२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कर्मचारीलाई पानीकै पिरलो

टीकाप्रसाद भट्ट

रामेछाप — सहायक प्रजिअ यज्ञप्रसाद शर्मा बिहीबार साँझ निर्वाचन कर्मचारीसँगै भलुवाजोरको कालिका मावि केन्द्र पुगे । निर्वाचन सामग्री बोकेर थकित उनीहरूले पिउन पानीसम्म पाएनन् । खानपिन र बास त परको कुरा ।

विद्यालय वरिपरि एउटै घर थिएनन् । शर्माले कर्मचारीलाई परेको असुविधाबारे जिल्लामा जानकारी गराए तर रात परिसकेकाले जिल्लाबाट तत्काल कुनै व्यवस्था हुने सम्भावना थिएन ।

कर्मचारी भोकैप्यासै परेको सुनेपछि राति झन्डै आधा घण्टा तलको डाँडाखर्कबाट मोटरसाइकलमा केही युवाले पानी पुर्‍याइदिए । त्यसपछि बल्ल खानपिनको प्रबन्ध थालियो । शुक्रबार बिहान उक्त टोलीलाई तामाकोसीबाट ट्यांकरमा पानी पुग्यो । भलुवाजोरको हुलाक डाँडाको मतदान केन्द्रमा पनि अर्को ट्यांकर पानी गयो ।
जिल्लाका अन्य केन्द्रमा खटिएका कर्मचारीले पनि खानेपानी अभाव झेल्नुपरेको छ । रामपुरको कोलञ्जोर मतदान केन्द्रका कर्मचारी घन्टौं पँधेरामा बिताउन बाध्य छन् । ‘काकाकुल ठाउँमा परिएछ,’ जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर खिला महत भन्छन्, ‘मतदान केन्द्रको तयारीभन्दा पनि खानेपानी जुटाउन खट्नुपरेको छ ।’

खानेपानी अभाव रहेको क्षेत्रमा खटिएका कर्मचारीलाई बढी मर्का छ । पकरवासको राम्चे केन्द्रका मतदान अधिकृत कैलाश सुवाल भन्छन्, ‘खानेपानी किनेर चलाउँदैछौं ।’ पकरवासमा पानी प्रतिलिटर २ रुपैयामाँ किन–बेच भइरहेको छ । पिउनै पर्याप्त पानी नभएपछि कर्मचारीले नुहाउन र लुगा धुन पाएका छैनन् । जिल्लाको दक्षिणी क्षेत्रमा वर्षांैदेखि खानेपानी अभाव छ । भएका स्रोत पनि धमाधम सुकिरहेका छन् । स्थानीयसमेत किनेरै गुजारा चलाउन बाध्य छन् ।

प्रहरी थपिए
चुनावका लागि जिल्लामा झन्डै ५ सय प्रहरी थप गरिएको छ । ३ सय हाराहारी प्रहरी मात्र रहेकामा बाहिरी जिल्लाबाट थप सुरक्षाबल झिकाइएको हो । जिल्लामा म्यादीसमेत १ हजार ५ सय ३२ सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार २० प्रहरी निरीक्षकले मतदान केन्द्रको सुरक्षा नेतृत्व लिनेछन् । मतदान केन्द्रका अतिरिक्त थप मद्दतका लागि १८ मोबाइल टोली परिचालन हुने उनले जानकारी दिए । यसैबीच चुनावका लागि खटाइएका कर्मचारी र सुरक्षाकर्मी तोकिएका केन्द्र पुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार मतदान अधिकृतसहितको टोलीले मतदाता परिचयपत्र वितरणको कामसमेत थालिसकेको छ । जिल्लामा १ सय ९१ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित : मंसिर ९, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?