कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

५७ करोड बिगो मागदाबी, ५० लाख धरौटी

काठमाडौं — विशेष अदालतले यातायात कार्यालय कोसीको अनियमितता प्रकरणमा लेखा अधिकृत टीकाराम अधिकारीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरू चण्डीराज ढकाल र नारायणप्रसाद ढकालको इजलासले अधिकारीसँग ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो । 

यातायात कार्यालयले संकलन गरेको राजस्व बैंकमा नबुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ४ मा अधिकारीसहित यातायात कार्यालयका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले यातायात व्यवस्था कार्यालय, इटहरीका तीन जना प्रमुखलगायत विरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको थियो । त्यतिबेला अख्तियारले लेखा अधिकृत अधिकारीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी लिएको थियो । विशेष अदालतले बिगो मागदाबीको तुलनामा एक प्रतिशतभन्दा कम धरौटी माग गरेको हो ।
२०७१ साउनदेखि ०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन भएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको उनीहरूमाथि आरोप थियो । अख्तियारका अनुसार एउटैको नाममा पटकपटक इन्ट्री गरेर रसिद निकाल्ने, तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको भेटिएको थियो ।
आर्थिक वर्ष २०७१/७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकामा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । आर्थिक वर्ष २०७२/७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकामा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको हो । आर्थिक वर्ष २०७३/७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको पुष्टि भएको अख्तियारको दाबी थियो । अख्तियारले यातायात कार्यालय इटहरीका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, अर्का उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख, उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । 

प्रकाशित : मंसिर १३, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?