२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तेस्रो किस्ता पाउने शून्य

भूकम्पपीडित

काठमाडौं — भूकम्पपीडित लाभग्राहीको सूचीमा रहेका ३५ हजारभन्दा बढीले दोस्रो किस्ता नलिएको तथ्यांकले देखाएको छ । जिल्ला समन्वय समिति काठमाडौंको तथ्यांकअनुसार ३५ हजार १ सय ६२ जनाले अझै दोस्रो किस्ता पाइसकेका छैनन् ।


पहिलो किस्ता ३७ हजार ६ सय ५१ जनाले पाइसकेका छन् भने दोस्रो किस्ता पाउनेको संख्या जम्मा २ हजार ४ सय ८९ छ । यसैगरी तेस्रो किस्ता पाउने ५ सय पनि छैनन् । मंसिर २६ गतेसम्म जिल्लाका ११ वटै स्थानीय तहका ४ सय १२ जनाले मात्र तेस्रो किस्ता लिएका छन् ।
काठमाडौं महानगरपालिकामा तेस्रो किस्ता लिने ९१ जना मात्र छन् भने कीर्तिपुरमा ५३ जना लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । शंखरापुरमा २ जनाले मात्र तेस्रो किस्ता पाएका छन् जबकि कागेश्वरी मनोहरामा ४८ जनाले तेस्रो किस्ता पाएका छन् । गोकर्णेश्वर नगरपालिकामा भूकम्पले क्षति गरेको घरमध्येका ३९ ले तेस्रो किस्ताबापतको रकम प्राप्त गरिसकेको तथ्यांक छ । टोखाका १४ सय ८० लाभग्राहीले पहिलो र १ सय ७३ जनाले दोस्रो किस्ता पाइसकेका छन् तर तेस्रो किस्ता भने कसैले पनि पाएका छैनन् ।
तारकेश्वर नगरपालिकाअन्तर्गतका ४२ सय ७५ ले निर्माण अनुदानको पहिलो किस्ता लिएकोमा दोस्रो र तेस्रो किस्ता लिने क्रमश: २ सय २ र ५९ छन् । बुढानीलकण्ठ नगरपालिकामा ४७ जना भूकम्पपीडितले तेस्रो किस्ता बुझेका छन् । नागार्जुनमा ३९ सय ३७ ले पहिलो, २ सय १३ ले दोस्रो र १९ ले तेस्रो किस्ता पाइसके । चन्द्रागिरीमा ४३ सय ३७ ले पहिलो किस्ता पाएका छन् । १ सय ४७ जनाको दोस्रो र ५४ जनाको तेस्रो किस्ताबापतको रकम निकासा भइसकेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ । दक्षिणकालीमा ७७ जनाले दोस्रो किस्ता पाए भने तेस्रो किस्ता कसैले पाएका छैनन् ।
पहिलो किस्ता लिएर दोस्रो र तेस्रो किस्ता लिन आउनेको संख्या निकै कम रहेको नगरपालिकाका कर्मचारी बताउँछन् । चन्द्रागिरी नगरपालिकाका सूचना अधिकारी दीपककुमार उपाध्यायले दोस्रो किस्ता लिन आवश्यक कागजातको अभावमा लाभग्राही लिन नआउने गरेको बताए । उनले भने, ‘नापी नक्सा नहुँदा धेरै आएका छैनन् । भूकम्पले बढी क्षति घना, पुराना बस्तीमा भएको छ तर त्यहीँ कागजातको समस्या धेरै छ ।’ प्रदेश र प्रतिनिधिसभाको चुनावमा कर्मचारी खटिँदा पनि काममा प्रभाव परेको कर्मचारी बताउँछन् । जिससको एमआईएस विशेषज्ञ रामकृष्ण भेटुवालले चेकमा दस्तखत गर्ने, चेक लैजानेजस्ता कार्य हप्तादिन प्रभावित हुन पुगेको बताए । चुनावले लाभग्राही कार्यालयसम्म पुग्ने क्रम पनि न्यून भएकाले दोस्रो किस्ता पाउनेको
संख्या कम भएको नगरपालिकाले जनाएका छन् ।
कम जग्गामा बनेका पुराना घरको नक्सापासमा गर्न नमिल्ने भएकाले लाभग्राही भवन निर्माण अनुमति लिन पुगेका छैनन् । कीर्तिपुर नगरपालिका वडा नं ३ का भूकम्पपीडित कीर्तन प्रधान सरकारले दिएको ३ लाखभन्दा कैयौं गुणा बढी घर निर्माणमा खर्च भइसकेको बताए । भूकम्पले ३ तले पुरानो घर भत्काएपछि पिलर सिस्टममा ४ तले घर बनाउँदा उनको लाखौं खर्च भइसकेको छ । ‘सरकारले पहिलो किस्तामा दिने ५० हजारले १० बोरा सिमेन्ट मात्र आउँछ,’ उनले दोस्रो किस्ता लिन आउनेको संख्यामा कमी भएको बारे भने, ‘त्यसले पुरानो घर राम्ररी भत्काउनै पनि पुग्दैन ।’
पुराना कमै जग्गामा बनेका घर, जोडिएका घर भएको बस्तीमा नक्सापासका लागि छुट्टै मापदण्ड कायम गर्नुपर्ने देखिएको छ । नजिकै, जोडिएर बनेका घरमा एउटा घर भत्काउँदा अर्को पनि तानिने समस्या देखिएकाले पनि धेरैले घर भत्काउन सकेका छैनन् ।

प्रकाशित : पुस ३, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?