कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दानबाटै ८ करोडको मन्दिर

विमल खतिवडा

देवघाट (तनहुँ) — पहिलो पटक पवित्र धार्मिकस्थल देवघाट पुग्ने भक्तजन यहाँ मन्दिरै मन्दिर होलान् भन्ने कल्पना गर्छन् । साना मठमन्दिर मात्र देख्दा आश्चर्यमा पर्छन् । गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले यो कुरा थाहा पाए । उनलाई भव्य मन्दिर बनाउने हुटहुटी जाग्यो ।

दानबाटै ८ करोडको मन्दिर


१३ वर्षअघि देवघाट गाउँपालिका–५ मा उनले ठूलो मन्दिर बनाउने योजना बनाए । रकमको भने अभाव थियो । सबैलाई योजना सुनाए । देशविदेशका भक्तजनले सहयोग गरे । ठूलो र भव्य मन्दिरको सपना पूरा हुँदै छ । ‘भक्तजनको भीडबाट ठूलो मन्दिरमा दर्शन गर्नुपर्छ भन्ने आवाज सुनें,’ उनले भने, ‘५ वर्षअघि निर्माण सुरु भयो र अब फागुनबाट सञ्चालनमा आउँदै छ ।’
उनी भक्तजनको सहयोगबाट मन्दिर निर्माण थालेको बताउँछन् । ‘हातमा पैसा थिएन,’ उनले भने, ‘जति काम भएको छ, सबै उहाँहरूकै सहयोगबाट सम्भव भयो ।’ सुरुमा इन्जिनियरले ४ करोड खर्च लाग्ने इस्टिमेट निकाले तर त्यतिले नपुग्ने भयो ।
आश्रम स्वामी गिरीका अनुसार निर्माण पूरा हुँदासम्म ८ करोडभन्दा बढी खर्च लाग्नेछ । निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘यो मन्दिर पशुपति मन्दिरभन्दा ठूलो र अग्लो छ,’ उनले भने, ‘प्यागोडा शैलीमा निर्मित मन्दिर सञ्चालनमा आएपछि धार्मिक पर्यटनमा ठूलो टेवा पुग्नेछ ।’ गलेश्वर आश्रमको नियन्त्रणमा २ सय ६२ रोपनी जग्गा छ । ३ सय कुटिया छन् ।
‘मन्दिर बनाउने ठाउँमा २५ वटा कुटिया थिए,’ उनले भने, ‘तिनलाई अन्यत्र स्थानान्तरण गर्दै मन्दिर निर्माणको काम थालेका हौं ।’ गलेश्वर आश्रमका संस्थापक ईश्वरानन्द ब्रह्मचारी हुन्, जसलाई गलेश्वर बाबाका रूपमा चिन्ने गरिन्छ । उनकै पहलमा २०२३ मा धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले वेदवेदांग संस्कृत विद्यालयको स्थापना गरियो, जहाँ करिब ८५ जना विद्यार्थी अध्ययनरत छन् ।
‘वेदवेदांग विद्याललयको स्तरोन्नति गरेर स्नातकोत्तर तहसम्म पठनपाठनको व्यवस्था मिलाउनु छ,’ उनले भने, ‘त्यसैले विद्यालयको स्तरोन्नतिका लागि समेत भनेर गलेश्वर आश्रम देवघाटधाम विराट धनधान्याञ्चल महायज्ञ लगाउने तयारीमा छौं ।’
उनका अनुसार महायज्ञ माघ २१ गतेदेखि फागुन २ गतेसम्म हुनेछ । गलेश्वर आश्रममा दैनिक ३ सय जनालाई भोजन तयार हुन्छ । आश्रममा आउनेले नि:शुल्क खान र बस्न पाउँछन् । सहयोग गर्न करकाप हुँदैन ।
आफ्नो इच्छाले जति सक्छन्, त्यति सहयोग गर्छन् । निर्माणाधीन मन्दिरमा नर्मदेश्वर शिवलिंग राखिनेछ । मन्दिर छेउमा शिवको मूर्ति बनाएर १ सय ८ शिवलिंग राख्ने गरी निर्माण जारी छ ।
त्यस्तै, मन्दिरको वरिपरि ८ वटा ठूला घण्ट राखिनेछ । मन्दिर बनाउन सहयोग गर्ने दाताको नाम शिलालेखका रूपमा मन्दिर हाताभित्र लेखिनेछ । ‘सरकारबाट केही सहयोग पाइएको छैन,’ उनले भने, ‘नेपालका काठमाडौं, पोखरा, विराटनगरलगायत ठाउँबाट प्राप्त सहयोगले मन्दिर बनिरहेको छ ।’ उनले भौगोलिक रूपले देवघाटमा ठूलो मन्दिर नभएको र यो मन्दिर बनेपछि सबैको केन्द्रविन्दु बन्ने बताए । त्यस्तै साढे ३ करोड लागतमा धर्मशालासमेत निर्माण भइरहेको छ । मन्दिर र धर्मशाला एकैचोटि सञ्चालनमा आउनेछन् ।


१० लाखले हेरे शाश्वतधाम
नवलपरासी– दुम्कौलीमा निर्मित शाश्वतधाम १० लाखले अवलोकन गरेका छन् । नौ महिना अवधिमा यति धेरैले अवलोकन गरेका हुन् । मन्दिरै मन्दिर भएको शाश्वतधाम निर्माण गर्न पाँच दर्जन भारतीय कारिगरलाई १४ वर्ष लागेको थियो ।

प्रकाशित : पुस ३, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?