कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चौरजहारी अस्पतालमा बर्सेनि छुट

हरि गौतम

रुकुम (पश्चिम) — भदौ ४ गते सल्यान सल्लीबजारका ५५ वर्षीय वीरबहादुर बुढा चौरजहारी अस्पतालबाट डिस्चार्ज भए । १ सय ८७ दिन अस्पताल बसेका उनको औषधि र खाना खर्चबापत एक लाख ४४ हजार ८ सय ४५ बिल तयार भयो । (बेडस्योर) शरीर पाक्ने रोगबाट ग्रसित बुढाको हैसियतभन्दा बिल निकै धेरै आयो ।

चौरजहारी अस्पतालमा बर्सेनि छुट

भदौ ४ गते सल्यान सल्लीबजारका ५५ वर्षीय वीरबहादुर बुढा चौरजहारी अस्पतालबाट डिस्चार्ज भए ।

१ सय ८७ दिन अस्पताल बसेका उनको औषधि र खाना खर्चबापत एक लाख ४४ हजार ८ सय ४५ बिल तयार भयो । (बेडस्योर) शरीर पाक्ने रोगबाट ग्रसित बुढाको हैसियतभन्दा बिल निकै धेरै आयो ।

औषधोपचारबापत ८८ हजार ८ सय ४५ र खानाबापत ५६ हजारको बिल उनले तिर्न परेन । कमजोर आर्थिक अवस्थाका बुढाको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले छुट गरिदियो । चौरजहारी अस्पतालबाट चालू वर्षको मंसिर १८ सम्म थोरैदेखि धेरै छुट पाउने ४ हजार ३८० जनामध्ये उनी पनि १ हुन् । चालु वर्षको ८ महिनामा सबैभन्दा धेरै रकमको छुट पाउने बुढा नै भए । अस्पतालले छुट गरिदिएपछि उनले अस्पताललाई धन्यवाद दिँदै खुसी व्यक्त गरे । तेत्रो उपचार खर्च तिर्न सक्ने अवस्था नभएका बुढाले नि:शुल्क उपचार गरिदिएर पुनर्जीवन दिएको बताए ।

गत वर्ष पनि जाजरकोट रग्दाकी सुनिता रोका ९० दिन अस्पताल बसिन् । हड्डी पाकेको रोगले ग्रसित उनको उपचार क्रममा औषधोपचार तथा खानाबापत ७५ हजार रुपैयाँको बिल तयार भयो । आर्थिक अवस्था कमजार भएकी उनले पनि अस्पतालमा ७५ हजार रुपैयाँ तिर्नु परेन । उल्टै अस्पतालबाट १८ हजार ७ सय ५० रुपैयाँ घर खर्चबापत पाइन् । सुनिताका बाबुले छोरी अस्पताल भर्ना भएकै कारण भात खान पाएको घरमा रहेका श्रीमती र अन्य छोराछोरी भोकभोकै रहेको बताएपछि स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले घर खर्च चलाउन भन्दै उक्त रकम दिएर घर पठाए । उक्त आर्थिक वर्षमा अस्पतालबाट छुट पाएका नौ हजार ६७ जनामध्ये सुनिता एउटी हुन् ।

चौरजहारी नगरपालिकामा रहेको अस्पतालले हरेक वर्ष यसरी विपन्न, असहायलाई औषधि, उपचार तथा खाएको बसेको समेत छुट दिने गरेको छ । चालू वर्षको हालसम्म ४ हजार ३ सय ८० जनालाई सम्पूर्ण सेवा छुट दिएको अस्पतालले त्यसबापत २८ लाख १७ हजार ८७ रुपैयाँ छुट गरेको छ । यस्तैगरी गत आव ०७३/७४ मा अस्पतालले ९ हजार ६७ जनालाई ८९ लाख ३७ हजार ५ सय ५७ मूल्य बराबरको उपचार शुल्क, औषधि शुल्क, खानालगायतमा छुट दिएको जनाएको छ ।

यसैगरी अस्पतालबाट आव ०७२/७३ मा पाँच हजार नौ सय ७० जनाले छुट पाएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । त्यसबापत ७८ लाख ६० हजार ८ सय ११ रुपैयाँको छुट बिरामीले पाएको प्रशासक गिरीले जानकारी दिए । विशेषगरी अस्पतालमा आउने अपहेलित, टुहुरा, एकल महिला छुट पाउने प्राथमिकतामा पर्ने गरेको प्रशासनले जनाएको छ । उक्त छुटबापतको रकम अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेको गिरीले बताए । ‘पैसा नभएका कारण केही पनि उपचारबाट वञ्चित नहोस् भनेर छुट गर्ने गरेको छ,’ उनले भने, ‘पैसा तिर्न सक्दैन भनेपछि बिरामीको घरपरिवारलगायत सोधपुछ गर्ने र तिर्न नसक्ने भएपछि छुट दिइने गरेको छ ।’ बिरामीलाई छुट दिनुपर्ने अवस्था आयो भने अस्पतालको परामर्शदाताले ५ सय रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ भने त्योभन्दा धेरै छुट दिनुपर्ने अवस्थामा अस्पताल प्रशासनले नै छुटको आवश्यक प्रक्रिया अघि बढाउँछ ।

चौरजहारी अस्पतालमा १० शय्याको बाल वार्ड, ३ शय्याको आईसीयू, १० शय्याका सुत्केरी वार्ड र २७ जनरल वार्ड रहेको छ । अस्पताल ५० शय्या भए पनि बिरामी भने दोब्बर भर्ना हुन्छन् । अस्पतालमा दैनिक १ सय ५० देखि ३ सय ७५/८० जनासम्म बिरामी आउने गरेका छन् । उक्त अस्पतालमा ६ जना डाक्टरसहित ४० स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?