महोत्तरीमा वाम गठबन्धन र फोरम कार्यकर्ताबीच झडप, ३ जना घाइते

रवीन्द्र उप्रेती

महोत्तरी — वाम गठबन्धन र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच गौशालामा झडप हुँदा ३ जना घाइते भएका छन् । प्रहरीकाअनुसार एकको अवस्था गम्भीर छ । झडपमा वाम गठबन्धनका प्रमोद महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेको उनको एउटा हात र कम्मर पनि चल्न नसक्ने भएपछि राति नै अञ्चल असपताल पुर्‍याइएको थियो ।

स्थितिमा सुधार नआएपछि काठमाडौं लाने तरखर भइरहेको पारिवारिक श्रोतले जनाएको छ । वाम गठबन्धनकै सामान्य घाइते मनोज सिंह र विपिन सिंहलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशाला उपचारपछि घर फर्काइएको छ ।

प्रत्यक्षदर्शिकाअनुसार मंगलबार मध्यराततिर सार्वजनिक सडकमै करिब आधा घण्टा झडप भएको थियो । वाम गठवन्धनकाअनुसार ४ वटा जिपमा घरेलु हतियारसहित २०/२२ जनाको संख्यामा आएका फोरम कार्यकर्ताले आफूहरुलाई घेरा हाली कुटपीट गर्न थालेपछि तनाव भएको हो । आक्रमणकारीको नेतृत्व निर्वाचन क्षेत्र नं १ बाट फोरमका प्रतिनिधिसभा उम्मेदवार लक्ष्मी महतो आफैंले गरेको उनीहरुको आरोप छ ।

लक्ष्मी महतोले भने वाम गठवन्धनका सर्मथकले छुरा प्रहार गर्न खोज्दा आफ्ना कार्यकर्ता रक्षात्मक बनेको बताए । आफ्नै सामने कार्यकर्तामाथि आक्रमण र अपमान हुन थालेपछि बाध्य भएर प्रतिकारमा उत्रनु परेको उनले जनाए । 

गौशाला प्रहरीले घटनामा कसैलाई पनि पक्राउ नगरेको जनाएको छ । प्रहरी निरीक्षक भोला भट्टले अहिले गौशालाको स्थिति सामान्य रहेको जनाए । 

प्रकाशित : मंसिर २०, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?