कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देखिएन एकता प्रभाव

विनोद भण्डारी

विराटनगर — प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि भएको कांग्रेस र फोरम लोकतान्त्रिक एकताको प्रभाव मोरङमा देखिएन । लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिएका क्षेत्र ४ र ६ दुवैमा कांग्रेस उम्मेदवारले पराजय भोगे । ०७२ को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकसहित सबै दलले आ–आफ्ना उम्मेदवार उठाउँदा पनि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

चुनावको मुखमा दुई पार्टी एकीकण भए पनि तल्लो तहका र सक्रिय कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्दा प्रभाव क्षेत्र गुमेको विश्लेषण गरिएको छ । ‘दुई पार्टी मात्र एकीकरण भए तर कार्यकर्तामा भावनात्मक एकता हुन सकेन,’ मोरङ कांग्रेसका पूर्वसचिव पीताम्बर दाहालले भने, ‘दुवै निर्वाचन क्षेत्रमा दुवै समूहका कार्यकर्ता बेग्लाबेग्लै ढंगले चुनाव प्रचारमा हिँडेको पाइयो ।’
चुनावी प्रचारमा सँगै हिँड्ने थोरै थिए । यसले सामान्य मतदातामा नकारात्मक प्रभाव पारेको दाहालको बुझाइ छ । ‘स्थानीय निर्वाचनमा आ–आफनो अस्तित्वमा रहेका यी दुई दलका कार्यकर्ताबीच निकै ठूलो असन्तुष्टि जीवितै थियो,’ उनले भने, ‘पछिल्लो पटक पार्टी एकीकरण भए पनि त्यही असन्तुष्टिलाई उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पोखे ।’
स्थानीय तह निर्वाचनमा टिकट नपाउने विजयकुमार गच्छदार समूह र कांग्रेसका असन्तुष्ट पक्षले पार्टीका उम्मेदवारलाई सहयोग नगरी विपक्षीलाई सहयोग गर्दा पकड क्षेत्र गुमेको हो । कांग्रेस स्रोतका अनुसार दुवै समूहका असन्तुष्ट पक्षले क्षेत्र ४ र ६ मा खुलेर वाम गठबन्धनलाई सहयोग गरे ।
क्षेत्र ६ मा गच्छदार र शेखर कोइरालासँग रुष्ट पक्षले प्रदेशमा कांग्रेसका चुमनारायण तवदार र प्रतिनिधिसभामा वाम गठबन्धनका लालबाबु पण्डितलाई भोट दिने ‘चुला’ (एक भोट चुमनारायणलाई, अर्को लालबाबुलाई) भन्ने अभियानै चलाए । तबदार तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन् । कोइराला पण्डितसँग ६ सय ७५ मतले पराजित भए । यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेसका तवदार र ‘ख’ बाट कांग्रेसकै केदार कार्की विजयी भए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले वाम गठबन्धनको स्थिर सरकार दिने नाराले मतदातामा प्रभाव परेको तर कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कुनै औचित्य साबित हुन नसकेको बताए । केन्द्रीय स्तरमा लोकतान्त्रिक गठबन्धन गरिएको भए पनि यसको असर तल्लो तहसम्म पुग्न नसकेको उनको भनाइ छ । 
तत्कालीन ५ र हालको क्षेत्र ६ बाट कोइराला पहिलो संविधानसभाको उपनिर्वाचनमा र दोस्रो संविधानसभामा विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस छाडेर तत्कालीन मधेसी जनअधिकार फोरमबाट उठेका गच्छदारले कोइरालालाई हराएका थिए । त्यो बेला सुनसरी ३ बाट पनि विजयी गच्छदारले मोरङ ५ छाडेपछि उपनिर्वाचनमा कोइरालाले तवदारलाई र दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारलाई नै पराजित गरेका थिए ।
मोरङ ४ पनि फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा महेश आचार्य वाम गठबन्धनका अमनलाल मोदीसँग ६ हजार ७ सय २९ मत अन्तरले पराजित भए । यो तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको क्षेत्र हो । उनी पनि प्रदेशसभामा वाम गठबन्धका विजयकुमार विश्वाससँग ३ हजार ६६ मतले पराजित भए ।

प्रकाशित : मंसिर २९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?