कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुल्दैछ पूर्वको ढोका

रुकुमपूर्वको अझै पूर्व र पूर्वउत्तर क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन्
हरि गौतम

रुकुम (पश्चिम) — लामो समयदेखि निर्माणमा सुस्त सोलावाङ–राउखेत–बालुवा–नायगाड पुल–जामाबगर–त्रिवेणी–हुकाम–रन्मामैकोट सडकले अब गति लिने भएको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको सोलावाङदेखि पूर्वको सिस्ने गाउँपालिका धाउनेसम्मको सडक २०६७ सालमै सम्पन्न भए पनि त्यसपूर्वको सडकले गति लिन सकेको थिएन । धाउनेभन्दा केही किलोमिटरमा रहेको भूमे गाउँपालिकाको बालुवा बजारमा ०६८ मा पहिलोपटक गाडी पुगेको हो । त्यसपछि मात्रै ५ वर्षको अन्तरालामा बालुवादेखि माथि सडक निर्माण सुरु भएको थियो ।
अबको केही वर्षमै उक्त सडकले पूर्णता पाउने भएको छ । रुकुमपूर्वको अझै पूर्व र पूर्वउत्तर क्षेत्रका बासिन्दा लाभान्वित हुने उक्त सडकमध्ये ८ किमि निर्माण अन्तिम चरणमा छ ।

ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना लगानीमा सुरु भएको बालुवा–देउखोला खण्डको ७ किमि सडक निर्माण सम्पन्न भएको छ । सोलावाङ–राउखेत–बालुवा–नायगाड पुल–जामाबगर–त्रिवेणी–हुकाम–रन्मामैकोट सडकअन्तर्गत ८ किमि लम्बाइ रहेको उक्त खण्डको ७ किमि ३ वर्षको अवधिमा निर्माण सकिएको हो ।

रुकुमपूर्वको भूमेको बालुवादेखि–पुथाउत्तरगंगा गाउँपालिकासम्म उक्त सडक निर्माण भएको हो । उक्त सडक ०७२ को हिउँदबाट काम थालिएको थियो ।

ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाले निर्माण गरिरहेको उक्त आयोजना १२ करोड ९६ लाख ९२ हजार ६ सय रुपैयाँ लगानीमा बनिरहेको हो । ६ मिटर चौडाइ र ग्रावेलसहित उक्त सडक बन्दै छ ।

७ किमि बनिसकेको र अब १ किमि पनि छिटै पूरा हुने जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिमले जनाएको छ । निमित्ति प्रमुख जिल्ला इन्जिनियर पहलबहादुर पुनले ठेकेदार कम्पनीले तीव्र रूपमा काम गरिरहेकाले अबको केही समयमै उक्त खण्डको ८ किमि निर्माण सकिने बताए । उक्त सडक कन्काई–शैलुङ जेभी ललितपुरले ठेक्का लिएको छ ।

उक्त सडकले सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडाका सिस्ने, प्वाङ, पुथाउत्तरगंगाका जाङ, राङसी, कोल, हुकाम र रन्मामैकोट जोड्नेछ । उक्त क्षेत्रमा यसअघि सडक निर्माण नभएकाले पनि महत्त्वपूर्ण मानिएको छ । सोलावाङदेखि बालुवासम्मको सडक यसअघि नै निर्माण भए पनि त्योभन्दा माथिको सडक भने लामो समयदेखि सुरु हुन सकेको थिएन ।

रुकुमपूर्वका पूर्व तथा पूर्वउत्तरका ठाउँलाई सदरमुकाम रुकुमकोट, रुकुम पश्चिम सदरकुकाम खलंगा तथा दाङ, काठमाडौं जोड््न उक्त सडक महत्त्वपूर्ण हो । भूमे गाउँपालिकाको बालुवादेखि पुथाउत्तरगंगाको त्रिवेणीसम्म २० किमि लम्बाइ छ । जसमध्ये ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाले ८ किमि सडक बनाएपछि १२ किमि बन्न बाँकी रहने इन्जिनियर पुनले बताए ।
बालुवादेखि त्रिवेणीसम्मको २० मध्ये ८ किमि ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाले निर्माण गरेपछि बाँकी १२ किलोमिटर सडक पनि लगत्तै बन्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलीडारको आरसीआइपी आयोजनाले उक्त सडकको बाँकी सडक बनाउने भएको हो । त्यसका लागि डोलीडारले ठेक्कासमेत आहान गरिसकेको छ ।
सडक निर्माणको सम्झौतापछि ५ वर्षमा काम सक्ने गरी उक्त सडक निर्माण हुने जनाइएको छ । त्रिवेणीदेखि माथि सहिद मार्ग सडक आयोजनाले सडक निर्माणको काम गरिरहेकाले रुकुमपूर्वका पूर्वी भेग सडक सञ्जालमा जोडिनेछन् ।

उक्त सडक बनेपछि विशेषगरी रन्मामैकोट, हुकाम, राङसी, कोललगायत पुग्ने बाटो झण्डै दोब्बर घट्छ । ‘यो पूर्वको ढोका हो,’ त्यस क्षेत्रबाट निर्वाचिन सांसदले भने, ‘त्रिवेणीसम्मको सडक सम्पन्न हुनेबित्तिकै पूर्वका अधिकांशलाई सजिलो, छिटो र सहज हुन्छ ।’ उक्त सडक बालुवादेखि धाउने हुँदै रुकुमकोट पुगेर मध्यपहाडी लोकमार्गमा मिसिन्छ ।

प्रकाशित : पुस ४, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?