कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भक्तपुरमा प्रदेश राजधानी, पूर्वाधार पर्याप्त : टोली

भक्तपुर — प्रदेशको राजधानी स्थापनाका लागि प्राविधिक टोलीले भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । जिल्लामा प्रदेश ३ को राजधानी/केन्द्र बनाउन सरोकारवाला व्यक्तिहरूले प्रस्ताव गरिरहेको अवस्थामा सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय भक्तपुरको प्राविधिक टोलीले मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र सचिवालयका लागि भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको प्रतिवेदन पेस गरेको छ ।

प्रदेश राजधानीका लागि सानोठिमीस्थित शिक्षा विभाग र कृषि विकास बैंकको तालिम केन्द्रको प्रस्ताव आएपछि सहरी विकास मन्त्रालयले डिभिजन कार्यालयका इन्जिनियर उद्धव गुरागाईंसहितको टोलीलाई अध्ययन गर्न पठाएको थियो । 
प्राविधिकका अनुसार शिक्षा विभाग र तालिम केन्द्रमा तत्कालै मुख्यमन्त्री, मन्त्रालय र सचिवालयलगायत स्थापना गर्न सकिन्छ । ‘भौतिक संरचना हेर्दा मन्त्रालय र सचिवालय दुवै तत्कालै राख्न सकिन्छ,’ डिभिजन कार्यालय प्रमुख मिलन आचार्यले भने, ‘केन्द्रका लागि आवश्यक पूर्वाधार तयार छ ।’ टोलीले संरचना निर्माण, भौतिक सेवासुविधा (शौचालय, खानेपानी, पार्किङस्थल, सडक, बत्ती, सभाहल) लगायतको अध्ययन गरेको छ । टोलीका अनुसार विभागको भुइँतलामै ३० वटा सुविधासम्पन्न कोठा रहेको र साढे दुईतले भवनमा पर्याप्त कोठा, बैठक हल, क्यान्टिनको व्यवस्था छ । तालिम केन्द्रमा अत्याधुनिक सुविधायुक्त आवासलगायत ५ वटा ब्लकको व्यवस्था भएको इन्जिनियर संगीता बरालले बताइन् । केन्द्रमा एटयाच बाथरुमसहितको होस्टेल, क्यान्टिनको व्यवस्था छ । टोलीले सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिसस भक्तपुरलाई प्रतिवेदन पेस गरेको छ । प्रजिअ द्रोण पोखरेलले प्रदेशको केन्द्रका लागि संरचना तयार भएको र स्थायी नभए पनि अस्थायी रूपमा तत्कालै मन्त्रालय स्थापना गर्न सकिने पूर्वाधार तयार रहेको बताएका छन् । जिससले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको राजधानी बनाउन सकिने आधारसहितको प्रस्ताव पेस गरेको प्रमुख नवराज गेलालले बताए ।

 

प्रकाशित : पुस ३, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?