दार्चुला — केही वर्षअघिसम्म यहाँका किसानले माहुरीपालनबाट मनग्ये आम्दानी गर्दै आएका थिए । अघिल्लो वर्षबाट भने मह उत्पादन घट्न थाल्यो । बजार भए पनि उत्पादन नहुँदा कृषक भने निराश छन् ।
मालिकार्जुन गाउँपालिका २ भगवतीका रामसिंह धामीले गत वर्ष एक सातामै ३ किलो मह उत्पादन गरेका थिए । यसपटक एक किलो पनि नभएको गुनासो गरे । करिब एक दशकदेखि व्यावसायिक रूपमा मौरी पाल्दै आएका धामीको गत वर्षबाट उत्पादन घटेको हो । उत्पादन घटेसँगै उनको आम्दानीको स्रोत पनि कमी भयो । घर खर्च र छोराछोरीको पढाइमा यसले ठूलो राहत भएको थियो । यो वर्ष उत्पादनमा कमी आएपछि समस्या हुने देखिएको उनी बताउँछन् ।
व्यावसायिक रूपमा मह उत्पादन गर्न परम्परागत पालन छाडेर यहाँका किसानले आधुनिक घारमा उत्पादन थालेका छन् । आधुनिक घारमा मौरीपालन गर्न थालेपछि आम्दानी बढेको उनीहरूको भनाइ छ । यो वर्ष भने आधुनिक घारमा पनि उत्पादन घट्यो । मौरीको चरण क्षेत्र क्रमिक रूपमा घटदै जानु, बजार अभाव र चिसो मौसमका कारण उत्पादनमा ह्रास आएको किसानको बुझाइ छ ।
परम्परागत रूपमा जिल्लाका सबै ठाउँमा मौरीपालन गर्दै आए पनि पछिल्लो समय मह बिक्रीबाट आम्दानी बढ्न थालेपछि व्यावसायिक रूपमा थालेका छन् । सरकारी तथा गैरसरकारी निकायबाट सीपमूलक तालिम पाएपछि किसानहरू मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका थिए । किसानहरू खासै व्यावसायिक रूपमा नलाग्दा व्यवसाय फस्टाउन नसकेको दार्चुलाका वरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले बताए । तालिम पाएपछि सुरुमा राम्रो गरेजस्तो गर्ने र पछि विस्तारै व्यवसायबाट हट्ने प्रवृत्तिले मह उत्पादनबाट फाइदा नपाउने उनको भनाइ छ ।
‘मौरीपालनका लागि सम्भावना धेरै भएका ठाउँहरू जिल्लामा प्रशस्त छन् । स्थानीय किसानमा लगनशीलताको अभाव छ,’ उनले भने, ‘सानो लगानीमा व्यावसायिक बन्न सकिने व्यवसाय हो । सरकारी र गैरसरकारी निकायबाट मौरीपालन तालिम धेरै दिइएको छ । केही लगनशील किसानले मह उत्पादनबाट राम्रै फाइदा लिएका छन् ।’
अहिले जिल्लामा वार्षिक रूपमा ५६ क्विन्टन मह उत्पादन हुने गरेको छ । यहाँका किसानले आधुनिक र परम्परागत मुडेघारबाट मह उत्पादन गर्दै आएको कृषि विकास कार्यालयको तथ्यांकमा छ । जिल्लाभरिका उत्पादक किसानले साढे ४ सय परम्परागत र ४ सय २५ आधुनिक घारबाट मह उत्पादन गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत बरालले जानकारी दिए । विभिन्न निकायबाट अनुदान पाएपछि केही किसान व्यवसाय उन्मुख हुन थालेको उनको भनाइ छ ।
साविकका तपोवन, देथला, सर्मोली, भगवती, मालिकार्जुन र रानीशिखर गाविसमा मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् । यसबाहेक महाकाली नगरपालिकाको केही वडा पनि मह उत्पादनका लागि राम्रो सम्भावना रहेको उद्योग विकास शाखा दार्चुला प्रमुख पदमबहादुर ठकुराठीले बताए । जिल्लाका मौरीपालक किसानलाई व्यावसायिक र स्वरोजगार बनाउन शाखाले सन् २००४ देखि हालसम्म ५६ लाख लगानी गरेको जनाएको छ ।
प्रकाशित : पुस १२, २०७४ ०८:००