३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘अब समृद्धि र स्थिरता’

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख रहेकाले छिमेकी तथा मित्र मुलुकहरू पनि खुसी हुनुपर्ने बताएका छन् ।

 ‘अब समृद्धि र स्थिरता’

‘बिमस्टेकका आगामी स्पष्ट प्रक्षेपण’ बारे परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा सोमबार आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै मुलुक स्थायित्व र समृद्धिको दिशामा अघि बढ्न लागेको बताए । 

‘मुलुकको परराष्ट्र नीति परिवर्तन र निरन्तरतालाई सम्भावित मोड दिँदै राष्ट्रिय हितको रक्षा गर्नेतर्फ उन्मुख हुनुपर्छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध मुलुकले तय गरेको सिद्धान्तमा आधारित हुने भएकाले यसको कार्यान्वयनमा सबै जुट्नुपर्ने औंल्याउँदै उनले भने । बिमस्टेकमा यस क्षेत्र र पूर्वी एसियाली मुलुकसमेत रहेकाले यसलाई आसियान र सार्क मुलुकको पुलका रूपमा उपयोग गर्नुपर्ने नेता नेपालले औंल्याए । 

सात सदस्य रहेको बिमस्टेकले विभिन्न १३ फरक क्षेत्रमा काम गरिरहेको भन्दै उनले उद्देश्यअनुरूप भने अघि बढ्न नसकेको धारणा राखे । बिमस्टेकसँग सार्कका धेरै विषय जोडिए पनि उद्देश्य फरक रहेको उनको भनाइ छ । आफूले पूर्वप्रधानमन्त्री क्लबको अवधारणा अघि बढाएको समेत कार्यक्रममा उनले जानकारी दिए । असल शासन, अर्थ कूटनीति, जलवायु परिवर्तन, परराष्ट्र नीति, महिला हिंसाविरुद्ध चेतना, छुवाछूतको अन्त्य र सामाजिक परिवर्तनका लागि पूर्वप्रधानमन्त्री क्लबले बिमस्टेकसँग सहकार्यमा अघि बढ्ने सोच बनाएको उनले बताए । सरकारले आईएफएलाई थप मजबुत बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । 

आईएफएका कार्यकारी निर्देशक प्राध्यापक पन्नाकाजी अमात्यले बिमस्टेक गठन हुँदा र अहिलेको परिस्थिति बदलिएकाले यसलाई ध्यान दिएर अघि बढे यसले सार्क र आसियान जोड्ने महत्त्वपूर्ण संस्थाको भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री मधुकरशमशेर जबरा र पूर्वराजदूत मधुरमण आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । जबराको कार्यपत्र आईएफएका पूर्वबोर्ड सदस्य खड्ग केसीले प्रस्तुत गरेका थिए । डा. शंकर शर्मा, डा. मदन दाहाल र पूर्वराजदूत प्रद्युम्नविक्रम शाहले कार्यपत्रमाथि धारणा राखेका थिए । कार्यक्रममा पूर्वराजदूत, परराष्ट्र अधिकारी, कर्मचारी र प्राध्यापकहरूको सहभागिता थियो ।

प्रकाशित : पुस ४, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?