चुनावले गाउँमा रमझम

दुर्गालाल केसी

दाङ — काठमाडौंमा अध्ययनरत घोराही १३ का सुरज बुढा चुनावमा भोट हाल्न घर आएका छन् । मताधिकार प्रयोग गरी राम्रो नेता छान्ने उनको धोको छ । ‘नयाँ संविधान जारी भएपछि पहिलोपटक सांसदको चुनाव हुँदैछ,’ उनले भने, ‘पहिलोपटक प्रदेशमा सरकार बन्दैछ । यस्तो अवसर नगुमाऔं भनेर जसोतसो गाउँ आइयो ।’

चुनावले गाउँमा रमझम

अध्ययन, व्यापार र रोजगारीका सिलसिलामा सहरमा रहेका अधिकांश मानिस मतदानका लागि गाउँ फर्केका छन् । प्रयास गर्दागर्दै पनि नमिलेका भने काममै व्यस्त छन् । गाउँ फर्केका मतदाता उत्साहित छन् ।

रोजगारको सिलसिलामा नेपालगन्जमा रहेका तुलसीपुर–२ का बलदेव आचार्य पनि मत हाल्न घर आएका छन् । निर्वाचनले गाउँघर रमाइलो भइरहेको उनले बताए । ‘गाउँघर निर्वाचनले रमाइलो बनाएको छ । सबैले को उम्मेदवार ठीक भनेर छलफल चलाइरहेका छन्,’ उनले भने, ‘मौन अवधिमा पनि गाउँटोलमा मतदाताबीच छलफल हुन पाएको छ । यो सही नेता छान्ने अवसर हो । यसलाई हामीले गुमाउनु भएन ।’

नयाँ संविधान जारी भएपछि हुन थालेको प्रतिनिधि र प्रदेशसभाको पहिलो निर्वाचन भएकाले धेरै मतदाताले यसलाई महत्त्व दिएका छन् । व्यवसायकै क्रममा घोराही बजारमा रहेका बंगलाचुली–३ का हेमजंग पुन पनि भोट हाल्न गाउँ पुगेका छन् । जनताको एक मतले पनि हारजितको फैसला हुने भएकाले नियमित काम छोडेरै भए पनि मत हाल्न घर पुगेको उनले बताए । ‘पाँच वर्षमा एकपटक भोट हाल्ने हो । यो महत्त्वपूर्ण काम छोड्नु हुँदैन भनेर गाउँ पुगेको छु,’ उनले भने, ‘नियमित काम छोडेर अहिले चुनावलाई महत्त्व दिएँ ।’

घोराही १८ की मनसरा विक पनि निर्वाचनले उत्साहित छिन् । दैनिक काम छोडेर उनी बुधबार मतदाता परिचयपत्र लिन मतदान केन्द्र गइन् । उत्साहका साथ मतदानको पर्खाइमा रहेको उनले बताइन् । ‘चुनावमा भोट हाल्नलाई एक दिन छुट्याएको छु,’ उनले भनिन्, ‘अरू काम छोडेर पनि भोट हाल्न 
जाने हो ।’

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?