१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अधिकांश ‘लाहुरे’ मतदाता विदेशमा

पहिले उम्मेदवारी दिने ‘लाहुरे’ हरूको मत उल्लेख्य कमी

धरान — लाहुरेहरूको सहरका रूपमा परिचित धरानमा कुनै बेला चुनाव जित्न उनीहरूको मत निर्णायक हुने गथ्र्यो । दलहरूले मत तान्न लाहुरेले रुचाउने उम्मेदवार खोजी–खोजी उठाउँथे । अब समय फेरिएको छ । अहिले न त दलहरूले ‘लाहुरे’ का मन जित्ने उम्मेदवार खोज्छन् त उनीहरूको मत नै निर्णायक बन्छ ।

२३ वर्षअघि सम्पन्न संसदीय निर्वाचनमा गोरेबहादुर खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार हुँदा लाहुरे समुदायकै करिब ७ हजार मत ल्याए र चर्चाको शिखरमा पुगे । त्यस बेला धरानको जनसंख्या करिब ६५ हजार थियो । त्यसमा ७० प्रतिशत त जनजातिकै संख्या थियो । धरानका ७ देखि १८ सम्मका वडामा लाहुरे बस्ती छ ।

‘अहिले लाहुरेका मतको आशा कसैले गरेका छैनन्,’ धरानका पूर्वमेयर मनोज मेन्याङ्बोले भने, ‘लाहुरे नै कहाँ बसे र मत हुनु ।’ परिवारसहित उनीहरू बेलायत र हङकङ बस्न थालेपछि यस्तो अवस्था आएको हो । महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्र शर्मा बेलायत र हङकङ पलायन भएकाले उनीहरूको मत निर्णायक हुन छाडेको बताउँछन् ।’

खपाङगीले ल्याएका मतमध्ये ८० प्रतिशतभन्दा बढी लाहुरेकै रहेको उनी बताउँछन् । सन् १९९७ मा हङकङ आईडी खुलेपछि परिवारसहित त्यतै लागे लाहुरेहरू । यसै बेला बेलायतले पनि आवासीय अधिकार दिएपछि अधिकांश गोर्खा परिवारसहित उतै घर किनेर बस्न थालेका हुन् । अहिले धरानमा उनीहरूले बनाएको डेढ दुईतले पक्की घरमात्र छन् । ती घरमा उनीहरूका आफन्त बसेका छन् । उनीहरू धरानका मतदाता हुन सकेका छैनन् । कतिले त करोडौंका घर सस्तैमा बेचेर विदेश गएका छन् ।

‘अब लाहुरेका मात्र होइन, उनीहरूका आफन्तका भोटसमेत धरानमा छैनन्,’ पूर्वलाहुरे रमेशकुमार लिम्बूले भने, ‘कुनै समय थियो लाहुरेका भोटमात्र होइन, पैसाले पनि उम्मेदवार चुनाव लड्थे र जित्थे । तर समयले कोल्टो फेरेको छ । अब लाहुरेले चुनावका लागि होइन, विकासका लागि पनि धरानमा पैसा दिन छाडिसकेका छन् ।’

०७० मा फोटोसहितको मतदाता परिचयपत्र भने धेरैले बनाएका छन् । बेलायतबाट मतदान गर्न साताअघि धरान आइपुगेका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका संयोजक सन्तोष थलङले भने, ‘बेलायतमा धरानका बयस्कमात्र कम्तीमा २० हजार रहेका छन् । अनि हङकङतिर करिब ५ देखि ७ हजार संख्यामा पुगेका छन् ।’ उनको भनाइलाई सही मान्ने हो भने करिब २५ हजार लाहुरे र तिनका बयस्क सन्तान धरानमा नहुँदा निर्णायक मत अब अरू समुदायकै भएको छ ।’

स्थानीय तहको निर्वाचनमा पनि ३० हजारभन्दा बढी मतदाताले निर्वाचनमा भाग लिएका थिएनन् । उक्त निर्वाचनमा धरान उपमहानगरपालिकाका कुल मतदाता ७९ हजार २ सय ९० मध्ये ४९ हजार १ सय ६० ले मात्र मत खसालेका थिए ।मतदानमा सहभागी नभएकामध्ये ८५ प्रतिशत पूर्वगोर्खा र उनीहरूका परिवार रहेको हुन सक्ने बताइएको छ । यो लाहुरे बस्ती सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमध्ये १ मा मात्र बसोबास गर्छ । यो क्षेत्रमा मतदाता कुल १ लाख २२ हजार ६ सय ९१ छन् ।

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?