कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आर्थिक एजेन्डा नआएको गुनासो

दमक — प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरूले झापाको समग्र आर्थिक समृद्धिको ठोस एजेन्डा ल्याउन नसकेको उद्योगी व्यवसायीको गुनासो छ । छिमेकी जिल्ला मोरङ र सुनसरीको लामो औद्योगिक इतिहास बनिसक्दा पनि झापाले औद्योगिक लगानी भित्र्याउन सकेको छैन ।

विद्युत्, सडक, सञ्चारजस्ता आधारभूत विकास निर्माणले यो जिल्लामा तीव्रता पाए पनि औद्योगिक लगानीमैत्री बन्न अहिलेसम्म सकेको छैन । स्थानीय तहको निर्वाचनलगत्तै आएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि यो जिल्लाले पनि औद्योगिक लगानी भित्र्याउला भनेर बसेका मतदाताहरू यति बेला निराश बनेका छन् ।

दुवै सभाका उम्मेदवार तथा दलहरूले झापा जिल्लाको औद्योगिक विकासका लागि ठोस नारासमेत दिन नसकेको उद्योगी व्यवसायीहरूको गुनासो छ । ‘उम्मेदवारहरूले भनेको आर्थिक समृद्धि कस्तो हुने हो, कसैलाई थाहा छैन,’ बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले भने, ‘पहिला पनि आर्थिक उन्नतिको कुरा गरेकै हुन् । खोई, अहिलेसम्म केही भएजस्तो लाग्दैन । यसपटक पनि होला भन्ने आशा छैन ।’ झापाको समग्र आर्थिक समृद्धि अहिलेको आवश्यकता भए पनि दलहरूले यसलाई नारामा मात्रै सीमित पारेको उनको गुनासो छ । ‘दलहरूका लागि पनि अब आर्थिक समृद्धिको विकल्प छैन । तर, उनीहरूका घोषणापत्रमा यसबारे ठोस एजेन्डा नदेख्दा अचम्म लाग्छ,’ उनले भने, ‘आर्थिक विकासबिना राजनीति स्थायित्व आउन सक्दैन ।’

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले सबै दलका घोषणापत्र अध्ययन गरिसकेका छन् । ‘विगतको भन्दा यसपटक दलहरूले आफ्नो घोषणापत्रमा कृषि, पर्यटन, बजार, लगानीजस्ता कुरालाई लेख्न त भ्याएका छन् तर कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वास हामीलाई छैन,’ उनले भने, ‘भोट फकाउन मात्र यस्ता कुरा आएका हुन् कि भन्ने आशंका अहिले पनि जीवित छ ।’ दलहरूले ठोस रूपमा भूगोल सुहाउँदो एजेन्डा ल्याउन नसकेको उनले बताए । 

गौरादहका युवा मतदाता जीवन राईले सरकारले उत्पादनमा मात्रै नभई बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । ‘दलहरूले ठूला कुरा गरेर मात्रै समृद्धि हुँदैन । अहिले हाम्रो ठाउँमा उत्पादन हुने सागसब्जीले बजार पाएको छैन,’ उनले भने, ‘उद्योग खोल्ने भाषण गर्नेले उत्पादित वस्तुको बजार पनि खोज्न सक्नुपर्छ ।’ उनले सरकार, राजनीतिक दल एवं नेताहरूले मुलुकमा बजारीकरणतर्फ ध्यान नदिएको बताए ।

भट्टराईले स्थानीय तहको चुनावको सफलतासँगै सम्पन्न हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावले निजी क्षेत्रलाई उत्साही बनाएको बताए । ‘मुलुक अब स्थिरतातर्फ अग्रसर भएकोप्रति निजी क्षेत्र उत्साही छ । दलहरूले लिएको आर्थिक समृद्धिको नाराले हामीलाई थप हौसाएको छ,’ उनले भने, ‘अझै पनि दलहरूलाई पूर्ण विश्वास गरेर लगानी गरिहाल्ने वातावरण बनिसकेको छैन ।’ उनले दलहरूले स्पष्ट आर्थिक एजेन्डा अघि नसार्नु अन्योलपूर्ण भएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले प्रदेश र प्रतिनिधिसभातर्फको जिम्मेवारी र भूमिका अस्पष्टताका कारण निजी क्षेत्र ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । ‘अहिले चुनाव गर्न मात्रै खोजिएको छ । भोलि केन्द्र र प्रदेश सरकार कति शक्तिशाली हुने केही थाहा छैन । यसको प्रारूपबारे कसैलाई केही थाहा छैन । यसैले हामी अन्योलमा छौं,’ उनले भने । उनले झापालाई एउटा ‘ट्रान्जिट’ प्वाइन्टका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘यहाँ प्रादेशिक राजधानीको कुनै एजेन्डा छैन । तर, यो जिल्ला भारत, बंगलादेश, भुटानसम्मको नजिकको दूरीमा छ । 

मेची राजमार्गलाई चाँडै बनाउन सकियो भने ओलाङचुङगोला हुँदै चीनदेखि भारतसम्मकै ‘ट्रान्जिट’ प्वाइन्ट हुन सक्छ,’ उनले भने, ‘अहिले पनि अलैंची, अदुवा, सुपारी, अम्लिसो, चियाको सेन्टर प्वाइन्टकै रूपमा छ । ताप्लेजुङको पाथीभरा मन्दिर, विश्वकै तेस्रो ठूलो हिमाल कञ्चनजंघासम्म जाने पर्यटकका लागि पनि झापाले नै महत्त्वपूर्ण भूमिका राख्ने गरेको छ ।’ जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष प्रशान्त भण्डारीले झापा विराटनगरपछि पूर्वको व्यापारिक केन्द्र बन्दै गएको दाबी गरे । उनले जिल्लाको बिर्तामोड, दमक र काँकडभिट्टाजस्ता बजारहरूलाई विकास गरेर अघि बढ्न सक्ने स्पष्ट एजेन्डा हुनुपर्नेमा जोड दिए । उनले यी बजारहरूको विकासबिना जिल्लामा आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए ।

प्रकाशित : मंसिर १८, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?