कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० वर्षपछि ‘कमब्याक’

मोटरबाटो र केबलकारले बदलियो चित्लाङ

चित्लाङ (मकवानपुर) — ऐतिहासिक एवं पर्यटकीयस्थल चित्लाङ अहिले फेरिएको छ । यहाँ केही वर्ष अघिसम्म भत्किएका र जीर्ण पाटी, पौवा र पुराना घरहरू मात्र देखिन्थ्यो ।


चित्लाङ त्रिभुवन राजपथ निर्माण नहुँदासम्म उपत्यका र तराई प्रवेश मुख्य नाका थियो । त्यो बेला मकवानपुरको चित्लाङ पैदलयात्रुले भरिभराउ हुन्थ्यो । त्रिभुवन राजपथ सञ्चालनपछि सुनसान बस्ती बनेको चित्लाङ अहिले ‘कमब्याक’ भएको छ । ‘पहिलेभन्दा विकसित ढंगले चित्लाङ ‘कमब्याक’ भएको छ,’ स्थानीय बासिन्दा तथा पर्यटन बोर्डका कार्यकारी निर्देशक मणिराज लामिछानेले भने, ‘विकासले ओझेलमा पारेको चित्लाङ ५ दशकपछि विकासको नयाँ स्वरूपले बदलिएको छ ।’
पुराना पाटी–पौवाहरू मर्मत गरिएका छन् । दर्जन बढी होमस्टे र रिसोर्टहरू सञ्चालनमा छन् । २ रिसोर्ट त निर्माणाधीन छन् । अत्याधुनिक होटल स्थापनाका लागि काठमाडौंका होटल सञ्चालकहरूले जमिन खरिद गरेका छन् । थाहा नगरपालिकाको ९ र १० नम्बर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटक आइरहेका छन् । ‘होमस्टे सधैं भरिभराउ हुन्छ,’ काजी होमस्टेका सञ्चालक रामकृष्ण बस्नेतले भने, ‘विगत १ वर्षदेखि होमस्टे खाली भएको छैन ।’ होमस्टेमा धेरै मानिस आएकाले केही सञ्चालकहरूले रिसोर्ट नै स्थापनाको तयारी थालेका छन् ।
‘केबलकार र सडक सुविधापछि चित्लाङको रूप बदलिएको हो,’ स्थानीय बुद्धरत्न मानन्धरले भने, ‘आन्तरिक एवं बाहय पर्यटकहरू आउन थालेपछि यहाँको जग्गाको मूल्य पनि ह्वात्तै बढेको छ ।’ २ वर्षअघिसम्म चित्लाङ बजार क्षेत्रमा १ लाख धुरमा जमिन खरिद–बिक्री भइरहेको थियो । अहिले धुरकै ३ देखि ५ लाख रुपैयाँसम्म किनबेच हुने गरेको छ । थानकोट–चन्द्रागिरिभञ्ज्याङ केबलकार सञ्चालनमा आएपछि जग्गाको भाउ आकासिएको स्थानीय बताउँछन् ।
यहाँ दैनिक २०/३० जना जग्गा खरिद गर्ने उद्देश्यले आउने–जाने पनि देख्न सकिन्छ । बाहिरबाट जग्गा खरिद गर्न आएकाले जमिनको भाउ बढेको छ । पाखाको १ रोपनी बारी अहिले ४० देखि ५० लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ । विगतमा मोटरबाटो नभएकाले पढ्न र रोजगारीका लागि थानकोट, कलंकी, मातातीर्थ र सीतापाइला बसेकाहरू अहिले गाउँमै बस्ने सुरले घर बनाउन थालेका छन् । थानकोट–चन्द्रागिरि–चित्लाङको सडकको स्तरोन्नति भएपछि चित्लाङबाट बढीमा ३० मिनेटमा थानकोट पुग्ने भएकाले राजधानीमा बस्नेहरू पनि फिर्ता हुने क्रम बढेको स्थानीय रामकृष्ण बलामी बताउँछन् ।
सडक स्तरोन्नति तीव्र रूपमा भइरहेको छ । होमस्टे सञ्चालक समिति अध्यक्ष ताराबहादुर बस्नेतले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका साथै प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक आउने क्रम बढेको बताए । विभिन्न भाषाभाषीको आफ्नै वेशभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई ३ वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।
अशोक सम्राट राजधानी प्रवेश गर्ने क्रममा उक्त गाउँमा निर्माण गरिएको अशोक चैत्यको अध्ययन अनुसन्धान र अवलोकनका लागि तिब्बत र श्रीलंकाका बौद्धमार्गीहरू आउने गरेका छन् ।
थानकोटबाट १२ किमि मात्र दूरी रहेकाले अधिकांश पर्यटक यहाँ हिँडेरै पनि आउने गर्छन् । नजिकै मानवनिर्मित इन्द्रसरोवरले पनि पर्यटक आकर्षित गरेको छ । ‘बाख्राको दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि यस क्षेत्रको महत्त्वलाई बढाएको छ,’ स्थानीय अशोकसिंह ठकुरीले भने ।

प्रकाशित : पुस ३, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?