कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पर्यटक आकर्षित गर्दै चिमडी बर्जुताल

पोखराको फेवा र भारतको नैनी तालजस्तै चर्चित गराउने अभियान 
देवनारायण साह

मोरङ — सुनसरीको बर्जु गाउँपालिका ६ स्थित ‘चिमडी बर्जु ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । पौराणिक, धार्मिक र ऐतिहासिक महत्त्वका साथै जैविक विविधतायुक्त तालको संरक्षण र विकासमा स्थानीय जुटेपछि पर्यटक दैनिक बढ्न थालेका छन् ।

पर्यटक आकर्षित गर्दै चिमडी बर्जुताल

६२ बिघा जलाशययुक्त तालमा वनभोज मनाउन अनि ताल हेर्नकै लागि भारतको विहारदेखि पूर्वका जिल्लाबाट आउने गरेको चिमडी बर्जुताल सिमसार विकास संरक्षण समिति अध्यक्ष बालिम चौधरीले बताए । ‘कोसीटप्पुमा आउने चरा यहाँ पनि देख्न पाइने भएकाले विद्यार्थीहरू अध्ययनका लागि आउन थालेका छन्,’ उनले भने, ‘यसलाई पोखराको फेवा ताल र भारतको नैनी तालजस्तो प्रख्यात बनाउने अभियानमा हामी लागिपरेका छौं ।’

ताल तथा वरिपरि रहेको सिमसार क्षेत्रमा विभिन्न किसिमका जलचर, थलजर जीवलगायत अनेक किसिमका चरा र वनस्पति रहेकाले विद्यार्थी तथा शोधकर्ताका लागि अध्ययनको केन्द्र बन्दै गएको उनी भन्छन् ।

यो ताल महाभारतमा उल्लेख भएको राजा विराटनको गौशालाका गाई चर्ने चरण क्षेत्र भएको पौराणिक मान्यता रहेको उनले बताए । ‘चरण शब्द नै अपभ्रंश हुँदै चिमडी भएको हो,’ उनले भने, ‘पाण्डवहरू गुप्तवास बसिरहेको समयमा यसै क्षेत्रबाट राजा विराटको गाई दुर्योधनले अपहरण गरेर लग्ने क्रममा नजिकैको हरिनगरास्थित धेना सखुवाको रूखमा लुकाएर राखेको गाण्डबी धनुषलगायत अस्त्रशस्त्र निकालेर अर्जुनले युद्ध गरी परास्त गरेको पौराणिक किंवदन्ती छ ।’

पहिले ३ सय ५० बिघा क्षेत्रफलमा फैलिएको चिमडी बर्जुताल पञ्चायतकालमा जमिनदारले अतिक्रमण गरेर नापनक्सा गराएको उनी भन्छन् । अहिले तालको क्षेत्रफल १ सय ५२ बिघा आफूहरूले संरक्षण गरेर व्यवस्थित गरेको अध्यक्षले बताए । उनले ताल क्षेत्रको वरिपरि स्थानीय बर्जु चौधरीको जग्गा रहेकाले उनकै नामबाट तालको नाम ‘बर्जु’ रहन गएको उनले सुनाए ।

तालको विकासका लागि अहिले प्रवेश शुल्क लगाएर केही व्यवस्थित गरिएको र यस ताललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आफूहरूको उद्देश्य भएको उनी भन्छन् । ‘तालको संरक्षण र विकास गरी पूर्ण व्यवस्थित गर्न समय लाग्छ,’ उनले भने, ‘अहिले तालको १ सय ५२ बिघा जग्गा संरक्षण गरी ६२ बिघामा जलाशय र केही संरचना बनाइएको छ ।’

उनले यो तालमा जमिनमुनिबाट पानी उम्रिने गरेकाले किसानले सिँचाइ सुविधासमेत पाएको हुँदा यसको संरक्षण र विकासमा सबैले सघाइरहेको सुनाए । बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले तला विकास संरक्षण समितिसँग सोमबार बैठक बसेर नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्न ठोस निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको बताए ।

‘अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थल निर्माणका लागि यस वर्ष डीपीआर तयार गर्ने गाउँपालिकाको योजना छ,’ उनले भने, ‘ताल परिसरमा यस वर्ष चिल्ड्रेन पार्क निर्माणका लागि विनियोजन गरेको ९ लाख बजेटले डीपीआर तयार गर्ने र आउँदो वर्षदेखि प्राथमिकताका साथ योजनाबद्ध विकासमा जुट्ने हाम्रो तयारी छ ।’ संरक्षण समितिले अहिलेसम्म माछापालनका लागि समेत टेन्डर नगरेकाले यसलाई व्यवस्थित गरेर शुल्क लगाउने तयारी आफ्नो रहेको उनले सुनाए । ६४ बिघा जलाशय तालको माछापालनबाट र पर्यटकसँग केही सहयोग शुल्कको व्यवस्थापनबाट हुने आम्दानीले पनि विकासमा मद्दत पुग्ने उनको भनाइ छ ।

गत वर्ष वैशाखमा तालको नम्बर १ राष्ट्र विकास गण बेलसोत, उदयपुरले निर्माण पूरा गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । राष्ट्रपति चुरे तराई मधेस विकास समितिको ३ करोड ६६ लाख लागतमा सेनाले ताल निर्माण सम्पन्न गरेको छ ।

तालको चारैतिर बाटो, ४ वटा पिक्निक स्थल, ३ वटा शौचालय, छातासहितको ६० वटा बस्ने ठाउँ, तालको मध्यमा मन्दिर र चरा बस्न आइसल्यान्ड बनाइएको छ । यस्तै १५ वटा प्लास्टिक बोट, वृक्षरोपणलगायत निर्माणका काम भएका छन् ।

प्रकाशित : पुस १०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?