के हुँदै छन् नगरका महत्त्वाकांक्षी योजना ?

कतै धार्मिक पर्यटन, कतै नि:शुल्क औषधि
शिल्पा कर्ण

काठमाडौं — स्थानीय तहदेखि केन्द्रसम्मका चुनावमा जनतासामु बाँड्ने आश्वासन र सुनाउने महत्त्वाकांक्षी योजनाको सूची लामै हुन सक्छ । छ महिनाअघि सम्पन्न स्थानीय तहको चुनावमा मत माग्न जाँदा मेयर आकांक्षीले प्रस्तुत गरेका योजना आज कहाँ छन् त ? ती योजना र कार्यक्रममध्ये केहीले स्थान पाएका छन् भने केही अलपत्रै छन् ।


काठमाडौं जिल्लाअन्तर्गतका मेयरले आफूहरूको महत्त्वाकांक्षी योजनालाई ध्यान दिँदै काम अघि बढाएको बताएका छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले पर्यटन सम्भावना प्रबल रहेकाले धार्मिक र वातावरणीय पर्यटन प्रवद्र्धनका लागि काम गर्ने बताएका थिए । यो नगरपालिकामा हिन्दुहरूको आस्थाको केन्द्र दक्षिणकाली मन्दिरका साथै बौद्धमार्गीका लागि दर्जनजति गुम्बा छन् । गुम्बाहरूले आन्तरिक र विदेशी पर्यटक भित्र्याउने गरेकाले प्रवेश शुल्क लगाउनेबारे विचार गरिरहेको जनाइएको छ । मेयर बस्नेत भन्छन्, ‘केही महिनापछि यो सडक कालोपत्रे हुने योजना छ, यसले पर्यटक आवागमनमा सहजता ल्याउन सक्छ । गोरखनाथ मन्दिर, बज्रयोगिनी, सरस्वती मन्दिरका साथै गुम्बाबाट समेत यो नगरले आम्दानी गर्न सक्छ ।’
सामुदायिक वनले पर्यटक लोभ्याउने भएकाले पर्यटन विकासका लागि उपयोग गर्न उपभोक्ता समितिहरूसँग छलफल भइरहेको नगरपालिका स्रोतले जनाएको छ । वनमा जडीबुटी रोप्ने प्राथमिकता दिइने मेयर बस्नेतले बताए । कृषि पर्यटनलाई बढावा दिने योजना लिई जनतासामु भोट मागेर नगरको जिम्मेवारी पाएका तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा कर्मचारी अभावका कारण योजना कार्यान्वयनमा सुस्त भएको बताउँछन् । नगरपालिका कार्यालय काठमाडौं केन्द्रभन्दा निकै टाढा भएकाले पनि कर्मचारी आवतजावतमा कठिनाइ हुने गरेको छ । 
‘हाम्रो नगरपालिकामा रहेको भ्यू टावरलाई हाइलाइट गर्ने गरी योजना बनाउँदै छौं,’ बोहोराले भने, ‘यसबारे प्राविधिक अध्ययन भइरहेको छ, तत्पश्चात् रानीवन क्षेत्र र शिवपुरी राष्ट्रिय निकुञ्जबाट वनको जग्गाको अनुमति लिने प्रक्रिया थाल्नेछौं ।’ 
तरकारी खेतीका लागि उर्बर मानिने तारकेश्वरमा सुन्तला, ज्यामिरलगायत फलफूलका साथै गोलभेंडा, काउली, बन्दागोबी पनि राम्रो उत्पादन हुने कृषकहरू बताउँछन् । तर वन्यजन्तुबाट जोगाउन वन कार्यालयसँग समन्वय भइरहेको प्रमुख बोहोराले जनाए ।
कीर्तिपुर नगरपालिकामा भने ज्येष्ठ नागरिकलाई नि:शुल्क औषधि दिने कार्यक्रमले नगरमा निकै चर्चा पाएको थियो । नगर प्रमुख रमेश महर्जनले यसलाई कार्यान्वयन गर्नेतर्फ काम अघि बढिरहेको बताए । ‘यहाँ कति ज्येष्ठ नागरिक छन् भन्ने तथ्यांक संकलन भइसक्यो । नि:शुल्क औषधि कीर्तिपुर अस्पतालबाटै वितरण गर्ने कि भन्ने छलफलमा छौं,’ उनले भने । यो योजनाका लागि १ करोड छुट्याइएको छ । नि:शुल्क औषधिको सुविधा नसर्ने र वृद्धावस्थामा देखा पर्ने रक्तचाप, मधुमेहसहितका रोगमा मात्रै मान्य हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर २७, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?