कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

धरानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी छिन् । उनी गत मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी थिइन् ।

धरानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो

प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले बताए । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए ।


शल्यक्रियामा सम्लग्न प्रतिष्ठानका प्रसूती विभागका चिकित्सक रिमालका अनुसार इनरुवा–८ बस्ने चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ्ग भएको शिशु जन्मेको हो । उक्त नवजात शिशु स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको बुझिएको छ ।


अनौठो नवजात शिशुको जन्म भए पनि दुइ टाउकोमध्ये एक टाउकोले स्वासप्रस्वासमा समस्या देखिएको थियो । डा. रिमालले भने, ‘बच्चा त निकालियो तर रुन र स्वासप्रस्वासमा समस्या देखियो । हामीले मण्डल दम्पतीलाई बच्चाको स्वासप्रस्वासलाई सहज बनाउन मुखमा नली लगाउनु पर्छ भन्दा मानेनन् । घर लान्छौं, डिस्चार्ज देउ भन्न थाले ।’उनका अनुसार प्रसूतीमा यस्तो केस विरलै हुन्छ ।


कसरी यस्तो अनौठो बच्चा गर्भमा बन्छ भन्ने प्रश्नको जिज्ञासामा उनले भने, ‘गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ । त्यसरी बनेको नर्मल जाइगोटबाट भ्रुण बनेर बच्चाको विकास हुन्छ । तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन् । र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन् । यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा हो ।’


मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकामा चार पटकभन्दा बढी भिडियो एक्सरे गरेर गर्भ जाँच गरेका थिए । तर, त्यहाँको चिकित्सकले यस्तो असामान्य बच्चा छ भनेर कहिलै जानकारी नदिएको बरु गर्भमा बच्चा राम्रो अवस्थामा छ भनेर जानकारी दिएको प्रतिष्ठानकी एक नर्सले बताइन् । लिङ्ग समेत छुट्याउन सकिने भिडियो एक्स-रेबाट सामान्यतया विकसित भ्रुणको कस्तो अवस्थामा छ भनेर थाहा पाउन सकिन्छ । लिङ्गको बारेमा नभने पनि गर्भमा असामान्य बच्चा रहेकोबारे जानकारी दिनु चिकित्सकको कर्तव्य हो, जुन जानकारीबाट आमाको मृत्यु जोखिम घटाउन सकिन्छ ।

प्रकाशित : पुस १३, २०७४ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?