कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१ पदमा १५५ उम्मेदवार भिड्दै

पहिलो चरणको चुनाव
१४ मध्ये ७ जिल्लामा मतदान हुँदै
१४२ मतदानस्थल ‘अति संवेदनशील’
करिब ४० हजार सुरक्षाकर्मी परिचालन
देवनारायण साह

मोरङ — प्रदेश १ का ७ जिल्लामा आइतबार पहिलो चरणमा हुने चुनावको तयारी पूरा भएको छ । ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि मतदान हुँदै छ ।

२१ पदमा १५५ उम्मेदवार भिड्दै

शुक्रबार पूर्वका मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिएको छ । शनिबार पनि यो क्रम जारी थियो । ७ जिल्लाको ६ सय ९६ मतदान स्थलस्थित १ हजार २५ केन्द्रमा ८ हजार ९६ कर्मचारी खटिएका छन् । सातै जिल्लाका ७ लाख १९ हजार ३ सय १ मतदाताले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यका लागि ७ र प्रदेशसभा सदस्यका लागि १४ जना छनोटका लागि आइतबार (आज) मतदान गर्नेछन् । सातै जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६२ र प्रदेशसभा सदस्यका लागि ९३ गरी १ सय ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

१ नम्बर प्रदेशमा प्रतिनिधि र प्रदेशसभा चुनाव सुरक्षाका लागि सशस्त्र, नेपाल र म्यादी प्रहरी गरी ३९ हजार ८ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका दृष्टिकोणले १ सय ४२ अति संवेदनशील, २ सय ७२ संवेदनशील एवं २ सय ८२ मतदानस्थललाई सामान्य मानिएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का १४ जिल्लामध्ये पहिलो चरणमा हिमाली र उच्च पहाडी गरी ७ जिल्लामा आइतबार हुने चुनावमा सशस्त्र, नेपाल र म्यादी प्रहरी गरी १३ हजार ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी पूर्वक्षेत्रीय मुख्यालय बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायब महानिरीक्षक जानकीराज भट्टराईले पहिलो चरण चुनावमा करिब ३ हजार सशस्त्र प्रहरी खटिएको जानकारी दिए ।

प्रदेश १ का प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययले सुरक्षाका लागि ५ हजार बढी नेपाल प्रहरी र ५ हजार ३ सय म्यादी प्रहरी परिचलन गरिएको बताए । उनले विगतमा जस्तै यसपटकको चुनावमा पनि जिल्ला सुरक्षा योजनाअनुसार ती जिल्लाको सुरक्षा व्यवस्था मिलाइएको सुनाए । उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लामा भौगोलिक विकटता बढी भएकाले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए । उपाध्ययले भने, ‘ताप्लेजुङ र सोलुखुम्बुका धेरै मतदान केन्द्र र स्थलमा भौगोलिक विकटता छ, त्यस्ता स्थानमा अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षाको प्रबन्ध मिलाएका छौं ।’ 

उनले पहिलो चरणमा चुनाव हुने हिमाली एवं पहाडी जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाउँका मतदान केन्द्रलाई संवदेनशीलमा राखिएको बताए । एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९ सम्म जनपथ र आवश्यकताअनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र सेनाको संयुक्त टोलीसमेत परिचालन गरिनेछ ।

सुरक्षाको दृष्टिकोणले ताप्लेजुङमा अतिसंवेदनशील २२, संवेदनशील २० र सामान्य ३१, पाँचथरमा अतिसंवेदनशील २०, संवेदनशील ६६ र सामान्य १४, संखुवासभामा अतिसंवेदनशील ३४, संवेदनशील ५७ र सामान्य १२ मतदानस्थल छन् । भोजपुरमा अतिसंवेदनशील १७, संवेदनशील २४ र सामान्य ४६, सोलुखुम्बुमा अतिसंवेदनशील २०, संवेदनशील ४४ र सामान्य ५४, ओखलढुंगामा अतिसंवेदनशील १, संवेदनशील ८ र सामान्य ६९ र खोटाङमा अतिसंवेदनशील २८, संवेदनशील ५३ र ५५ को सामान्य अवस्था रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ताप्लेजुङमा ७४ मतदानस्थल र १ सय १४ मतदान केन्द्र छन् । त्यहाँ ७८ हजार ३ सय ९७ मतदाता छन् । जिल्लाभर मतदान अधिकृत, सहायक अधिकृतलगायत गरी ९ सय २ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि ८ र प्रदेशसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

पाँचथरमा सय मतदान स्थल र १ सय ६५ केन्द्र छन् । १३ सय १७ कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । उक्त जिल्लामा १ लाख २५ हजार २ सय १९ मतदाता छन् । प्रतिनिधिसभा सदस्यका लागि ९ र प्रदेशसभा सदस्यका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, संखुवासभाका १ सय ३ मतदानस्थल र १ सय ५३ केन्द्रमा १ हजार २ सय १६ कर्मचारी खटिएका छन् । १ लाख ५ हजार ८५ मतदाता रहेको यो जिल्लामा प्रतिनिधिसभामा ११ र प्रदेशसभामा १६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ८७ मतदानस्थल, १ सय ४८ केन्द्र र १ लाख १३ हजार ७ सय ४५ मतदाता रहेको भोजपुरमा चुनाव सम्पन्न गराउन ११ सय ८४ कर्मचारी खटिएका छन् । जिल्लामा प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १३ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै खोटाङमा १ सय ३६ मतदानस्थल र १ सय ७९ केन्द्र कायम गरिएको छ । यसका लागि १४ सय ३२ कर्मचारी खटिएका छन् । जिल्लामा १ लाख २५ हजार १ सय ८३ मतदाता छन् । प्रतिनिधिसभामा १० र प्रदेशसभामा ९ उम्मेदवार छन् । ७८ मतदानस्थल, १ सय ४१ केन्द्र रहेको ओखलढुंगामा ११ सय २७ कर्मचारी खटिएका छन् । १ लाख २ हजार २ सय ५० मतदाता रहेको यो जिल्लामा प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी सोलुखुम्बुमा १ सय १८ मतदानस्थल र १ सय २५ केन्द्र छन् । ९ सय १८ कर्मचारीले त्यहाँ चुनाव सम्पन्न गराउनेछन् । ६९ हजार ४ सय २२ मतदाता छन् ।

नेकपाका १११ पक्राउ

चुनाव बिथोल्ने गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले शुक्रबारसम्म १ सय ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सबभन्दा बढी मोरङमा १९ र कम खोटाङमा २ जनालाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार चुनाव बिथोल्ने कार्यमा उनीहरू संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको हो । एक नम्बर प्रदेशका भोजपुर, इलाम, सुनसरी, धनकुटाबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?