३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

गाउँपालिका प्रमुख कृषिमा नमुना व्यक्ति

बझाङ — सिंहदरबारले प्रयोग गर्दै आएका कतिपय अधिकारसमेत पाएको भनिएको स्थानीय तहका प्रमुखको दैनिकी कस्तो होला ? धेरैजसोको उत्तर हुन्छ, ‘बिहानदेखि साँझसम्म भेटघाट, गोष्ठी, बैठकमा दौडधुप, योजना निर्माण अनुगमन आदि ।’

गाउँपालिका प्रमुख कृषिमा नमुना व्यक्ति

सम्भवत: यो दैनिकी धेरैजसो स्थानीय तहका प्रमुखसँग मेल खान्छ । बझाङको छान्ना गाउँपालिकाका प्रमुख बर्कबहादुर रोकायाको दैनिकी यतिमा मात्र सीमित छैन ।
उनी बिहान सबेरै उठ्छन । हरेक दिन ९ बजेसम्म आफ्नो बारीमा हुन्छन् । त्यसपछि खाना खाएर दिनभर गाउँपालिकाको काममा व्यस्त रहन्छन् । खनजोत गर्ने, मल बोक्ने, बिरुवा गोडमेल गर्ने, काँटछाट गर्ने खेतीपातीका काम उनको नियमित दैनिकीभित्र पर्छ । हुन त उनको गाउँपालिकाका अधिकांश मानिस कृषि पेसामै छन् । प्रमुख रोकाया र अरू कृषकको खेती गराइ फरक छ । उनी कृषिका माध्यमबाट गाउँपालिकाको समृद्धि हुन्छ भन्नेमा विश्वास गर्छन् । यसका लागि कृषिमा आधुनिकीकरण गर्ने उनको धोको छ । जुन आफैं गरेर देखाउन चाहन्छन् ।
कांग्रेसका तर्फबाट गाउँपालिका प्रमुखमा विजयी हुनुभन्दा अघि नै आधुनिक कृषिमा लागेका रोकाया भन्छन्, ‘हामीले बाजेबराजुका पालादेखि खेतिपाती गर्दै आएका हौं । तर पनि हाम्रो प्रगति हुन सकेन । रातदिन खेतमा घोटिएर काम गर्दा पनि आफैंलाई पाल्न नसक्ने अवस्थामा पुग्यौं । किनकि हामीले खेतीपाती नै गर्न जानेनौं ।’
‘धान र गहुँखेती नगर्ने हो भने के खाएर बाँच्नु ? भन्ने यहाँका कृषकको बुझाइ छ । अझै पनि व्यावसायिक खेती गरे आर्थिक रूपमा सबल भइन्छ भन्ने कुरामा स्थानीयलाई विश्वास छैन,’ रोकायाले भने, ‘कुन माटोमा कस्तो खेती फस्टाउँछ ? व्यावसायिक खेतीले कसरी आर्थिक समृद्धि सम्भव छ ? भन्ने कुरा गरेरै देखाउन यसो गरेको हुँ ।’
उनको बारीमा ५ सयभन्दा बढी ओखरका बोट छन् । खरबारीमा २ हजार बोट कागती लगाएका छन् । खोला किनारको जग्गामा २ सय बोट केरा छन् । खोलाको प्रवाह पनि रोक्ने र गाईबस्तुलाई पोसिलो घाँस नेपियर लहरै लगाएका छन् । अनार, सुन्तला, अमिलोजस्ता फलफूल मौसमअनुसार बारीभरि लटरम्म फल्छन् । फलफूल खेतीको तल अदुवा, बेसारजस्ता मसलाबाली लगाएको छ । घर वरिपरि लगाएको मौसमअनुसारका तरकारीले उनलाई खान पुगेर राम्रै आम्दानी दिएको छ । ‘लेकतिर २ हजार बोट जति स्याउ पनि लगाएको छु,’ रोकायाले भने, ‘चुनावमा भएको खर्च सबै यही खेतीबाट जुटाएको हुँ । वर्षमा ३/४ लाख सजिलै आम्दानी हुने गरेको छ ।’ उनले आधुनिक प्रविधिमा आधारित प्लास्टिक घरमा पनि विभिन्न जातका तरकारी फलाउने गरेका छन् । 
व्यावसायिक खेतीमा उनको सफलता देखेर गाउँभरका मानिस यसतर्फ आकर्षित भएको उनका छिमेकी राजेन्द्र रोकायाले बताए । ‘पहिला धान, गहुँ नरोपे के खाने भन्ने पनि अब तरकारी र फलफूल लगाउन थालेका छन्,’ उनले भने, ‘राम्रो मेहनत गर्ने हो भने धान, गहुँभन्दा दसांै गुणा फाइदा लिन सकिँदो रहेछ भन्ने कुरा विस्तारै बुझ्न थालेका छौं ।’ गाउँपालिकाले आफ्नो कार्यक्रम तथा बजेटमा पनि कृषिलाई प्रमुख प्राथमिकता राखेर १ करोडभन्दा बढी छुट्याएको छ । ‘कृषिमा राम्रो मेहनत गर्ने किसानलाई छानेर आधुनिक प्रविधि, उन्नत बीउविजन र सीप विकासमा यो रकम खर्च गरिने छ,’ रोकायाले भने । 

 

प्रकाशित : पुस ३, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?