१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आर्क ब्रिज निर्माण रोकियो

काठमाडौँ — नेपालमै पहिलोपटक निर्माण हुन लागेको नेटवर्क आर्क ब्रिजमध्ये तीनकुनेको पुलको काम रोकिएको छ । झन्डै ४ महिनादेखि दुवैतर्फको पुलको काम ठप्प रहेको छ ।

आर्क ब्रिज निर्माण रोकियो

उक्त पुलको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले लगभग २० प्रतिशत काम सकिएको जनाएको छ । कन्स्ट्रक्सनका इन्जिनियर सन्तोष साहले भने, ‘एकातिरको पुलमा ढलको व्यवस्थापन नभएकाले काम हुन सकेको छैन । अर्कोपट्टिको पुल निर्माण पानीको पाइप व्यवस्थापन गर्न नसक्दा रोकिएको हो ।’ तर फाउन्डेसनको काम समाप्त भइसकेको उनी बताउँछन् ।

तीनकुनेको वाग्मती खोलामा बनाउन लागिएको यो पुलको लागत २१ करोड १३ लाख रुपैयाँ छ । दुवैतिर ८५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पुल निर्माणपछि सडक साबिकभन्दा २४ मिटर फराकिलो हुनेछ । पर्यटकीय आकर्षण र ट्राफिक व्यवस्थापनको उद्देश्यले निर्माण थालिए पनि अहिले अलपत्र परेको छ ।

यद्यपि २०७५ पुससम्म निर्माण अवधि रहेकाले समयमै सम्पन्न हुने ठेकेदार कम्पनीको दाबी छ । तीनकुने र बबरमहलको धोबीखोलाको दुईतिर गरी ४ वटा यस्ता पुल निर्माण हुनेछन् । धोबीखोलाको पुलको काम ५० प्रतिशत समाप्त भएको निर्माण कम्पनीको दाबी छ ।

त्यहाँ सुपरस्ट्रक्चरको काम भइरहेको र यस आवको अन्त्यसम्ममा सवारी चलाउन मिल्ने गरी काम भइरहेको ठेकेदार जेई कन्स्ट्रक्सनका वरिष्ठ आयोजना व्यवस्थापक राधाकृष्ण देवले बताए । ‘दक्षिणतिरको पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ देवले थपे, ‘४/५ महिनाभित्रमा सम्पन्न भइसक्छ । विदेशबाट सामग्री आयात गर्नुपर्ने भएकाले सम्झौताभन्दा केही ढिला काम भएको हो ।’

पुलको अर्कोतिर भने जग्गा नपुगेकाले री–डिजाइन भइरहेको छ । यो पुलको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त पुल निर्माण गर्न लागेको हो । आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठले बताए । ‘डिजाइनमै डेढ वर्ष लागेकाले केही ढिला भएको हो,’ श्रेष्ठले भने, ‘धोबीखोलाको निर्माण जेठसम्ममा सम्पन्न गर्ने लक्ष्यसाथ काम

भइरहेको छ ।’

प्रकाशित : पुस १०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?