कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घर फर्कनेको लर्को

मोरङ जहदा — ५ का शम्भु पोद्दार भोट खसाउन काठमाडौंबाट घर आइपुगेका छन्। राम्रो र दूरदर्शी नेताको अभावमा आफ्नो ठाउँको विकास हुन नसकेको उनको बुझाइ छ। ‘जहदा गाविसबाट गाउँपालिका भएको छ तर वर्षौं पहिलेको र अहिलेको अवस्थामा कुनै परिवर्तन छैन,’ उनले भने, ‘खाल्डाखुल्डीयुक्त धुलाम्मे सडक बाटो, परम्परागत शिक्षण विधिमा पढाइ भइरहेको विद्यालय, स्वास्थ्य संस्था, परम्परागत आकासे खेती, रोजगारी अभावलगायत समस्याबाट निकास दिने उम्मेदवार रोजाइ हो।’

पोखराबाट मतदान गर्न कटहरी ४ आइपुगेका कार्तिक राजवंशीले ‘हाम्रो होइन, राम्रो उम्मेदवार’ लाई जिताउने बताए। ‘मुलुकको पहिलो औद्योगिक नगरी विराटनगरको छिमेकी कटहरी गाउँपालिकाको अवस्था विकराल छ, युवाहरू यहाँ रोजगारी नपाएर अन्यत्र काम गर्न बाध्य छन्,’ उनले भने, ‘कटहरीमा धेरै उद्योग भएर पनि स्थानीय युवाले रोजगारी नपाइरहेको अवस्था सुधार्ने उम्मेदवार छान्छौं।’

भारतबाट आए मतदाता
भारत, सिलिगुडीमा कार्यरत धरानका हर्क गजमेर बुधबार दिउँसो पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए । भुटान नजिकैको भारतीय क्षेत्र वीरपाढामा सिकर्मी काम गर्ने विर्तामोड २ का राजबहादुर राई पनि मतदानका लागि फिरेका छन्। ‘भोट हाल्नेबित्तिकै फर्किहाल्छु,’ उनले भने।

अध्ययनका लागि भारत पुगेका विद्यार्थी र बिहे गरेर सीमापारि गएका चेली पनि मतदान गर्न आएका छन्। इलाका प्रहरी कार्यालयका डीएसपी टंकप्रसाद भट्टराईले मंगलबार मात्रै करिब ७ हजार नेपाली भारतबाट नेपाल प्रवेश गरेको बताए। ‘आधाभन्दा बढी मतदाता नै थिए,’ उनले भने। प्रहरीका अनुसार बुधबार पनि बाक्लै संख्यामा मतदाता भित्रिए।

गाउँमा चहलपहल
संगीत क्षेत्रमा व्यस्त डेनी निरौला बुधबार इलाम सदरमुकाममा भेटिए। गीतकार तुलसी बस्नेत पनि रातविरात आफ्नो मतदानस्थल पुगे। सबै जना गउँकेन्द्रित हुँदा सदरमुकाम क्षेत्रको चहलपहल भने घटेको छ। शैक्षिक क्षेत्र बन्द भएपछि मतदानकै लागि अभिभावक पनि गाउँ फर्किएका छन्। तराई झर्नेभन्दा पहाड चढ्ने गाडीको संख्या धेरै देखिन्थ्यो। ‘बल्ल पाएको अधिकार प्रयोग गर्नैपर्‍यो नि,’ सन्दकपुर गाउँपालिका ५ जमुनाका मानबहादुर गुरुङले भने।

मतदाता फर्किएपछि उत्साह
चितवन– अध्ययन र रोजगारी सिलसिलामा देशका विभिन्न भेगमा पुगेकाहरू मतदान गर्न
आआफ्ना जिल्ला फर्किएका छन्। ‘चुनावले गर्दा नारायणगढ–मुग्लिन सडकमा सवारी चाप बढेको छ,’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख धर्म केसीले भने, ‘मंगलबार र बुधबार चाप बढी रह्यो।’ उनले मतदान गर्नकै लागि पूर्व पश्चिम जानेको ताँती लागेको बताए। जिल्लामा समेत चहपहल बढेको छ। रोजगारीका लागि अछाम पञ्चदेवल विनायक नगरपालिका पुगेका बलराम विष्टले भोट हाल्नकै लागि जिल्ला फर्किएको बताए। उनलाई घर पुग्न २ दिन लाग्यो। ‘स्थानीय निर्वाचनमा पनि आएको थिएँ,’ उनले भने, ‘बिहीबार भोट हालेर फर्किने तयारीमा छु, फर्किन पनि तीन दिनै लाग्छ।’

फर्कनेको ओइरो
रौतहट– चन्द्रपुर नगरपालिका ४ कप्तान टोलका ८० वर्षीय तारानाथ खनाल मतदानको व्यग्र प्रतीक्षामा छन्। पहिलो लटमै मत हालेर मात्र खाना खाने उनको योजना छ। ‘पहिलो भोट मैले नै खसाउँछु,’ उनले भने, ‘भोट दिएपछि मात्र खाना खान्छु।’ उनी मतदान गर्ने अधिकार बहुमूल्य भएको बताउँछन्।
राजधानीमा कार्यरत जुडीबेलाका माधव पाण्डे ३ दिनअघि गाउँ फर्किए। जिल्लाबाहिर रहेका अधिकांश स्थानीय मतदानका लागि आएका छन्। सबैमा असल प्रतिनिधि चुन्ने चाहना छ। ‘यसपालि धेरै सोचविचार गरेर मतदान गर्नुपर्छ,’ पाण्डेले भने, ‘कुनै दल, उमेदवारको प्रलोभनमा पर्दिनँ। स्वविवेक प्रयोग गर्ने हो।’

मतदाता फर्किएसँगै जिल्लाको सहरदेखि गाउँसम्म चुनावमय बनेका छन्। ‘स्थानीय तहमा मतदान गर्न पाइनँ,’ जुडीबेलाकै राजन मैनालीले भने, ‘यसपालि मताधिकार प्रयोग गर्ने अवसर पाएको छु।’ आफूजस्तै मतदान गर्न मात्र सयौंको संख्यामा साथीहरू गाउँ आएको उनले जनाए।

सर्लाहीमा कम
सर्लाही– स्थानीय निर्वाचनको तुलनामा यसपालि मतदानका लागि गाउँ फर्कने केही कम छन्। राजनीतिक रूपमा सचेत मतदाता भने आएका छन्। कर्मैयाका केशव दाहालले आवधिक निर्वाचनमा मतदान गर्नु जनताको अधिकार भएकाले घर फर्केको बताए। ‘चुनाव लोकतन्त्रको मुटु भएकाले मतदान गर्न चुक्नु हुँदैन,’ उनले भने, ‘मतदानबाट हामी आफूलाई मन परेको उम्मेदवार चुन्न सक्छौं।’

अध्ययन, रोजगारी र व्यवसाय सिलसिलामा अन्यत्र गएका कतिपयले भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनप्रति चासो देखाएनन्। आउजाउ गर्दा खर्च लाग्ने भएकाले पनि उनीहरूले रुचि नदेखाएका हुन्।
हरिपरका सनोज दासले काठमाडौंमा पढ्दै गरेका आफन्त नै चुनावमा नआएको बताए। प्रतिनिधि र प्रदेशसभामा निकै कम मतदाता गाउँ फर्केको उनको भनाइ छ। ‘यसअघि जितेकाबाट जनता दिक्क छन्,’ उनले भने, ‘त्यसैले भोट हाल्नकै लागि गाउँ फर्कन रुचि नराखेका हुन्।’ स्थानीय चुनावमा काठमाडौंबाट मतदाता ओसार्न उम्मेदवारले सवारीको व्यवस्था गरेका थिए। यसपटक केही उम्मेदवारले मात्र सवारीको व्यवस्था मिलाएका छन्।

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?