कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता भन्छन्– ‘खाडी जानु नपरोस्’

विराटनगर — मुलुकले स्थायी सरकार पाउने भएपछि विराटनगरमा पुष्प अधिकारी निकै खुसी छन् । ‘कहिल्यै स्थायी सरकार देख्न पाइएन,’ सामान्य रोजगारी गरेर गुजारा चलाइरहेका उनले भने, ‘त्यसको सिकार म जस्ता शिक्षित बेरोजगारले भोग्नुपर्‍यो । अब स्थायी सरकार बन्दै छ ।

गुजारा चलाउन ऊर्जाशील युवा शैक्षिक प्रमाणपत्र टिनको बाकसमा राखेर खाडी जानुपर्ने समस्याको अन्त्य होस् भन्ने कामना छ ।’
काठमाडौंमा केन्द्रित अधिकार अब आफ्नै घरदैलोमा आएकामा विराटनगर ४ की गृहणी स्वस्तिका रेग्मी पनि दंग छिन् । ‘प्रदेश सरकारले लगानी र रोजगारीका अवसर सिर्जना गर्न सक्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्यजस्ता अति आवश्यकीय सेवा जनताको घरसम्म पुर्‍याउन सके मात्र संघीयताले सार्थकता पाउँछ ।’
अब बन्ने स्थायी सरकारले रोजगारीका लागि लाखौं युवा विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने युवा निश्चल पौडेलले बताए । ‘स्वदेशमै रोजगारीको अवसर प्राप्त भए धेरै युवाले विदेशी भूमिमा पसिना बगाइरहनु पर्दैनथ्यो,’ उनले भने, ‘यतिन्जेलको तरल राजनीतिक अवस्था र अनेक उतारचढावका कारण आर्थिक विकासको कुरा ओझेलमा पर्दै आएको छ । अब ती दिन अन्त्य हुनुपर्छ ।’
मुलुक नयाँ संरचनामा गएपछिका निर्वाचनबाट सबैमा आशाका किरण पलाएको उद्योगी नवलकिशोर कावरा बताउँछन् । ‘अब मुलुकमा राजनीतिक स्थायित्व कायम भएर विकासको पाटोमा केन्द्रीय सरकार, स्थानीय सरकार र सरोकारवालाको ध्यान जान्छ,’ उनले भने, ‘यतिन्जेलसम्म राजनीतिक अस्थिरताका कारण औद्योगिक क्षेत्रमा नकारात्मक असरको साँबा–ब्याज ५ वर्षमा निक्लिन्छ भन्ने 
आशा छ ।’ स्थायी सरकारलाई आर्थिक विकास गर्न धेरै सहज हुने उनले बताए । ‘अब स्थिरता अनि आर्थिक विकासमा मुलुकले फड्को मार्ने विश्वास सबैमा जागेको छ,’ कावराले भने, ‘औद्योगिक क्षेत्रमा नयाँ लगानी भित्रिने सम्भावना हुन्छ । भएका उद्योगहरूले राज्यको भरथेग पाउनेछन् । 

रोजगारीका अवसर प्रशस्त हुनेछन् ।’
सुनसरी–मोरङ औद्योगिक क्षेत्रको विकासलाई मद्दत पुग्ने गरी भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने कावराको भनाइ छ । संक्रमणकालीन अवस्थाबाट मुलुकले मुक्ति पाएको भन्दै सबै क्षेत्र उत्साहित भएका छन् । छोटो समयमै सरकार फेरिने र उसको नीति नियम पनि फरक हुँदा आर्थिक क्षेत्रलाई नकारात्मक असर पर्दै आएको थियो । स्थायित्व नहुँदा आर्थिकलगायत सबै क्षेत्र प्रभावित बनेका थिए । 
लामो समयपछिको चुनावले अब स्थायी सरकार बन्ने पक्का भए पनि सोचेजस्तो विकास हुने/नहुने भन्न नसकिने प्राध्यापक केशव पहाडी बताउँछन् । ‘२००७ यता बनेका कुनै सरकार पूरा आयु टिक्न सकेनन्, कामना छ यो सरकारले ५ वर्ष पूरा गरोस्,’ उनले भने, ‘जनमतको सम्मान गर्न अब विकास नगरी सुखै छैन तर पनि अहिले पूर्वानुमान गर्न सक्ने अवस्था छैन । दल र तिनका नेताको आचरण हेर्दा कामना मात्र गर्नु उचित जस्तो लाग्छ ।’ 

 

प्रकाशित : पुस २, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?