२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बिदामा पनि पढाइ

खेल्न र कथा सुन्दै पढ्न पाउँदा बालबालिका खुसी

नेपालगन्ज — सरकारले सञ्चालन गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालशिक्षादेखि ३ कक्षासम्मकालाई गाउँमै पढ्ने व्यवस्था मिलाएको छ । लामो बिदामा बालबालिका बढी खेल्ने र पढेका कुरा बिर्सिन सक्ने भन्दै टोल पढाइ समितिले पढ्ने व्यवस्था मिलाएको हो ।

विद्यालय बिदाका दिन दैनिक डेढ घण्टा खेलाएर, कथा सुनाएर पढाइन्छ । खेल्न र कथा सुन्दै पढ्न पाउँदा बालबालिका असाध्य रमाउँछन् । यसले बालबालिकालाई पढाइसँग जोड्न सहयोग गरेको छ । अभिभावकहरू आफ्ना बालबालिकालाई टोल पढाइ सेन्टरमा पुर्‍याउँछन्, तालिम प्राप्त शिक्षकले अक्षर लेखाउनेदेखि कथासम्म सुनाउँछन् ।
बाँकेमा ३ सय ६० सरकारी विद्यालय तथा मदरसा छन् । उक्त क्षेत्रका बालबालिका लक्षित गरी ६ सय ७८ टोल पढाइ समूह गठन गरिएको छ । समूहमा स्थानीय अभिभावक छन् । उनीहरूले आफ्ना बालबालिकालाई बिदाका बेला पढ्ने व्यवस्था मिलाएका हुन् । ‘विद्यालय छुट्टी भएका बेला केटाकेटी दिनभर खेल्थे । अहिले प्रारम्भिक पढाइ सेन्टरमा पठाउँछौं । यसरी पढ्न पठाउँदा उनीहरू पढेको बिर्सिदैनन्,’ आदर्श उमावि राँझाअन्तर्गत लालीगुराँस टोल पढाइ समितिकी अनिता चमार भन्छिन्, ‘बिदाका बेला पढाइ हुँदा छोरीमा राम्रो भएको छ ।’ उनकी छोरी रुपरानी राँझास्थित विद्यालयमा बालशिक्षामा पढदै गरेकी छन् ।
यसअघि विद्यालय बिदा भएपछि स्थानीय बालबालिका दिनभरि खेल्दै आएका थिए । बिदासम्म किताब नहेर्दा उनीहरू सिकेका सबै बिर्सिन्थे । त्यसलाई मध्यनजर गरी सरकारी विद्यालयलाई लक्षित गरी सरकारले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको हो । अभिभावकहरू आफंै अग्रसर हुने हो भने बालबालिकाको पढाइमा निकै सुधार आउने विश्वास सरकारको छ । बाँकेका जिशिअ भीमबहादुर साउदले बालबालिकाको पढाइ सीप विकास गर्न उक्त कार्यक्रम चलाएको बताए । ‘यो वर्षदेखि प्रारम्भिक कक्षा पढाइ सुरु गरिएको हो । यसले बिदाका बेला पनि बालबालिकाको पढाइमा सहयोग गरेको छ,’ उनले भने, ‘यो कार्यक्रमको प्रभावबारे मूल्यांकन हुन बाँकी छ । तर यसले राम्रै परिणाम दिने विश्वास हामीलाई छ ।’
प्रारम्भिक कक्षा पढाइका लागि शिक्षकलाई विशेष तालिम दिइएको छ । बालबालिकाबारे हुन नदिने गरी नाच्दै, खेल्दै र कथा सुनाएर अक्षर लेखाउन र पढाउन सक्ने गरी सीप दिइएको हुन्छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम हेर्दै आएकी माया चौधरीले टोल पढाइ समूहमा पढाउन शिक्षकलाई छुट्टै तालिम दिने गरेको जानकारी दिइन् । ‘बिदाका बेला बालबालिका पढ्न मान्दैनन् । यस्तो बेला कसरी आकर्षण गर्न सकिन्छ भनेर तालिम दिइएको हुन्छ,’ उनले भनिन्, ‘सेन्टरमा आएर डेढ घण्टासम्म बस्दा बालबालिका पढेका सबै सम्झिन्छन् । 

 

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?