१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘मेडिकल हब’ बनाउने साझा एजेन्डा

देवनारायण साह

मोरङ — प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा यहाँका उम्मेदवारहरू विराटनगरलाई ‘मेडिकल हब’ बनाउने मुख्य नारासहित घरदैलो गरिरहेका छन् । उम्मेदवारहरूले सरकारी स्तरबाटै स्वास्थ्य उपचारमा हालसम्म उपलब्ध सेवा सुविधा विराटनगरमै उपलब्ध गराउने प्रतिबद्धता गर्दै मतदाता फकाउन मदतातासमक्ष पुगेका छन् ।


वर्षौंदेखि अव्यवस्थित तथा जनशक्ति र प्रविधि अभावमा थलिँदै गएको कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने यहाँका सबै दल र उम्मेदवारको प्रतिबद्धता छ । पूर्वाञ्चल विश्वविद्यालयको सुन्दरहरैंचा नगरपालिकास्थित ८ सय ५० बिघा जमिन उपयोग गरी मेडिकल कलेज सञ्चालन गर्ने पनि सबैले चुनावी नारा बनाएका छन् । प्रदेश २ को धनुषा, सिरहा, सप्तरी र प्रदेश १ का बिरामीलाई रेफरल सेन्टरका रूपमा विराटनगरको स्वास्थ्य संस्थाहरू छन् । यहाँ नोबेल र विराट मेडिकल कलेज, रानीस्थित आँखा अस्पतालमा एमडी अध्ययन गर्ने सुविधा छ ।
विराटनगरमा निजीस्तरबाट सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्योउपचारका साथै मेडिकल अध्ययनका लागि विदेशीसमेत आउन थालेका छन् । यस्तै, यहाँका न्यूरो, गोल्डेन, म्याक्स इन्टरनेसनल एन्ड ट्रमा सेन्टरलगायत दर्जन बढी सुविधा सम्पन्न निजी अस्पतालहरू सञ्चालनमा भए पनि सरकारी स्तरबाट अहिलेसम्म केही हुन सकेको छैन । भएको अञ्चल अस्पताल पनि थलिएको अवस्थामा छ । विराटनगरसँग जोडिएको क्षेत्र ४, ५ र ६ का कांग्रेस, वाम गठबन्धन र मधेसवादी दलका उम्मेदवारहरूले अहिले जोडतोड साथ मेडिकल हबको नारा दिइरहेका छन् ।
क्षेत्र ६ का कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने र पूर्वाञ्चल विश्वविद्यालयको मेडिल कलेज तत्काल सञ्चालन गर्ने चुनावी एजेन्डा बनाएका छन् । उनीका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले उक्त नाराका साथै विपन्न, गरिबलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने मतदातासँग प्रतिबद्धता जनाएका छन् ।
यस्तै, क्षेत्र ४ का कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार महेश आचार्यले विराटनगरलाई मेडिकल हब बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइरहेका छन् । मेडिकल हबको फाइदा अब चाँडै यहाँका जनताले पाउने उनले विश्वास दिलाइरहेका छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका वामगठबन्धनका अमनलाल मोदीले सरकारी स्तरबाट विराटनगरलाई मेडिकल हब बनाएर तल्लो तहका सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी हरेक सुविधा उपलब्ध गराउने चुनावी नारा बनाएका छन् ।
यस्तै, क्षेत्र ५ का कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार अमृत अर्याल, वामगठबन्धनका शिवकुमार मण्डल र संघीय समाजवादीका राजकुमार यादवको पनि चुनावी नारा पनि मेडिकल हब बनेको छ । क्षेत्र ३ का कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा तथा उनका प्रतिस्पर्धी वामगठबन्धनका भानुभक्त ढकालले पनि यही नारालाई अघि सारेका छन् ।
मतदाताको चित्त दुखाइ
मोरङ बाहुनीका मतदाताले प्रत्येक चुनावमा नयाँ उम्मेदवारलाई भोट हालेर जिताउँदै आएका छन् । जितेपछि नेताहरूले अर्कै क्षेत्र रोजेपछि त्यहाँका मतदातालाई हेरिदिने कोही भएनन् । त्यही भएर गाउँलेले प्रतिनिधि र प्रदेशसभा चुनावका उम्मेदवारसँग आफूहरूलाई छाडेर अर्को क्षेत्र जान नपाउने प्रतिबद्धता गराइरहेका छन् । आफूहरूको सुखदु:खमा साथ रहने उम्मेदवारलाई नै रोजेर यसपालि मत दिने यहाँका बासिन्दा बताउँछन् । बेलबारी ६, बाहुनीका ६४ वर्षीय नारायण गिरीले आफूहरूले जसलाई जिताए पनि फर्केर नआएको गुनासो गरे ।
‘जिताएका उम्मेदवार अर्कै क्षेत्र रोज्दै आएका छन्,’ उनले भने, ‘०४८ मा एमालेका हर्कमान तामाङ, ०५१ मा एमालेकै कमल कोइराला, ०५६ मा कांग्रेसका महेश आचार्य, ०६४ मा माओवादीका सावित्रीकुमार काफ्ले, ०७० मा कांग्रेसका दिलीप गच्छदारलाई जितायौं तर फर्केर आएनन् ।’ उनले आफूहरू २०४८ देखि ०५६ को चुनावसम्म क्षेत्र ५ मा र २०६४ र ०७० मा क्षेत्र ३ र अहिले क्षेत्र ४ मा रहेको बताए ।
आफूहरूले जिताएका नेता स्थायी नभएकाले विकास निर्माणको काम अगाडि बढन नसकेको उनको बुझाइ छ । ‘बाटोघाटो, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिलगायत सबै क्षेत्रको अवस्था उस्तै छ,’ उनले भने, ‘आफूहरूले विकासको प्रत्याभूति गराउने नेतै पाएनौं । अहिलेसम्म मत दिएका सबै नेता भगौडा भइदिए ।’
स्थानीय इन्दिरा गच्छदारले महिलाहरूको समस्या समाधान गर्ने नेता नभएको सुनाइन् । ‘महिलाहरूको समग्र आर्थिक, सामाजिक, राजनीतिक रुपमा सशक्त बनाउने उम्मेदवार आफूहरूको रोजाइ हो,’ उनले भनिन्, ‘जितेर गएपछि फर्केर अर्को चुनावमा पनि नआउने उम्मेदवारभन्दा आफूहरूको सुखदु:खमा साथ रहने प्रतिबद्ध उम्मेदवारलाई यसपालि भोट हाल्छौं ।’
उनले यसपाली कांग्रेसबाट महेश आचार्य आफ्नो क्षेत्रमा दोहोरिएर उम्मेदवार बनेको उनले सुनाइन् । उनका अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका अमनलाल मोदी भने नयाँ अनुहार हुन् । बाहुनी र सँगै जोडिएका कसेनीका बासिन्दाले सडकसँगै लोहन्द्रा खोलाको बाढीले भत्काएको नहर र पुल बनाइदिन माग उम्मेदवारसँग गरेका छन् । कांग्रेसका आचार्यले चालु आवमै नहर र पुल निर्माण गर्ने, वैज्ञानिक तरिकाले व्यावसायिक कृषि प्रणालीको योजना लागू गरी गाउँमै रोजगारीको सिर्जना गरी विदेश पलायन हुनबाट युवा शक्ति रोक्ने प्रतिबद्धता जनाएका छन् ।
‘सबै जातजाति, धर्म, समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्छौं,’ उनले भने, ‘यहाँका सामुदायिक विद्यालयमा गुणस्तरीय व्यवासायिक शिक्षा र स्वास्थ्यको प्रबन्ध गर्छौं ।’ उनले स्थानीय विकासका र राष्ट्रिय मुद्दा मतदातालाई सुनाएर रिझाइरहेका छन् । अब यो क्षेत्र छाडेर अन्यत्र नजाने आश्वासन पनि मतदातासमक्ष बाँडिरहेका छन् ।
वाम गठबन्धनका मोदीले सम्पूर्ण शोषित, उत्पीडित जनताको मुक्ति, विकास र समृद्धि आफ्नो मुख्य एजेन्डा भएको मतदातामाझ सुनाउने गरेका छन् । मोदीले पटक–पटक मन्त्री भएका हेभिवेटविरुद्ध युवा पुस्ताको आफ्नो उम्मेदवारी भएको बताए । ‘पुरानाले काम गरेको धेरै हेरें अब नयाँ पुस्ताको युवा उम्मेदवारलाई काम गर्ने अबसर जनताले दिनेमा आफू विश्वस्त छु,’ उनले भने, ‘जमिनदारको कामतबाट राजनीतिलाई निम्न वर्गीय जनताको छोराको हातमा पुर्‍याउन आफ्नो उम्मेदवारी हो ।’ आफ्नो जित युवाको जित हुने उनको भनाइ छ ।
‘रंगेली, विराट चोक, इटहरीलाई जोडेर सुशासन भएको वृहत विराटनरको ५ वर्षभित्र निर्माण गर्छु,’ आचार्य भन्छन्, ‘बृहत विराटनगरअनुसारको सडक सञ्जाल, खानेपानी, अन्र्राष्ट्रिय खेलकुदको संरचना, मेडिकल सिटी, सामुदायिक विद्यालयमा निजीभन्दा उच्च गुणस्तरीय शिक्षा, व्यवस्थित र सुरक्षित बसोबासका लागि फुसको छानोलाई जस्ताको छानो हाल्ने मेरो एजेन्डा हो ।’ मोदीले १ नम्बर प्रदेशको राजधानी विराटनगर, चक्रपथ निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, रोजगारी सिर्जना, व्यवस्थित यातायातका साथै रेल सेवा सञ्चालन, सुकुम्बासी समस्या समाधानलगायत एजेन्डा उठाएका छन् ।

 

प्रकाशित : मंसिर १७, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?