी गरिरहेको जनाए ।

कर्णाली नदीको खुलालु तुइनमा झुन्डिएर तर्ने क्रममा ६ वर्षअघि खसेर बेपत्ता माल्कोट ७ का ३० वर्षीय मन्जन बोहराका काका रतने खुलालु पुल बनेपछि आउजाउमा सजिलो भएको सुनाउँछन् । सशस्त्र द्वन्द्वमा बाबियाको लठ्ठामा झुन्डिएर कर्णाली वारपार गर्नेले ०६४ वैशाख १ गते सुधारिएको तुइन पाएका थिए । त्यही तुइन तर्ने बेला खसेर रतनेका भतिजाले ज्यान गुमाएका थिए ।

तुइनमा बेपत्ता ५ छोरी र एक छोराको लालनपालन गर्न पत्नी दुदालाई निकै कठिन छ । ‘पुल नहुँदा झुन्डिएर तर्दा मेरो भतिजाको ज्यान गयो,’ ६१ वर्षीय रतनेले भने, ‘अचेल त जतिखेर पनि आफ्नै मनमौजी वारपार गर्न पाइन्छ ।’ उनले वर्षांैदेखि बन्न नसकेको पुल दुई वर्षअघि सरकारले तुइन विस्थापन योजना ल्याएपछि पुल बनाउने काम सुरु भएर ९ महिनाअघि उद्घाटन भएको सुनाए । उनका अनुसार पुल बनेपछि स्थानीयले गाउँमा उत्पादित तरकारी, घिउ र जंगलबाट संकलित जडिबुटी बजार पुर्‍याउन सहज भएको सुनाए । पुल नहुँदा नदी तर्न सास्ती हुने गरेको सुनाउँदै नरहरिनाथ ८ का रमेश विष्टले अहिले सदरमुकाम मान्मलगायत सुर्खेत नेपालगन्ज आउजाउ गर्न सहज भएको सुनाए । खुलालु तुइन बनेपछि लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्साका २० हजारभन्दा बढीलाई नदी तर्न सहज भएको छ ।

पुल बनेकामा खुसी हुँदै लालुकी धनसरा विष्टले पुलले कर्णाली राजमार्गसँग जोडिन पाएको बताइन् । ‘नाउ (डुंगा) चढ्यौ, बाबियाको डोरीमा झुन्डियांै, पछि फलामको तुइन बनेपछि त्यसैमा झुन्डियौं,’ स्थानीय लबजमा विष्टले भनिन्, ‘झोलुंगे पुल बन्दा गाडी रोड बनेजस्तो खुसी लागेको छ ।’ तुइन तर्ने क्रममा यस क्षेत्रका १ सय ५० भन्दा बढीको आंैला काटिएको अनुमान उनको छ ।

गाउँ पुग्ने झोलुंगे पुल बने पनि यही ठाउँमा कर्णाली करिडोरको पक्की पुल शिलान्यास भएको ५ वर्ष बित्दासमेत काम भएको छैन । हेलिकप्टरमा आएर तत्कालीन भौतिक योजनामन्त्री बिमलेन्द्र निधिसहित ५ मन्त्रीले शिलान्यास गरे पनि ठेकेदारको लापरबाहीका कारण नेपाली सेनालाई सरकारले निर्माण जिम्मा दिएको छ । नदी तर्न वैकल्पिक साधनका रूपमा कालिकोटमा निर्माण भएका तुइनको संख्या ११ भएकोमा हाल सबै विस्थापन भइसकेको हेल्भेटासका इन्जिनियर नन्दलाल धरालाले सुनाए । उनका अनुसार गत वर्ष ८ झोलुंगे पुल बनेको थियो भने यस वर्ष थप ८ बनेका छन् । 

लालु–माल्कोट जोड्ने लाम्रीखोला, माल्कोटको दोविटा, मेहेलमुडीको सान्नीगाड र काप्रीखोला, स्युनाको लडेखोला, चिल्खायाको चडाखाना र थाम्खेत, मान्म र भर्ता जोड्ने नाक्चा दोभानमा झोलुंगे पुल निर्माण सम्पन्न भएको जिससले जनाएको छ ।०६३ यता जिल्लाका खुलालु, पान्तडी, पिली, भुलुतिप, धनाडालगायत ठाउँमा बनाइएका सुधारिएको तुइनमा आंैला काटिनेको संख्या एक सय नाघेको छ । ०३२ सम्म जिल्लाभर एउटै पनि झोलुंगे पुल नभएकामा सबै बासिन्दा नदी तर्न तागुलो (बाबियाको डोरीमा झुन्डिन्थे), झुगलो र केही ठाउँमा गेज (तुइन) बाट नदी पार गर्थे । सशस्त्र द्वन्द्वका बेला कालीकोटका तिला र कर्णाली नदीका ६ झोलुंगे पुलमा क्षति पुर्‍याइएपछि निर्माण गरिएका तुइनबाट खस्ने तथा बाबियाको लठ्ठा चँुडिएर मर्नेको संख्या ११ पुगेको थियो ।

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मतदाता कुर्दै कर्मचारी

हरि गौतम

रुकुम (पश्चिम) — आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको मतदानका लागि मतदान अधिकृतसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्र पुगेका छन् । मतदानका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हिँडेका कर्मचारी सबै मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

जिल्लामा ७३ मतदानस्थल छन् भने १ सय ११ केन्द्र तोकिएको छ । ‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगिसके,’ जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने, ‘मतदान केन्द्रमा पुगेर कर्मचारीले आवश्यक काम पनि थालिसकेको खबर आएको छ ।’

मतदानका लागि मतपत्रलगायत सम्पूर्ण सामग्री लिएर कर्मचारी टोली सुरक्षित रूपमा मतदान केन्द्र पुगेका छन् । केन्द्र पुगेर पनि कतिपय मतदान केन्द्रको सर्वदलीय बैठक बस्ने, चार किल्ला तोक्ने, मदिरा बन्देज गर्नेजस्ता काम भइसकेको देवकोटाले जानकारी गराए । ‘अहिलेसम्मको अवस्था हेर्दा सबै सामान्य नै छ,’ उनले भने, ‘सम्बन्धित केन्द्रमा कर्मचारी साथीहरू पुगेर पनि आवश्यक बन्दोबस्त गरी मतदाता पर्खिरहेका छन् ।’

प्रदेशसभा सदस्यतर्फको क निर्वाचन क्षेत्रको बाँफिकोट गाउँपालिका ६ को सिदार्थ जनता माविको ख मतदान केन्द्रका मतदान अधिकृत विनाराम खडकाले बिनाबाधाअवरोध मतदानका सामग्रीसहित मतदान केन्द्रमा पुगेको बताए । मतदान केन्द्रको सम्पूर्ण काम सकेर मतदाता परिचयपत्र वितरण तयारीमा रहेको उनको भनाइ छ । ‘हामीले सबै तयारी लगभग सक्यौं,’ खडकाले भने, ‘मतपत्र प्रदानका लागि मतदाता कुरेर बसेका छौं ।’

प्रदेशसभा सदस्यतर्फको ख निर्वाचन क्षेत्रको चौरजहारी नगरपालिका २ को शितल मावि मतदान केन्द्रका मतदान अधिकृत शेरबहादुर परियारले केन्द्रका अधिकांश काम सकिएको बताए । हामीले मतदान केन्द्र पुगेपछि गर्नुपर्ने अधिकांश काम सक्यौं, परियारले भने, ‘अब सर्वदलीय बैठक गर्ने र समय आएपछि मतदानको काम गराउनमात्रै बाँकी रह्यो ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि ५ गते मंगलबारदेखि कर्मचारी खटाउन थालेको थियो । सदरमुकामदेखि सबैभन्दा टाढाको आठविसकोट नगरपालिकाका सबै केन्द्रमा ५ गते कर्मचारी खटाइएको थियो भने अन्तिम दिन बिहीबार मुसिकोट नगरपालिकाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् ।

१ प्रतिनिधि तथा २ प्रदेशसभा सदस्यतर्फका निर्वाचन क्षेत्र रहेको जिल्लामा ८४ हजार ३२ मतदाता रहेका छन् । ३/३ स्थानीय तह मिसाएर प्रदेशसभा सदस्यतर्फका निर्वाचन क्षेत्र बनाइएको छ । प्रदेश क निर्वाचन क्षेत्रमा ४१ हजार ६ सय ५५ मतदाता छन् भने खमा ४२ हजार ४२ हजार ३ सय ७७ मतदाता छन् ।

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT