प्रतिनिधिसभा र प्रदेशसभामा ७ दलित विजयी

दीपक परियार, बिना थापा

लेखनाथ — प्रतिनिधिसभा र प्रदेशसभामा वाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका १० मध्ये ७ दलित उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ४ सांसद सबै वाम गठबन्धनबाट विजयी भएका हुन् ।

वाम गठबन्धनबाट तीन जनाले चुनाव जिते । कांग्रेसले प्रतिनिधिसभामा एक जना पनि दलित उम्मेदवार उठाएको थिएन । प्रदेशसभामा भने देशभर गरी एक जनालाई टिकट दिएको थियो । कास्की–१ को प्रदेशसभा (क) मा टिकट पाएका कांग्रेस केन्द्रीय सदस्य जीवन परियार माओवादी केन्द्रका दीपक कोइरालासँग पराजित भए ।

प्रतिनिधिसभामा रूपन्देही–१ बाट एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले चुनाव जिते । उनले बहालवाला खानेपानी राज्यमन्त्रीसमेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अब्दुल रज्जकलाई पराजित गरेका थिए । पूर्वकृषि तथा सहकारी मन्त्री भइसकेका विश्वकर्माको स्थायी घर बुटवल हो । उनी २०७० को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । 

एमालेकै पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा कास्की–३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । उनले कांग्रेसका पुराना नेता शुक्रराज शर्मालाई हराएका थिए । प्रतिनिधिसभामा निर्वाचित हुनेमा बाँकेका महेश्वर गहतराज (अथक) पनि हुन् । माओवादी केन्द्रबाट बाँके–१ मा उठेका उनले कांग्रेसका माधवराम खत्रीलाई पराजित गरे । सप्तरी–१ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रकै अशोककुमार मण्डल भने संघीय समाजवादी फोरमका डा. सूर्यनारायण यादवसँग पराजित भए ।

प्रदेशसभामा वाम गठबन्धनबाट उम्मेदवार बनाइएका ५ मध्ये ४ ले चुनाव जितेका छन् । बारा–४ को प्रदेशसभा (क) मा एमालेका सुन्दरकुमार विश्वकर्मा विजयी बने । उनले कांग्रेसका ओमकृष्ण कार्कीलाई हराए । मुगु–१ को प्रदेशसभा (क) मा एमालेकै दानसिंह परियार चुनिए । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई पछाडि पारेका थिए ।

रुकुम पश्चिमको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रातो कामीसँग कांग्रेसका कृष्णबहादुर रोकायाले पराजय भोगे । दलित उम्मेदवारमध्ये सबैभन्दा धेरै मतान्तरले जित्ने उनै हुन् । कामीले १६ हजार ८ सय १० मत ल्याउँदा रोकायाले ८ हजार ५ सय ७७ मत पाए । माओवादी केन्द्रका मानबहादुर सुनार कञ्चनपुर–३ को प्रदेशसभा (ख) बाट विजयी भए । उनले कांग्रेसका बेलबहादुर रानालाई हराएका थिए । काठमाडौं–३ को प्रदेशसभा (क) मा माओवादीबाट उठेका रुद्र बराइलीले पराजय बेहोर्नुपर्‍यो । उनी कांग्रेसका छिरिङदोर्जे लामासँग १ हजार १ सय १३ मतान्तरले पराजित भए । प्रतिनिधिसभामा देशभर १ हजार ९ सय ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ३ सय ३० प्रदेशसभाका लागि ३ हजार २ सय ३८ उम्मेदवार चुनावी मैदानमा थिए । वाम र लोकतान्त्रिक गठबन्धनले दलित उम्मेदवारलाई प्राथमिकता नदिँदा दलित सांसदको संख्या कम भएको हो । प्रदेश १ मा ठूला दलबाट दलित उम्मेदवार नै थिएनन् । साना दलबाट भने थुप्रै दलित उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

मुगुमा चरम जातीय भेदभाव ब्यहोर्दै आएका दलित समुदायका एक युवा प्रदेशसभामा निर्वाचित भएका छन् । मुगु–१ को प्रदेशसभा ‘क’ बाट एमाले उम्मेदवार दानसिंह परियार विजयी भएका हुन् । छायानाथ रारा नगरपालिका–१ श्रीनगरका ३२ वर्षीय परियारले ५ हजार ६ सय ५३ मतसहित प्रदेशसभाको ढोका खोले । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई ३ सय ५४ मतान्तरले हराएका थिए । १३ वर्षकै उमेरमा महाकाली उच्च माविबाट विद्यार्थी राजनीति सुरु गरेका थिए, परियारले । ०६५ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बने । ०६७ मा अनेरास्ववियुको सचिवालय सदस्य र ०७४ मा पार्टीको सचिवालय सदस्य भएका उनी शिक्षाशास्त्र र कानुनमा स्नातक हुन् । 

जनआन्दोलनका बेला तीन दिन जेल परेका उनले दलित समुदायको हकहितका लागि आफू क्रियाशील रहने बताए । पार्टीमा लामो संर्घषपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाएको उनको भनाइ छ । ‘एकातिर वाम गठबन्धन र अर्कोतिर दलित समुदायको व्यक्ति भएकाले मलाई चुनाव जित्न सहज भयो,’ उनले भने ।

 

प्रकाशित : मंसिर २८, २०७४ ११:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाँच फिल्मकर्मीलाई श्याम–सुनिता मुखिया पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौं — वरिष्ठदेखि युवासम्मका पाँच फिल्मकर्मी बुधबार राजधानीमा सम्मानित भएका छन् । ड्रिम वर्ल्ड अफ फिल्ममेकर्सले वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, सञ्चारकर्मी एवं गीतकार शान्तिप्रिय र युवा फिल्मकर्मी एवं सञ्चारकर्मी फूलमान वललाई पुरस्कृत र अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र युवा फिल्मकर्मी विनोद पौडेललाई सम्मानित गरेको हो ।

शर्मालाई १५ हजार ५ सय रुपैयाँ र ताम्रपत्रसहित ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार’, शान्तिप्रियलाई ताम्रपत्र र उत्ति नै रकमसहित ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’ तथा वललाई ताम्रपत्र र ११ हजार १ सय रुपैयाँसहितको ‘युवा चलचित्रकर्मी पुरस्कार’ दिइएको हो । निरौला र पौडेललाई भने ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरियो । वरिष्ठ साहित्यकार एवं फिल्मकर्मी चेतन कार्कीले पुरस्कार र सम्मान हस्तान्तरण गरे भने पुरस्कार समितिका संरक्षक सुनिता मुखियाले टीका र अध्यक्ष सुनील मुखियाले फूलमाला अर्पण गरे ।

विसं २०२९ मा ‘गाईजात्रा’ डकुमेन्ट्रीको पटकथा लेखनमार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेका शर्माले ‘बदलिँदो आकाश’ बाट फिल्म निर्देशनमा हात हालेका थिए । यसपछि उनले ‘शान्तिदीप’, ‘साथी’, ‘सारंगी’, ‘विद्रोही’, ‘मिलन’, ‘जित’, ‘छोरी–बुहारी’, ‘वर पीपल’ लगायत दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि शर्मालाई पुरस्कृत गरिएको पुरस्कारका संस्थापक एवं पहिलो नेपाली छायाँकार शबनम मुखियाले बताइन् । शान्तिप्रियलाई भने फिल्म पत्रकारिता र फिल्मी गीत लेखनमा पुर्‍याएको योगदानका लागि पुरस्कृत गरिएको बताइयो । ‘डी सिने अवार्ड’ का संस्थापकसमेत रहेका शान्तिप्रियले पछिल्लोपटक ‘अधर’ गीति एल्बम ल्याएका थिए ।

छोटो फिल्म ‘सेलफोन’ बाट निर्देशनमा हात हालेका वलले हाल फिचर फिल्म ‘नीरफूल’ निर्देशन गरिरहेका छन् । उनका ‘महाभारतकी मैच्याङ’ (कविता संग्रह) र ‘काजोल खातुन’ (कथा संग्रह) पनि प्रकाशित छन् । सम्मान पाएकी निर्देशक निरौलाले पछिल्लो समय ‘छक्का पञ्जा–२’ निर्देशन गरेकी थिइन् भने युवा फिल्मकर्मी विनोद पौडेल ओस्कार फिल्म कलेजका सञ्चालकसमेत हुन् ।

वरिष्ठ गीतकार कार्कीले सम्मानको परम्पराले नेपाली फिल्म क्षेत्रलाई माथि उठाउने बताए । वरिष्ठ अभिनेत्रीहरु चैत्यदेवी, भुवन चन्द, वसुन्धरा भुसाल, वरिष्ठ साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र फिल्मकर्मी मोहन निरौलालगायतले पुरस्कार र सम्मान परम्परामाथि बोले । आफ्ना आमा–बुबाका नाममा यसै वर्षदेखि स्थापित पुरस्कार हरेक वर्ष दिइने मुखियाले बताइन् ।

प्रकाशित : मंसिर २८, २०७४ ११:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT