कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शून्य डिग्री छिचोल्दै मतदान

(सुर्खेत), (मुस्ताङ), (लमजुङ) र (गोरखा) — कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ । मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् ।

शून्य डिग्री छिचोल्दै मतदान

प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउँ पर्‍यो । हिमपात रोकिए पनि गाउँबस्ती र पाखा अझै सेताम्मे छन् । मतदान केन्द्र पुग्ने गोरेटोमा हिउँ पग्लिसकेको छैन । जुम्लाका ६० वटै केन्द्रमा तापक्रम शून्य डिग्रीमा झरिसकेको छ । ‘मतदान केन्द्र वरपर हिउँ जमेको छ, तर थप हिमपात नभए चुनाव प्रभावित नहुने गरी सम्पूर्ण तयारी मिलाइएको छ,’ प्रदेश ६ को निर्वाचन समन्वय गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयकी सूचना अधिकारी शोभा अधिकारीले भनिन्, ‘चिसोले जनजीवन कष्टकर भए पनि मतदाता परिचयपत्र उत्साहजनक रूपमा वितरण भएको छ ।’ निर्वाचनप्रति स्थानीयको धेरै चासो देखिएको उनले बताइन् ।
सबैभन्दा धेरै माथिल्लो डोल्पाका १९ मतदान केन्द्रमा हिउँ जमेको छ । हुम्लाको लिमी उपत्यकाका ९ र माथिल्लो मुगुका डोल्फु तथा मुगुगाउँ केन्द्र पनि हिउँले सेताम्मे छ । निर्वाचन केन्द्रसम्म पुग्ने बाटो हिउँले पुरिएकाले धेरै स्थानमा हेलिकप्टरबाट निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइएको उनले बताइन् । ‘भौगोलिक विकटता र अत्यधिक चिसोले निर्वाचन व्यवस्थापनमा कठिनाइ भएको पक्कै हो,’ ती जिल्लाका निर्वाचन अधिकृतहरूलाई उद्धृत गर्दै उनले भनिन्, ‘तर पनि मतदाता उत्साहित नै छन् ।’ हुम्लामा मंसिर ३ र ४ गते परेको हिमपातले ५२ मध्ये ९ वटा मतदानस्थलमा हिउँ जमेको छ । जनजीवन उत्तिकै कष्टकर बनेको छ । दिउँसो घाम लागेकाले पग्लिन थाले पनि चिसो उत्तिकै छ । हिमालपारिको गाउँ मानिने नाम्खा गाउँपालिकाका मतदान केन्द्रमा मतदाता संख्या अति कम छ । थोरैमा ८७ देखि धेरैमा ३ सय ८४ मतदाता रहेका ती १० वटा केन्द्रबाट १ हजार ८ सय ९६ जनाले मतदान गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । 
नाम्खाको लिमी उपत्यका सेताम्य छ । हिउँद लाग्नासाथ त्यहाँका अधिकांश सर्वसाधारण जाडो छल्न ६ महिना जिल्लाबाहिर जान्छन् । तर यस पटक धेरैलाई चुनावले रोकेको छ । हिउँले बाटो पुरिएपछि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरबाट लगिएको थियो । मतदानपछि मतपेटिका पनि हेलिकप्टरबाटै ल्याउने तयारी गरिएको प्रजिअ बाँस्कोटाले बताए । सदरमुकाम सिमकोट फर्किन ५ हजार मिटर अग्लो यारी भन्ज्याङ लेक काट्नुपर्छ । ‘हिउँले पुरिएको बाटो छिचोल्दै आउन कठिन हुन्छ भनेर कर्मचारी र सुरक्षाकर्मीले हेलिकप्टरको माग गर्नुभएको छ,’ उनले भने, ‘मैले माथिल्लो निकायमा अनुरोध पठाएको छु ।’ जुम्लाको तापक्रम बिहान अबेरसम्म माइनस ५ डिग्री सेल्सियस वरपर रहन्छ । दिउँसो घाम लागेर १० डिग्री पुगे पनि वरपरका लेकमा परेको हिउँले मध्याहनपछि नै सिरेठो चल्छ । ‘जुम्लाको आकाश सफा छ, त्यसैले चुनावसम्म हिमपात नहोला,’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘अत्यधिक चिसो भए पनि मतदाता स्थानीय नै भएकाले मतदान प्रभावित हुँदैन ।’ जुम्लाका ९० वटा मतदानस्थलको तापक्रम शून्य डिग्रीमा झरिसकेको उनले बताए ।
डोल्पाका उच्च हिमाली मतदान केन्द्रमा तापक्रम माइनस ७ डिग्रीमा झरे पनि निर्वाचनको राम्रो तयारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिप्रसाद शर्माले बताए । ‘मतदानस्थल र पाखा हिउँले सेताम्मे छन्,’ उनले भने, ‘चिसोले जनजीवन कष्टकर भए पनि थप हिमपात नभए निर्वाचनमा बाधा पुग्ने छैन ।’ 
सदरमुकाम दुनै बजारमा तापक्रम शून्य डिग्रीमा झरेको छ । मंसिर १ गते परेको हिमपातले माथिल्ला भेगका बाटोहरू पुरिएका थिए । मरिम, बगाला, मुगाला, धों पास, तिन्जे जाने लेकमा एक फिटसम्म हिउँ जमेको थियो । अहिले हिउँ पग्लिने क्रममा रहे पनि पानी जमेको छ । गाउँ र पाखा अझै सेताम्य छन् । माथिल्लो डोल्पाका २२ मध्ये से फोक्सन्डो, थार्कासाङ र कागकोटबाहेक १९ मतदान केन्द्रमा हिउँ जमेको डीएसपी शर्माले बताए । अत्यधिक चिसोले निर्वाचन गराउन गएका केही कर्मचारी र प्रहरी बिरामी परेका छन् । केहीलाई हाई अल्टिच्युटको समस्या देखिएको छ । हिँडेर ५ दिनभन्दा धेरै समय लाग्ने माथिल्लो डोल्पाका मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन अधिकृत, कर्मचारी र प्रहरी पठाइएको छ । 
मुगुका पूर्वी करान क्षेत्रमा पनि अत्यधिक चिसोले कठिनाइका बीच चुनाव हुँदैछ । उच्च भेगका गाउँबस्तीमा तापक्रम माइनस डिग्रीमा झरेको छ । माथिल्लो मुगुका १० निर्वाचन केन्द्रमा निर्वाचन गराउन कष्टकर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी भीमकिरण बोगटीले बताए । ‘डोल्फु र मुगुगाउँमा मतदाता हिउँमा हिँडेरै मतदान गर्दैछन्, अरू पाँच केन्द्रमा पनि उस्तै चिसो छ,’ उनले भने, ‘हिमाली भेगको पहिचान देखिने गरी हिउँकै बीचमा मतदान हुँदैछ ।’
मतपेटिका दिउँसो मात्र ओसारिने 
पहिलो चरणअन्तर्गत आइतबार मतदान हुने प्रदेश ५ र ६ का ९ जिल्लामा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै दिउँसो मात्रै मतपेटिका ढुवानी गरिने भएको छ । निर्वाचन हुने केही जिल्लाको उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन गर्दै भौगोलिक विकटताका कारण रातिको समयमा मतपेटिका ढुवानी नगर्ने निर्णय लिएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित चारवटै सुरक्षा अंगका प्रमुखहरूले शनिबार विभिन्न जिल्लाको निरीक्षण गर्नुका साथै स्थानीयस्तरको सुरक्षा अवस्थाबारे अवलोकन गरेका छन् । 
अनुगमन टोलीमा संलग्न मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधानले विशेषगरी कर्णालीका जिल्लामा भौगोलिक विकटताका कारण एकै दिनमा मतपेटिका ढुवानी गर्न सम्भव नभएको बताए । ‘एउटा हेलिकप्टर सुर्खेत विमानस्थलमा ‘स्ट्यान्डबाई’ राखिनेछ, आवश्यक पर्नेबित्तिकै उक्त हेलिकप्टरले सुरक्षाकर्मी पुर्‍याउनेछ,’ प्रधानले भने, ‘एउटा मात्रै हेलिकप्टर भएकाले सबै मतपेटिका ढुवानी गर्न सम्भव छैन । त्यही भएर रातिमा रोकेर दिउँसो मात्रै ढुवानी गर्ने योजना बनाएका छौं ।’ प्रदेश ६ का जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट र पश्चिम रुकुम तथा प्रदेश ५ का रोल्पा र पूर्वी रुकुमका ५ सय १० मतदानस्थलमा आइतबार निर्वाचन हुँदैछ । 
मुस्ताङवासी डोल्पामा 
मतदानको दिन पर्खाइमा बसेका उपल्लो मुस्ताङका बासिन्दा चिसो अत्यधिक बढेपछि छिमेकी जिल्ला डोल्पा गएर बसेका छन् । उनीहरू डोल्पाको नजिकैका गाउँमा बसेर भोट दिनका लागि मात्र कुरिरहेका छन् । यो क्षेत्रको तापक्रम माइनस एक पुग्छ । दिउँसो भने ८/९ डिग्री पुग्छ । भोट दिन नपरेको भए सबैजना तल झरिसक्थे । निर्वाचन कार्यालयका कर्मचारीलाई उनीहरूले खबर पठाएर भोट दिन आइतबार आउने र भोट दिएर तुरुन्त फर्कने जनाएका छन् । 
हिमाली आधारभूत विद्यालय शान्ता मतदान केन्द्र डोल्पासँग जोडिएको गाउँ हो । यहाँका कुनै पनि मतदाता अहिले आफ्नो घरमा छैनन् । यो गाउँ पुग्न कागबेनीबाट उत्तर–पश्चिम ८ घण्टा पैदल जानुपर्छ । उनीहरू सबैजना पारि डोल्पाको गाउँमा रहेका आफन्त तथा होटलमा गएर बसेका छन् । चिसो खप्नै नसकेपछि यी मतदाताहरू आफ्नो घरमा बस्नै नसकेको निर्वाचनमा खटिएका कर्मचारीले बताए । बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका २ मा पर्ने यो गाउँ निकै दुर्गम हो । यहाँ पुग्न ४२ सय मिटर उचाइ उकालो चढ्नुपर्छ । ३९ जनामात्रै मतदाता रहेको यो केन्द्रमा मतदान अधिकृत नगेन्द्र नेपालको टिम खटिएको छ । 
छोन्हुप गाउँको निफुक नामडोल नार्मुलिङ गुम्बा मतदान केन्द्र उत्तर चीनतर्फ जोडिएको केन्द्र हो । कोरला नाका जाने बाटोमै रहेको यो केन्द्रमा पनि अत्यधिक चिसो छ । २ सय ३३ मतदाता रहेको यो केन्द्रमा पुग्नै सदरमुकाम जोमसोमबाट गाडीमा पूरा एकदिन लाग्छ । अर्को सम्जुङ आधारभूत विद्यालय लोमांथाङको केन्द्र निकै विकटमा रहेको छ । यो केन्द्र पुग्न दिनभरि उकालो पैदल चढ्नुपर्छ । 
‘शान्ता मतदान केन्द्रमा रहेका सबै मतदाता डोल्पातिर गएर बसेका छन्, उनीहरू चुनावको दिन आउने भनेर हामीलाई खबर गरेका छन्,’ निर्वाचन कार्यालयका सुब्बा बालकृष्ण मिश्रले भने, ‘जाडो खप्न नसकेर उनीहरूले गाउँ छोडेका हुन् ।’ बिहानै हिँडेर आइतबार ५ बजेसम्म भोट दिन आउने मतदान कर्मचारीलाई खबर गरेको उनले जानकारी दिए । कतिपय मतदाता चुनावकै दिनमा मात्र भोट हाल्न पुग्ने गरी सदरमुकाम जोमसोममा बसेर शनिबार आफ्नो गाउँतिर लागेका छन् । 
दुर्गम र निकै विकट मतदान केन्द्रमा सबै मतदाता कर्मचारीको टोली पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म ९० प्रतिशत मतदाताको परिचयपत्र वितरण भइसकेको मिश्रले जानकारी दिए । अहिलेसम्म चिसोकै कारण कुनै पनि मतदान केन्द्र सार्नुपरेको छैन । सबै मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी शनिबार साँझसम्म पुगिसकेका छन् । 
मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अति चिसो
प्रदेश ४ का ६ जिल्लामध्ये मनाङ, मुस्ताङसँगै उत्तरी गोरखाका केही स्थानमा चिसो निकै बढेको छ । निर्वाचन विरोधीको त्रास नभए पनि ती क्षेत्रमा सजिलै मतदान गराउन कर्मचारी र सुरक्षाकर्मीलाई चिसोकै कारण चुनौती छ । गोरखामा हिमालपारिको चुमनुव्री गाउँपालिकामा मतदाता, कर्मचारी र सुरक्षाकर्मीले चिसो छल्दै निर्वाचन तयारी गरेका छन् । सदरमुकामबाट सात दिन पैदल दूरीपछि पुगिने चिनियाँ सीमासँगैको सामागाउँमा समेत चुनावको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुमनुव्रीको सामागाउँ छेकम्पारमा झन्डै एक महिनाअघि नै हिमपात सुरु भइसकेको थियो । १५ दिनयता हिउँँ नपरेका कारण निर्वाचनका लागि सहज भएको स्थानीयले बताएका छन् । चिसो छल्न तल्लो क्षेत्रमा झर्ने स्थानीय पनि चुनावका कारण गाउँमै रोकिएका छन् । सदरमुकामबाट सबैभन्दा टाढाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर अधिकारीलाई उद्धृत गर्दै जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘साँझबिहान चिसोले केही अप्ठ्यारो हुने भए पनि दिउँसो हुने मतदान सहज हुनेछ ।’ साम्दो मतदान केन्द्रमा जिल्लाकै सबैभन्दा थोरै ७७ जना मतदाता छन् ।
दुर्गम र हिमपात हुने चुमनुव्री गाउँपालिकाको २० र धार्चे गाउँपालिकाका ७ मतदान केन्द्रमा हेलिकप्टरले मतदान अधिकृतसहित निर्वाचन सामग्री पुर्‍याएको थियो । ‘हिँडेर गएका कर्मचारी र सुरक्षाकर्मी पनि तोकिएको मतदान केन्द्रमा पुगेर जिम्मेवारी सम्हालिसकेका छन्,’ सापकोटाले भने । दुर्गम भेगमा सञ्चार सुविधा नभएका कारण सूचना आदानप्रदान गर्न समस्या भएको उनको भनाइ छ । बुथ निर्माण गरेर मतदानको अन्तिम तयारीमा रहेको छेकम्पारका टासी लामाले बताए । 
‘ठन्डीले बिहान–बेलुका बाहिर निस्कन गाह्रो पर्छ,’ उनले भने, ‘गाउँका नेताहरूले मतदानमा आउनु भनेर घरघरै निम्तो गरिसकेका छन ।’ चुनाव सकेर चिसो छल्न स्थानीय तल्लो क्षेत्रमा झर्ने तयारीमा रहेको उनले बताए । ‘पहिले–पहिलेका वर्षमा चिसो छल्न जाने बेला भइसक्यो,’ उनले भने, ‘चुनाव भएका कारण यसपालि गाउँमै बसेका छौं ।’ 
हिमपात हुने र भौगोलिक विकटता कारण त्यस क्षेत्रमा चुनाव प्रचारप्रसार र घरदैलो गर्न असहज भएको उम्मेदवारहरूको भनाइ छ । उम्मेदवार पुग्न नसकेको ठाउँमा स्थानीय नेताहरूले नै चुनावको प्रचारप्रसारको काम गरेका हुन् । मतदानका लागि आवश्यक पर्ने जनशक्ति, निर्वाचन सामग्री र व्यवस्थापनको काम सकिएका कारण चुनावको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिउँँदमा बस्तीसम्मै हिमपात भएर असहज हुने चुमनुव्री गाउँपालिकाका ७ वटा वडामा ४ हजार २ सय ६२ मतदाता छन् । 

मतदान केन्द्र ४ हजार ५० मिटर उचाइमा
चीनको तिब्बती सीमा पिलर नम्बर ३४ भन्दा ३६ घण्टा पैदल बाटो नेपालतर्फ पर्ने हिमाली जिल्ला मनाङको फू गाउँमा दुईवटा मतदान केन्द्र छन् । बिहान र बेलुका तापक्रम माइनस पाँच डिग्री पुग्छ ।
सदरमुकाम चामेबाट दुई दिनमा पुगिन्छ । उक्त ठाउँ जान न मोटरबाटो छ, न हिँड्ने बाटो नै राम्रो छ । अहिलेसम्म उक्त ठाउँमा मोबाइल फोन पुगेको छैन । प्रहरीको सेटले पनि काम गर्दैन । बिजुली पनि छैन । ४ हजार ५० मिटर उचाइको उक्त ठाउँमा १ सय २७ मतदाता छन् । फू आधारभूत विद्यालयमा ६३ र होमनाङ धर्मशाला केन्द्रमा ६४ मतदान केन्द्र छन् । 
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार उक्त ठाउँमा सेनाको स्याटलाइट फोनबाट मात्रै सम्पर्क हुन्छ । उक्त फोनमा १ मिनेट बोल्दा ३ सय रुपैयाँ खर्च हुन्छ । ‘हामीले ३/३ घण्टामा अपडेट मागेका छौं,’ उनले भने, ‘मतदानको दिन १/१ घण्टाको बीचमा अपडेट हुन्छ ।’
चामेबाट मेता पुगेपछि नार र फू छुटिन्छ । चामेबाट मेता पुग्न ८ घण्टा लाग्छ । मेताबाट फू पुग्न करिब ६ घण्टा र नार पुग्न करिब ५ घण्टा लाग्छ । नार ४ हजार ३ सय मिटर उचाइमा छ । नारस्थित ढाँजा टोलको माने छेउको खाली स्थान केन्द्रका मतदान अधिकृत बाबुराम आचार्यका अनुसार पानी जमेको छ । बाहिर निस्कन पनि मुस्किल छ । 
बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म घाम लाग्छ । तर चिसोले घामको तापलाई चिसो बनाइदिन्छ,’ उनले भने । उक्त केन्द्रमा ८१ मतदाता छन् । नार आधारभूत विद्यालयका मतदान अधिकृत सुवास अधिकारीका अनुसार हात गंग्रिएर केही लेख्नै भएको छैन । पानी पुरै बरफ भएको छ । माथि हिमालमा हिउँँ छ । ‘साँझबिहान माइनस ५ डिग्री तापक्रम छ । राति त अझै घट्छ,’ उनले भने । 
उनका अनुसार जिल्ला बाहिरबाट मतदाता आएका छन् । ‘यहाँका आधाभन्दा बढी मतदाता जिल्ला बाहिर बस्दा रहेछन् । आउने जति सबै आइसकेका छन्,’ उनले भने । उक्त ठाउँमा नेपाल टेलिकमको 
नमस्ते मोबाइल सेवा छ । तर, एक पटकमा ५ वटा व्यक्तिबाहेक अन्यले फोन प्रयोग गर्न नसक्ने क्षमताको रहेको उनले बताए । उक्त मतदान केन्द्रमा ८६ मतदाता छन् । साम्दु छिरिङ गुम्बा केन्द्रमा भने १ सय ४ मतदाता छन् । 
निर्वाचन अधिकारी रामप्रसाद पौडेलका अनुसार नार फू गाउँपालिकामा कुल ३ सय ९८ जना मतदाता छन् । एउटा गाउँबाट अर्को गाउँ जान एक दिन लाग्छ । सबै केन्द्रमा स्वयंसेवकबाहेक ७/७ जना कर्मचारी खटाइएको छ । ३/३ जना स्वयंसेवक खटाइएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी डेढ सय बढी सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
उच्च हिमाली क्षेत्र भएकाले सुरक्षाकर्मी बिरामी पर्न थालेका छन् । प्रजिअ पन्तका अनुसार सशस्त्र प्रहरी बलका इन्सपेक्टर कैलाश कटुवाल ‘हाई अल्टिच्युट’ का कारण बिरामी भएपछि शनिबार हेलिकप्टरमार्फत उपचारका लागि पोखरा लगिएको छ । ‘नारमा खटिएका इन्पसेक्टर बिरामी भएपछि मेताको प्रहरी चौकीमा ल्याइयो, तल्लो क्षेत्रमा ल्याउँदा पनि सन्चो नभएपछि हेलिकप्टरले उद्धार गर्नुपर्‍यो,’ उनले भने ।

प्रकाशित : मंसिर १०, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?