नेपालगन्जमा खुल्यो युथ सेन्टर

नेपालगन्ज — एक वर्षअघि स्वत:स्फूर्त रूपमा स्वयंसेवा गरिरहेका युवा क्रियटिभ पिस भोलिन्र्टस क्लबमार्फत संगठित भएका थिए । बितेको वर्ष उनीहरूले नेपालगन्ज साहित्य उत्सव, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, प्रधानमन्त्री महिला भलिबल, नेपालगन्ज म्याराथनलगायत राष्ट्रिय महत्त्वका विभिन्न कार्यक्रममा सघाए । तिनै युवाकै पहलमा मंगलबार नेपालगन्जमा युथ भोलेन्टियर सेन्टर खुलेको छ ।

नेपालगन्जमा खुल्यो युथ सेन्टर

विश्व स्वयंसेवा दिवस पारेर मिनी लाइब्रेरीसहितको युथ सेन्टर सञ्चालनमा ल्याइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको न्युरोडस्थित सेतुबिक चोकमा स्थापना गरिएको सेन्टरको नगर प्रमुख धवलशम्सेर राणाले उद्घाटन गरे । युवाको स्वयंसेवी भावनालाई सिर्जनात्मक बनाउन र अभियानलाई सशक्त पार्न सेन्टरले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
क्लबलाई क्रियटिभ ह्यान्डस् ग्रुप र बहुमुखी सेवा केन्द्रले सघाएको छ । त्यस्तै, प्रारम्भमा संयुक्त राष्ट्रसंघीय विकास नियोग (यूएनडीपी) ले प्राविधिक सहयोग गरेको छ । क्लबमा नेपालगन्जका विभिन्न कलेजमा सोसियल वर्क, व्यवस्थापन र मानविकी संकायमा अध्ययनरत युवा संलग्न छन् । क्लबले मुख्यत: स्वयंसेवालाई प्राथमिकता दिँदै आएको उपाध्यक्ष रोशनी गहतराजले बताइन् ।
‘यो युवाको साझा थलो हो । जहाँ फुर्सदको सदुपयोग गर्न र सकारात्मक जमघटमा प्रयोग गर्न सक्छन्,’ क्लबकी सचिव नुतन पौडेलले भनिन्, ‘सार्वजनिक र युवा सरोकारका विभिन्न विषयमा नियमित अन्तक्र्रिया गरिनेछ । यसले युवालाई सिर्जनशील बनाउन सहयोग गर्नेछ ।’ उनले नयाँ शैली र प्रविधिबाट जीवनपयोगी सीप सिक्न सजिलो हुने उनले बताइन् ।
युवाहरूको सशक्तीकरण, सद्भावमैत्री विकास र युवामा स्वयंसेवी भावना जागृत गर्न आवश्यक देखिएकाले युथ भोलिन्टियर्स सेन्टर स्थापना गरिएको उनको भनाइ छ । सेन्टरमा राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय पत्रपत्रिका र युवा चासोका अन्य पुस्तक उपलब्ध हुनेछन् ।
क्लबकी उपाध्यक्ष गहतराजले युवाहरू पुस्तकालय जाने र पुस्तक पढ्ने संस्कृतिको विकाससमेत हुने आशा गरिन् । उनका अनुसार नेतृत्व विकास, सकारात्मक भावना अभिवृद्धि, इभेन्ट म्यानेजमेन्ट, स्वयंसेवा तथा प्राथमिक उपचारबारे प्रशिक्षण कक्षाहरू सञ्चालन गरिनेछ ।
सेन्टरमा युवा सशक्तीकरणलाई सघाउन युवा उपयोगी विभिन्न डकुमेन्ट्री तथा फिल्म प्रदर्शन र त्यसको सिकाइबारे अन्तक्र्रियासमेत गरिने बताइएको छ । ‘युवाहरू जमघट हुने र स्वयंसेवी एवं सकारात्मक भावनाको विकास हुने अपेक्षासहित युथ सेन्टरको परिकल्पना गरिएको हो,’ क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले भने ।

प्रकाशित : मंसिर २०, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?