कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ फर्किए मतदाता

कान्तिपुर टिम

मुस्ताङ — अध्ययनका लागि राजधानी बस्दै आएका छिरिङ गुरुङ शुक्रबार घर फर्किएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्र–३ त्रिगाउँका उनी चुनावमा भोट हाल्न आएका हुन् ।

गाउँ फर्किए मतदाता

‘मतदाता नामावलीमा नाम लेखाएको थिएँ, पहिलोपटक भोट हाल्दै छु,’ उनले भने । उनीसँगै साथी तेन्जिङ गुरुङ पनि घर आएका छन् ।

जाडो छल्न अन्यत्र गएका र यहीँ मतदाता नामावलीमा नाम भएर जिल्ला बाहिर बसोबास गरेकाहरू अहिले धमाधम घर फर्कंदै छन् । उम्मेदवार र दलहरूले गाउँबाहिर रहेका आफन्तलाई बोलाउन स्थानीयसँग आग्रह गरिरहेका छन् । उम्मेदवारहरूले इष्टमित्र तथा समर्थकलाई बोलाएका छन् । दलहरूले पनि सबै ठाउँमा खबर पुर्‍याइसकेका छन् ।

मतदाता बस, जिप, निजी सवारी, जहाज र हेलिकप्टरबाटसमेत आइरहेका छन् । उपल्लो मुस्ताङमा हेलिकप्टरबाट मतदाता ओसारिँदै छन् । सातायता हेलिकप्टरका दैनिक दर्जन बढी उडान भइरहेको जोमसोम विमानस्थल कार्यालयले जनाएको छ । यात्रु चाप बढेपछि तारा एयरलाइन्सले नियमित तथा चार्टर उडान थपेको विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए । बेनी, पोखरालगायत स्थानमा बसेकाहरू निजी तथा सार्वजनिक सवारीबाट हूलका हूल आएका छन् । जिप तथा बस व्यवसायी समितिका अनुसार यात्रुको चापले गर्दा सवारी अपुग भएको छ । जोमसोमबाट लोमान्थाङ जाने सवारी अभावले कतिपय मतदाता रोकिएका छन् ।

जाडो छल्न असोज–कात्तिकमा झरेकाहरू पनि गाउँ फर्किएका छन् । भोट हालेर बेंसी झरिहाल्ने उनीहरू बताउँछन् । ‘भोट दिन जसरी पनि आउनु भनेर खबर गरे, भोट दिएर फर्किहाल्ने हो,’ झुसाङकी कुरिमिङ गुरुङले भनिन्, ‘जाडो खान किन बस्नु ? आफ्नो उता (पोखरा) मा व्यापार छ, जानुपर्‍यो नि ।’
निर्वाचन कार्यालय सबै मतदान केन्द्रमा आवश्यक कर्मचारी पठाइसकेको छ । दुर्गम र टाढाका केन्द्रमा तीन दिनअघि नै कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

सुरक्षा तयारी पूरा
मतदानस्थलको सुरक्षाका लागि तयारी पूरा भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । जिल्ला सुरक्षा समितिले मतदानस्थलमा सेना, प्रहरी व्यापक परिचालन गरेको छ । कोरलानजिकै रहेको छोन्हुपदेखि तल्लो मुस्ताङको घाँसासम्मका मतदान केन्द्रको सुरक्षा मजबुत बनाइएको समितिले जनाएको छ । गृह मन्त्रालयले धौलागिरी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी विक्रम गुरुङलाई चुनाव अवधिभर जोमसोममा खटाएको छ ।

‘यहाँ कुनै प्रकारको असुरक्षा छैन, निर्धक्क भएर भोट हाल्न अनुरोध गरेका छौं,’ गुरुङले भने । बिहीबार र शुक्रबारको सुरक्षाकर्मी बैठकले कुनै पनि मतदानस्थल संवेदनशील नरहेको निष्कर्ष निकालेको उनले जानकारी दिए । ३७ वटा मतदान केन्द्र रहेको मुस्ताङमा प्रहरी २ सय ६२, म्यादी १ सय ९५, सशस्त्र २ सय ४४ जना र बाहिरी घेरामा आवश्यकताअनुसार सेना खटिएको सुरक्षा स्रोतले जनाएको छ ।

आफन्त बोलाउन दौडधुप
विगतमा मंसिर लागेसँगै मनाङीहरू जाडो छल्न राजधानीतिर लाग्थे । अहिले ठीक उल्टो भएको छ । जाडो बढ्दै जाँदा राजधानीमा रहेकासमेत मनाङ फर्किएका छन् । ‘पहिले यतिबेला गाउँबाट हाम्रा आफन्त काठमाडौं आइपुग्थे । अहिले हामी आफैं मनाङ जानुपरेको छ,’ माथिल्लो मनाङको नेस्याङ गाउँपालिका–२ घ्यारुकी लक्ष्मी गुरुङले भनिन्, ‘गाउँका आफन्त त्यहीँ छन् ।’ उनले आगामी आइतबार हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावमा भोट हाल्न गाउँ फर्केको बताइन् । ‘धेरै वर्ष विदेश बसें । स्थानीय चुनावमा पनि आइनँ,’ उनले भनिन्, ‘अब त प्रदेश र देश बनाउने नेता चुन्नु छ, त्यसैले फर्किएँ ।’

मनाङको चामेमा अहिले साँझ–बिहानको तापक्रम शून्य डिग्री सेल्सियस छ । राति त्यसभन्दा पनि तल झर्छ । काठमाडौंमा व्यस्त जीवन बिताइरहेकाहरू भोट हाल्नकै लागि गाउँ फर्केर चिसो झेल्दै छन् । काठमाडौंमा व्यवसाय गर्दै आएका नेस्याङ–६ मनाङ गाउँका पाल्देन गुरुङ पनि गाउँ फर्केका छन् । ‘गाउँमा चिसो छ । तर, पर्वजस्तो चुनावमा भाग लिनुपर्‍यो नि,’ उनले भने, ‘केही दिन भए पनि जाडो सहौंला, भोट हालेर फर्कौंला ।’ उनका अनुसार माथिल्लो क्षेत्रमा जाडो निकै बढेको छ । ‘सबैले तल आउने भनेका थिए । भोट हालेर सँगै झरौंला भनेका छौं,’ उनले भने । काठमाडौंमा पढ्ने नासोङ गाउँपालिका–१ तालका मदन गुरुङले चुनावमा भोट हाल्न गाउँ फर्केको बताए । ‘हामीजस्ता युवा, विद्यार्थी नै भोट हाल्न नआए अरूलाई के भन्ने ?’ उनले भने । नासोङ–२ नाचैका रवि गुरुङले गाउँमा भोट हालेर आफन्तसँगै काठमाडौं फर्किने बताए ।

बेंसीसहर–चामे सडकमा भोट हाल्न मनाङ जानेको ठूलै हूल देखिन्छ । कतिपय काठमाडौंबाट सीधै मनाङ गएका छन् भने कतिपय बेंसीसहर बसेर जाने गरेका छन् । बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे पुग्न जिपमा ७ घण्टा लाग्छ । नारफू जान २ दिन, माथिल्लो मनाङ क्षेत्र जान ४/५ घण्टा लाग्छ । एक्लै आउन–जान असुविधाका कारण हूलका हूल जाने र त्यसरी नै फर्किने नाचै घर भएकी जुनमाया गुरुङ बताउँछिन् । ‘१ गतेमात्रै काठमाडौं झरेकी हुँ’, उनले भनिन्, ‘गाउँठाउँका आफन्तलाई सँगै लिएर आएकी छु ।’ महिलाले आफ्ना साना बालबालिकालाई पनि साथै लिएर आएका छन् । केही दिनयता मनाङतर्फ दैनिक ४० वटा जिप छुट्ने गरेको उनीहरू बताउँछन् ।

गाउँका मतदाता पनि सहर झर्ने बेलामा चुनावी रौनकमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न गाउँमै रोकिएका हुन् । हिमाली जिल्ला मनाङमा देशमै सबैभन्दा कम ५ हजार ८ सय ८१ मतदाता छन् । स्थानीय चुनावमा ५ हजार ९५ थिए । अधिकांश मतदाता काठमाडौंमा बस्छन् । मनाङमा प्राय: होटल सञ्चालन तथा याक–चौंरी तथा च्याङ्ग्रा पालन गर्नेहरू बस्छन् ।

भोट हाल्ने चटारो
रोजगारी क्रममा कोरिया पुगेका भोजपुरको हतुवागढी गाउँपालिका, दियानाका इन्द्रबहादुर थापा साताअघि घर आइपुगे । ६ वर्षपछि फर्केका उनले भने, ‘०७० को चुनावमा भोट हाल्न पाइएन, यसपालि आफूले रोजेको उम्मेदवारलाई ढुक्कले हालिन्छ, मतदान गर्ने मौका जुरेको रहेछ ।’ पूर्वसहसचिव उद्धव तिमल्सिना पनि गृहजिल्ला आइपुगेका छन् । ‘मताधिकार प्रयोग गर्न आइपुगेको छु, गृहजिल्लाको विकासका लागि कटिबद्ध, प्रतिबद्ध प्रतिनिधि छानेर फर्कन्छु,’ उनले भने । आइतबार सम्पन्न हुने मतदानकै लागि मतदाता जिल्ला फर्कने लहर बढेको छ । अध्ययन र रोजगारी सिलसिलामा सहरबजार, राजधानी तथा विदेश पुगेकाहरू घर आउँदै छन् । सदरमुकाम बस्दै आएकालाई पनि गाउँ फर्कने चटारो छ । यसले गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम सुनसान हुँदै गएको छ ।

बस तथा जहाज चढेर आउनेको संख्या दैनिकजसो बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियार थारूले बताए । ‘बसहरू पहिला खाली खाली आउँथे, अहिले भरिएर आइरहेका छन्, जहाज चढेर आउनेको संख्या पनि बढेको छ,’ उनले भने । मतदाता गाउँ जाने क्रम ९ गते शनिबार बेलुकासम्म चल्नेछ । उनीहरूको सुरक्षाका लागि ‘एस्कर्टिङ’ व्यवस्था गरिएको थारूले बताए । जिल्लामा यसअघि निर्वाचनविरोधी तथा उम्मेदवारलक्षित घटना भएकाले दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनाव शान्त, सुव्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुग्न लागेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामका अनुसार मतपेटिका, परिचयपत्र, मतपत्रलगायत निर्वाचन सामग्री लिएर कर्मचारीहरू मतदान केन्द्रतिर लागिसकेका छन् ।
गाउँ भरिँदै, सदरमुकाम सुनसान

भोट हाल्न मतदाता आ–आफ्ना गाउँ फर्किन थालेपछि पहिलो चरणमा निर्वाचन हुने जिल्लाका सदरमुकाम सुनसान हुन थालेका छन् । बाजुरा सदरमुकाम मार्तडी बजारमा बिहीबारदेखि व्यापारिक चहलपहल घटिसकेको छ । सधैं भीडभाड हुने मार्तडीको दुनी हाटबजारसहित कोल्टीलगायत स्थानीय बजारमा व्यवसाय गर्दै आएकाहरू पसल बन्द गरेर गाउँतिर लागेका छन् ।

पार्टीविशेषप्रति आस्था बोकेकाहरू आफ्नो पक्षका उम्मेदवारलाई जिताउन छरछिमेक र आफन्तसँग छलफल गर्ने उद्देश्यले निर्वाचनको दुई दिनअघि नै सदरमुकामबाट बाहिरिन थालेको मार्तडीका व्यवसायी काशीप्रसाद जैसीले बताए । ग्रामीण सडकमा चल्ने जिपहरू बिहीबार सदरमुकामबाट यात्रु बोकेर बाहिरिने क्रम बाक्लै देखियो तर सदरमुकाम भित्रिने यात्रुवाहक जिप खासै देखिएनन् । शिक्षण संस्थासमेत बन्द भएपछि सदरमुकामका शिक्षक र विद्यार्थीसमेत घर फर्कन थालेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट पनि बुधबारदेखि नै मानिस गाउँ जाने क्रम बढेको छ । निर्वाचनमा खटिने कर्मचारीहरू नियुक्ति र निर्वाचन सामग्री बुझ्न विभिन्न ठाउँबाट भेला हुँदा सुरुआती दिनमा सदरमुकाममा भीडभाड बढेको थियो । कर्मचारीसँगै सुरक्षाकर्मीसमेत बिहीबार बिहानै तोकिएको निर्वाचनस्थलतर्फ लागेपछि सुनसान छ ।

चैनपुरमा ग्रामीण क्षेत्रबाट आई व्यापार व्यवसाय, अध्ययन तथा विभिन्न पेसामा संलग्नहरू निकै छन् । उनीहरू आफू समर्थक उम्मेदवारको प्रचारप्रसार र मतदानका लागि गाउँतिर लागिसकेका छन् ।

‘गाउँतिरको चुनावी माहोल पनि बुझ्नुपर्‍यो नि,’ चैनपुरमा फेन्सी पसल सञ्चालन गर्दै आएका कैलाशका डबल खड्काले भने, ‘कसलाई भोट दिने भन्नेबारे टोल–छिमेकमा सल्लाह गर्न पनि पाइएको छैन । त्यही भएर आजै घर हिँडेको ।’ उनी परिवारसहित हिँडेका छन् ।

चुनाव नजिकिएसँगै जिल्लाका अन्य बजारमा पनि चहलपहल घटेको छ । झोताबजार, मौरीबगर, भाडेबगर, विजगडालगायत बजार क्षेत्रबाट पनि मानिस घर फर्केपछि व्यापारिक गतिविधि ठप्प भएको स्थानीयले बताए । गाउँमा भने चहलपहल बढ्न थालेको छ । टोलटोल र घरघरमा राति अबेरसम्म पनि चुनावी बहस र छलफल सुरु भएको मालुमेलाका डीबी विष्टले बताए ।

डोल्पामा पनि चुनावका लागि सर्वसाधारण तथा व्यवसायी गाउँतिर हिँडेपछि सदरमुकाम दुनै सुनसान बनेको छ । दुनैका अधिकांश पसल र होटल बन्द छन् । ठूलीभेरी नगरपालिका उपप्रमुख योगेन्द्रबहादुर शाहीले करिब ६० प्रतिशत सर्वसाधारण गाउँ गएको बताए । सदरमुकाम सुनसान बनेसँगै ग्रामीण क्षेत्रमा भने चहलपहल बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक राख्न, चार दिशा कायम गर्न, मतदान केन्द्र व्यवस्थापनको तयारी भएको छ । अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले शान्ति सुरक्षामा कुनै पनि चुनौती देखानपरेको बताए । जिल्लामा ६६ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
(विनोद त्रिपाठी/मुस्ताङ, विद्या राई/भोजपुर, आश गुरुङ/लमजुङ, वसन्तप्रताप सिंह/बझाङ, अर्जुन शाह/बाजुरा, विष्णुबहादुर बुढा/डोल्पा)

प्रकाशित : मंसिर ९, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?