२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पाठ नसकी परीक्षा तयारी

हरि गौतम

रुकुम (पश्चिम) — दोस्रो त्रैमासिक परीक्षाको तयारीमा रहेका जिल्लाका अधिकांश विद्यालयले त्यसअनुसार पाठ्यक्रम पूरा गरेका छैनन् । कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पढाइसक्नुपर्नेमा अहिलेसम्म ३० प्रतिशत पनि सकेका छैनन् । यस्तैमा उनीहरू चाँडोभन्दा चाँडो परीक्षा सकेर जाडो बिदा दिने योजनामा छन् ।

हालै मुसीकोट नगरपालिकाले थालेको अनुगमनमा नगरभित्रकै विद्यालयले पाठ्यक्रम पालनामा चरम लापरबाही गरेको पाइयो । नगरभित्रका ५५ सामुदायिक विद्यालयमध्ये चारवटामा अनुगमन सकिँदा कुनैले पनि पाठ्यक्रमअनुसार पढाएको भेटिएन । नगरपालिकाका शिक्षा एकाइ संयोजक विनाराम खडाले पाठ्यक्रमअनुसार हालसम्म ७० प्रतिशत आसपास पढाइ भइसक्नुपर्नेमा अधिकांशले ३० प्रतिशत मात्रै सकेको बताए । ‘हामी स्याम्पलिङ अनुगमन गरिरहेका छौं, हालसम्म सन्तोषजनक अवस्था पाइएन,’ उनले भने, ‘अधिकांश विद्यालयमा तोकिएअनुसार पढाइ भएको छैन ।’ 
शिक्षक, अभिभावक र स्थानीय समुदायको लापरबाही, धेरै सार्वजनिक बिदा, दरबन्दी अभाव, विद्यार्थीको सिक्ने चासो कम हुनुका कारण तोकिएअनुसार पठनपाठन नभएको निष्कर्ष शिक्षा एकाइले निकालेको छ । ‘सरकारी विद्यालय भनेर होला, लापरबाहीसँगै अन्य समस्या पनि देखिएका छन्, यसलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे अनुगमनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछौं,’ 
खड्काले भने । अनुगमनमा कति शिक्षण भएको छ, कसरी भइरहेको छ, विद्यार्थीले कति सिकेका छन् जस्ता पक्ष हेर्ने गरिएको छ । 
‘विद्यार्थीको सिकाइ गुणस्तर निकै कमजोर देखियो,’ खडाले भने, ‘विद्यार्थीको सिकाइ कक्षा र तहअनुसार कतै पाइएन ।’ कक्षा तथा तहअनुसार पाठ्यक्रममा नै विद्यार्थीले के–के सिक्छन् भन्ने उल्लेख गरिएको हुन्छ । 
हालसम्म मुसीकोट नगरपालिका–७ को जनजागृति मावि साँख, मुसीकोट नगरपालिका–२ को महाकाली मावि समीबोट सिस्नेखोला, मुसीकोट नगरपालिका–१ को त्रिभुवन जनता मावि खलंगा र मुसीकोट नगरपालिका–५ को यमुनानन्द नमुना मावि सेरीगाउँको अनुगमन गरिएको छ । नगरभित्रका अन्य सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन जारी छ । अनुगमनमा नगरपालिकाका शिक्षा एकाइ संयोजक, स्रोत व्यक्ति तथा सम्बन्धित वडाका जनप्रतिनिधिको सहभागिता छ । ‘यसअघिका अनुगमन भौतिक पूर्वाधार र दरबन्दीलगायतमा मात्रै हुन्थ्यो, यसपटक साना तर महत्त्वपूर्ण कुरा समेटिएको पायौं,’ मुसीकोट नगरपालिका–२ का ऐभान खड्काले भने, ‘यसखाले अनुगमनले शिक्षक, विद्यार्थी र स्थानीय समुदायलाई सकारात्मक सन्देश दिन्छ ।’ 

प्रकाशित : पुस ३, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?