१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘डाक्टर्नी’ अकमायाको दुर्गममा सेवा

प्रताप विष्ट

हेटौंडा — उनको बास घरमा विरलैमात्र हुन्छ । रातबिहान उनको फुर्सद हँुदैन । यसरी खटेर उनले गाउँका दर्जनांै बालबालिका र महिलालाई बचाएकी छन् । बालबालिका र महिलालाई अकालमा मर्नबाट बचाउने अकमाया थिङ हुन् ।

‘डाक्टर्नी’ अकमायाको दुर्गममा सेवा

गाउँमा डाक्टरनी भनेर चिनिने थिङ मकवानपुरको अत्यन्त विकट राक्सिराङ गाउँपालिकाअन्तर्गत साविकको खैराङ गाविसस्थित उपस्वास्थ्य चौकीकी अनमी हुन् । पदले अनमी भए पनि उपस्वास्थ्य

चौकीको ढोका खोल्ने र लगाउने पियनदेखि अहेवसम्मको काम उनी नै गर्छिन् । विगतमा अहेवहरू स्वास्थ्य चौकीमा बस्दैनथे ।

एक वर्षदेखि अहेव स्वास्थ्य चौकीमा उपस्थित हुन थालेकाले उनलाई अलि सजिलो भएको छ ।

स्वास्थ्य चौकीमा आएका बिरामीलाई स्वास्थ्य परीक्षण गरेर औषधि दिने र घरघरमा पुगेर उनले स्वास्थ्य सेवा दिने गरेकी छन् राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘पदले अनमी भए पनि गाउँको डाक्टरनी हुन् ।’ मासिकाबाट उनी अनमीमा बढुवा भएकी हुन् ।

राक्सिराङ गाउँपालिका ९ गर्जुराङकी ४६ वर्षीया थिङ गाउँका गर्भवती महिला, बालबालिका र बिरामीहरूको एकमात्र सहारा भएकी छन् । अशिक्षा र गरिबीका कारण धामीझाँक्रीमा विश्वास गर्ने स्थानीयवासीलाई आफ्नो विश्वासमा लिएर औषपिधउपचार गराएर गाउँलेहरूलाई अकालमा मर्नबाट बचाएकी छन् । वडासचिव राजकुमार गोतामेले भने, ‘खैराङका घरघरमा पुगेर उनले उपचार गरेकी छन् ।’

बिरामीलाई स्वास्थ्य चौकीमा ल्याउन घण्टांै लाग्ने स्थानमा उनी आफंै पुगेर उपचार गर्न पुग्छिन् । धामीझाँक्री लगाएर उपचार गरिरहेको जानकारी पाउने वित्तिक्कै उनी आफैं नै त्यो घरमा पुग्छिन् । स्वास्थ्य चौकी नजिक हुनेहरूले चौकीमा नै बिरामी ल्याउने गर्छन् । टाढा घर भएका कारण बोकेर ल्याउन समस्या हुनेहरूले उनलाई घरमा नै लिन जान्छन् । ‘घरमा एकछिन बस्न पाइँदैन,’ थिङले हास्दै भनिन्, ‘गाउँका कुनाकुनाबाट घरमा लिन आउँछन् जान परिगो, नगए ढयांग्रो ठोकेर उपचार गर्न थाल्छन् के गर्ने ? उपचारका निम्ति घरघरमा जाँदा उनले पैसा लिन्नन् । उनले बोक्ने झोलामा स्वास्थ्य चौकीमा आएको औषपधि हुन्छ,त्यही नै उपलब्ध गराउँछिन् । निमोनिया भएका बालबालिका र सुत्केरी व्यथा लागेका महिलालाई ढ्यांग्रो ठोकेर उपचार गराइरहेको घरमा पुगेर झाक्रीको ढ्यांग्रो फालेर औषधि सेवन गराएर बचाइउँछिन् ।

अहेव नभएको अवस्थामा गाउँमा गयो स्वास्थ्य चौकी बन्द हुन्छ, स्वास्थ्य चौकीमा बस्यो गाउँका बिरामीहरू उपचार नपाएर छटपटिइरहेका हुन्छन् थिङले भनिन् । गाउँका बिरामीको औषधि उपचार गर्ने व्यस्तताले उनले विवाह गर्न भ्याएकी छैनन् । विवाह गर्ने सोच पनि उनले त्यागिसकेकी छन् । मासिकाको तालिममा पठाउँदा उनलाई गाविसका तत्कालीन सचिवले अन्यत्र विवाह गरेर नजाने सर्तमा तालिममा पठाएका थिए । तालिम लिएर आएपछि उनले गाउँमा स्वास्थ्य सेवा दिन थालेकी हुन् अहिलेसम्म त्यो निरन्तरता छ ।

‘पहिला गाउँमा विवाह गर्न केटा पाइएन, अन्यत्र विवाह गरेर जान तत्कालीन गाविसले रोक लगाएको थियो,’ अकमायाले लजाउँदै भनिन्, अब विवाह गर्न मन छैन । चेपाङ समुदायको बाहुल्य रहेको उक्त गाविसकी यी महिला गाउँलाई अन्धविश्वास र रुढिवादी चिन्तनवाट मुक्त गर्न सफल हुँदैछिन् ।

गर्भवती महिला र बिरामीहरू अहिले स्वास्थ्य चौकी आउन थालेका छन् । २०५१ सालदेखि उपस्वास्थ्य चौकीमा मासिका पदमा उनी काम गर्दै आएकी थिइन् ।

सरकारले मासिका पद खारेज गरेर मासिकाहरूलाई अनमीमा बढुवा गरेकाले उनी अनमी पदमा कार्यरत छिन् । खैराङका महिलाहरूमा पहिलो एसएलसी उत्तीर्ण गर्ने उनी नै हुन् । ‘गाउँमा अकमाया नानी नभएको भए धेरैको अकालमा मृत्यु हुन्थ्यो,’ खैराङका ७५ वर्षीय कृष्णबहादुर मल्लले भने, ‘उनी त गाउँको डाक्टरनी हुन्, बाहिरबाट अहेवसाहेवहरू जो आए पनि गाउँलेलाई उनी नभए हँुदैन ।’

सडकले नछोएको जिल्लाको एकमात्र खैराङ गाउँमा पुग्न मनहरी बजारबाट ९ घण्टा हिँड्नुपर्छ । उद्योग संघले उनलाई सोमबार पुरस्कृत गरेको छ । दुर्गम गाउँमा गरेको कामको मूल्याङ्कन भएकामा उनी खुसी छन् । भनिन्, ‘पुरस्कार पाउने आशाले काम गरेको थिइनँ, पाउँदा असाध्य खुसी छु ।’

प्रकाशित : पुस ११, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?