कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मतगणना स्थलमा निगरानी कडा

पर्वत — स्थानीय निर्वाचनको मतगणनामा विभिन्न जिल्लामा भएका कमजोरीलाई ध्यानमा राख्दै निर्वाचन आयोगले पर्वतको मतगणनालाई अत्यन्तै कडा पार्ने भएको छ । जिल्ला अदालत भवनभित्रका तीनवटा हल व्यवस्थित गरी फलामे तारजालीभित्र मतगणना गरिने मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए ।

‘यसअघिको स्थानीय चुनावमा केही जिल्लामा घटेका घटनालाई मध्यनजर गर्दै अहिले कडाइ गरिन लागिएको हो,’ उनले भने, ‘अहिले उम्मेदवारका प्रतिनिधिसमेत गणना कक्षमा छिर्न पाउँदैनन् ।’

 आयोगले सिफारिस गरेका र कुनै दलनिकटका संघ–संगठनमा नलागेका सीमित कर्मचारीहरूलाई मात्रै गणकमा सिफारिस गरेको आयोगले गणनास्थलभित्र गणक बाहेकका व्यक्ति प्रवेशमा रोक लगाउने छ । गणनास्थलभित्र चौबिसै घण्टा सूक्ष्म निगरानी राख्न सिसी क्यामरासमेत जडान गरिएको छ । मटपेटिका राखेदेखि गणना सकिएर नतिजा सार्वजनिक हुने समयसम्म सिसी क्यामराले निगरानी गरिने प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । ‘सुरक्षाका हिसावले पनि सिसी क्यामरा प्रभावकारी हुन्छ,’ पन्थीले भने, ‘गणना गर्दा भूलबस कुनै त्रुटि भएमा पनि क्यामराको सहायताका कारण सच्याउन सकिन्छ ।’ मतगणनामा हुन सक्ने कमजोरी शून्य पारिने निर्वाचन आयोगको दाबी छ । 

चुनावको मितिभन्दा साता दिनअघि नै अदालतको तामेली फाँटका तीन कक्षमा फलामे पोलको सहायताले विभाजन गरी तार जाली लगाइएको छ । विभिन्न चार समूहमा गरिने मतगणनाका लागि चारै समूह बस्न मिल्ने ठाउँ विभाजन गरिएको छ । मतगणनामा सहभागी कर्मचारीबाहेक पत्रकार, पर्यवक्षक, उम्मेदवार, तिनका प्रतिनिधिलगायत बस्न मिल्नेगरी गणनाकक्ष बाहिर छुट्टै फर्निचरको व्यवस्था गरिएको छ । 

योपटकको निर्वाचन अहिलेसम्मकै फरक अनुभव भएकाले पनि गणनास्थललाई थप व्यवस्थित बनाएको सहायक मुख्य निर्वाचन अधिकृत एवं स्थानीय विकास अधिकृत विष्णुप्रसाद भुषालले बताए । ‘विगतमा अरू जिल्लाका घटनालाई ख्याल गर्दै यस्तो व्यवस्था गरिएको हो,’ भुषालले भने, ‘गणक पनि सीमित कर्मचारी मात्रै हुन्छन् ।’ योपटक शिक्षक र ट्रेडयुनियनको सदस्यता भएका कर्मचारीहरूले मतगणनामा सहभागी हुन नपाउने उनले बताए । 

जिल्ला निर्वाचन परिचालन समितिले प्रदेश र प्रतिनिधिसमाको अन्तिम नजिता ३ दिनभित्र सार्वजनिक गर्न सकिने जनाएको छ । चार स्थानमा मत गन्ने व्यवस्था मिलाइएकाले बढीमा ३ दिनसम्ममा प्रत्यक्षतर्फको नतिजा आइसक्ने मुख्य निर्वाचन अधिकृत सापकोटाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसोदेखि मतगणना गर्नेगरी तयारी गरेको छ । ‘बिहीबार राति १२ बजेसम्म मतपेटिका आइपुग्छन् । शुक्रबार दिउँसोदेखि मतगणना सुरु हुन्छ’ मुख्य निर्वाचन अधिकृत सापकोटाले भने । 

 

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?