१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विजयी उम्मेदवार घरदैलोमा

राजेन्द्र मानन्धर

लामाबगर (दोलखा) — चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरू मतदातालाई धन्यवाद दिन हिमाली क्षेत्रका गाउँघर पुगेका छन् । तिब्बती सीमाक्षेत्रको दुर्गम बस्तीमा पुगेका सांसदलाई स्थानीयले नेपाल–तिब्बत जोड्ने सडक निर्माणको माग दोहोर्‍याएका छन् ।

विजयी उम्मेदवार घरदैलोमा


विजयी सांसद आउने खबर थाहा पाएपछि स्थानीय उत्साहित थिए । उनीहरू बधाई साटासाट गर्न राति ९ बजेसम्मै कुरिरहेका थिए । पिछडिएको सीमाबस्तीको विकास गर्न नेपाल–तिब्बत जोड्ने सडकमार्ग नै प्रमुख विकल्प भएको स्थानीयले बताए । सीमागाउँ लामाबगरस्थित गौरीशंकर माविको आँगनमा भेला भएका स्थानीयले माला, खादा र अबिर लगाएर प्रतिनिधिसभामा विजयी पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौंलागाईं र विशाल खड्कालाई स्वागत गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खड्काले यस क्षेत्रको गरिबी र पछौटेपना अन्त्यका लागि सडक र शिक्षा आवश्यक रहेको बताए । ‘तपाईंहरूलाई भोटको भारी पठायौं, हामीलाई तिब्बत जोड्ने सडक दिनुस्,’ उनले भने । निर्वाचन जितेपछि जिल्लाको पिछडिएका उत्तरी भेगका बस्तीमा पुगेका नेताहरूलाई विपक्षी पार्टीका स्थापित नेताहरूले पनि अँगालोमा बाँध्दै बधाई दिइरहेका छन् । दल बिर्सेर जिल्लाको विकासका लागि साझा नेता भएर अघि बढ्न उनीहरूले सुझाव दिएका छन् ।
‘दुर्गमका मानिस भए पनि हामीले तपाईंहरूको घोषणापत्र ट्यांकामा राखेका छौं,’ प्रअ खड्काले भने, ‘वाम गठबन्धनका उम्मेदवारहरूले घोषणापत्रअनुसार काम गर्न सके मात्र जनताले भोट दिएको सार्थक हुनेछ ।’ उनले बधाईसँगै सचेत पनि गराएका हुन् । प्रतिनिधिसभातर्फ एमालेबाट विजयी सांसद गुरुङले मतदातालाई धन्यवाद दिए । ‘तपाईंहरूले जति भोटको भारी पठाउनुभएको छ, त्योभन्दा बढी काम गरेर देखाउनेछु,’ उनले भने । उनले विकास, जनचेतना र पहुँचका दृष्टिले पछाडि परेको उत्तरी क्षेत्रका स्थानीयको चित्त बुझ्ने गरी काम गर्ने दाबी गरे । गुरुङ आफैं पनि उत्तरी क्षेत्रको पिछडिएको गाउँ सुरीमा जन्मिएका हुन् ।
प्रदेशसभा ‘ख’ मा एमालेका तर्फबाट निर्वाचित चौलागाईंले पाँच वर्षभित्र लामाबगरबाट तिब्बत जोड्ने सडक खुल्ने दाबी गरे । उपस्थित सहभागीले ताली बजाएर खुसी व्यक्त गरेका थिए । नेपाल–तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमध्ये मानिने उक्त सडक खुले दुई देशबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धमा नयाँ आयाम आउने चौलागाईंले बताए । प्रदेशसभा ‘क’ बाट निर्वाचित माओवादी केन्द्रका नेता खड्कालाई पनि मतदाताले बधाई दिँदै भव्य स्वागत गरे । उनले पनि ठूलो मतान्तरले विजय हासिल गरेका थिए ।


गाउँ पुगेर मतदातालाई धन्यवाद
सल्यान– प्रतिनिधि र प्रदेशसभामा नवनिर्वाचित सांसद मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । उनीहरूले मतदातासँग भेटघाट गरी निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।
निर्वाचित सांसद सदरमुकामसहित श्रीनगर, कपुरकोट, त्रिवेणीको लुहाम, लान्ती, ढोडचौर, थारमारे, सल्लीबजार र कुमाखमालिकालगायत गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका टेकबहादुर बस्नेत, प्रदेशसभा ‘क’ मा एमालेका गुलावजंग शाह र ‘ख’ मा एमालेकै प्रकाश ज्वाला विजयी भएका थिए । भेटघाट कार्यक्रममा उनीहरूले आफूहरूले गरेका प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गर्ने दाबी गरेका हुन् । पहिलो प्राथमिकतामा जिल्लाका १० स्थानीय तह जोड्ने मुख्य तथा सहायक सडक कालोपत्रे गर्नु रहेको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले बताए ।
जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन नसकेकाले अलपत्र परेका योजनालाई तीव्रताका साथ अगाडि बढाउन पहल गरिने प्रदेशसभा सदस्य शाहले बताए । उनले बेरोजगारी समस्या समाधानका लागि आफू क्रियाशील हुने जनाए । प्रदेश ‘ख’ बाट विजयी एमाले नेता ज्वालाले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली, कृषि, पर्यटनलगायतको विकास गरी जिल्लालाई समृद्ध बनाउन आफू प्रयत्नशील हुने बताए । ज्वाला ६ नम्बर प्रदेशका मुख्यमन्त्रीको दाबेदारसमेत हुन् । उनले अधिकांश स्थानीयको आर्थिक अवस्था कमजोर रहेकाले जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

प्रकाशित : मंसिर २९, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?