कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नि:शुल्क स्वास्थ्य सेवाको प्रभाव : चित्रबहादुरले पाए पुनर्जीवन

दोलखा — लडेर दायाँ जाङ्घ माथीको जोर्नी (हिप) भाच्चिएर थला परेका ५७ बर्षिय चित्रबहादुर थामीले आफ्नै जिल्लाको अस्पतलामा निशुल्क सफल उपचार पाएपछि उनले आफुलाई पुनर्जीवन पाएको बताएका छन् ।

नि:शुल्क स्वास्थ्य सेवाको प्रभाव : चित्रबहादुरले पाए पुनर्जीवन

रोगीका लागि उपचार, शैया, औषधि र खानासमेत निशुल्क पाइने चरिकोट अस्पतालबाट उक्त जटिल उपचार पाएपछि डिस्चार्ज हुन लागेका उनले भने, ‘काठमाडौं जाने पैसा थिएन, यही एकपैसा पनि खर्च नलागी निको भएर घर जान पाउदा पुनर्जिवन पाएको जस्तो लागेको छ ।’ उनलाई गरिएको हीपको जोर्नी प्रत्यारोपणको सफल कार्य दोलखामा पहिलोपटक भएको हो ।

दुर्गम कालिञ्चोक गाउँपालिका खोपाचागु निवासी गरिब पृष्टभूमिका चित्रबहादुर थामीका लागि हड्डीसम्बन्धि उक्त उपचार गर्न अन्यत्र अस्पतालमा दुई लाख भन्दा बढि लाग्ने बताइएको थियो । उनका शरीरका हड्डी भाच्चिएपछि त्यसका ठाउँमा राख्नुपर्ने स्टीलको गेडीको मात्रै करिब ७० हजार भन्दा बढि लाग्ने बताएपछि उनी उपचार नै नगर्ने मनस्थितिमा थिए । भूकम्पले भत्किएको घर बनाउन नसकेका उनका लागि काठमाडौं गएर उपचार गर्नु कठीन थियो । छोराको विहे गरेको र उसैलाई विदेश पठाउँदा लागेको ऋण तिर्न नसकेर हैरानी वेहोरिरहेका उनी बढि पैसा लाग्ने भए उपचर नै नगर्ने मनस्थितिमा थिए ।

नेपाल सरकार र न्याय हेल्थको साझेदारीमा सञ्चालित चरिकोट अस्पतालमा उनले उक्त उपचार सित्तैमा पाएपछि चित्रबहादुर दङ्ग छन् । कान्लाबाट लडेर खुट्टा नचल्ने भएका उनलाई हड्डी विशेषज्ञ डा. मन्दिप पाठक र एमडिजिपी डा. विनोद दङ्गालले उक्त शल्यकृया गरेका थिए । राजधानीका केही अस्पतालमा मात्र उक्त शल्यकृया गरिन्छ । त्यस्तो प्रकृतिको हड्डी भाच्चिदा तत्काल अस्पताल आउन सके गेडी फेर्नु नपर्ने पनि हुनसक्ने डा. विनोद दङ्गालले बताए । चित्रबहादुर भने २४ घण्टापछि मात्र उपचारका लागि आइपुगेका थिए ।

सम्पूर्ण सेवा निशुल्क गर्नेगरी सञ्चालित उक्त अस्पतालमा हालसम्म हड्डीसम्बन्धि नौ जनाको जटील शल्यकृया निशुल्क रुपमै भैसकेको छ । चित्रबहादुरलाई प्रत्यारोपण गरिएको जोर्नीले २० बर्षसम्म सजिलै काम गर्ने डा. दङ्गालले बताए । उनका अनुसार तिघ्रा र नलीखुट्टाका हड्डी भाच्चिएकाहरुलाई पनि अमेरिकी सहयोगमा प्राप्त साइनेलिङ रड निशुल्क रुपमा प्रत्यारोपण गरिने कार्य भैरहेको छ । उक्त रड प्रत्यारोपण मानिसका लागि जीवनभर कामयावी हुने उनले बताए ।

विरामीका लागि खान, वस्न, औषधि र उपचार निशुल्क हुने अस्पतालमा करिब दुईबर्षको बीचमा चारसय ४४ जनाले जटिल शल्यकृयासहितको निशुल्क उपचार पाइसकेका छन् । दैनिक करिब तीनसय जनाले जाँच गर्ने अस्पतालमा महिनाको करिब एकसय जनालाई निशुल्क सुत्केरी गराइदै आएको अस्पतालको तथ्याङकले देखाउछ ।

विरामीको सम्पूर्ण विवरणहरु सफ्टवेयवर प्रणालीमा रहने र त्यसैको आधारमा उपचारमा गरिने पद्दती अस्पतालमा छ । बेलाबेलामा विशेषज्ञ चिकित्सक आउने अस्पताललाई सरकारी, समुदाय र निजी स्वामित्वको अवधारणामा संचालन भैरहेको छ । संविधानको भावना अनुरुप जनतालाई निशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ वा सकिदैन भन्ने नमूनाको रुपमा सरकारले आछाम र दोलखामा यस किसिमको यस्तो किसिमको अस्पताले सञ्चालन गरेको हो । यस्तो नमूनाको उपचार प्रकृया १० बर्षसम्म सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।

अस्पताल सञ्चालन भएको दुई बर्षमा विरामीको चापको व्यवस्थापन गर्न नसकेको, रातको समयमा आकस्मिक सेवालाई चुस्तदुरुस्त गर्न नसकेको र केही विरामीको उपचारमा हेलचक्र्याइ भएको आरोप उक्त अस्पताललाई लाग्दै आएको छ । साथै, जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतका स्वास्थ्यकर्मीहरुको अदृष्य असहयोग र अरु व्यवासायमुखी स्वास्थ्य निकायहरुको हेर्ने दृष्टिकोण अस्पष्ट हुँदा उक्त अस्पतालले अप्ठेरो सहँदै आएको छ ।

प्रकाशित : पुस १, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?