कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिबन्धित जडिबुटी सहित एकजना पक्राउ

मेनुका ढुंगाना

अछाम — अछाममा प्रतिबन्धित जडिबुटी सहित एक व्यक्ति पक्राउ परेका छन् । ‘विषमजरा’ नामक प्रतिबन्धित जडिबुटी रामारोशनबाट अवैध रुपमा संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा पञ्चदेवल विनायक नगरपालिका–४ का ३७ वर्षिया कम्मान सिंह विष्ट पक्राउ परेका हुन् ।

विष्ट शनिबार रामारोशन गाउँपालिका–५, रामारोशनको जलथल गडा भन्ने ठाउँमा इलाका वन कार्यालय शान्तडाका वन कर्मचारीको गस्तीका क्रममा पक्राउ परेको जनाइएको छ ।

करिव २ सय १२ किलो विषमजरा जडिबुटी ओसारपसार गरिरहेको फेला पारेपछि वन कर्मचारीले प्रहरीको सहयोगमा विष्टलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि जिल्ला वन कार्यालय अछाममा बुझाएको प्रहरीले जनाएको छ ।

इलाका वन कार्यालय शान्तडाका वन कर्मचारीहरुले आवश्यक कागजपत्र भए/नभएकोबारे छानविन गर्दा केहीपनि नभेटिएपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला वन कार्यालय अछामका सूचना अधिकारी विकाश शर्माले बताए ।

कार्यालयले रेञ्जर विमल चन्दलाई अनुसन्धान अधिकृत तोकेर उक्त घट्नाको अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । उक्त जडिबुटी वन ऐन बमोजिम प्रतिकेजी १० रुपैयाँ राजश्व निर्धारण भएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

प्रकाशित : मंसिर ११, २०७४ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?