कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तराईमा शीतलहर पहाडमा न्यानो

‘चिसोका कारण हुने बिरामीको संख्या पनि निकै न्यून रहेको छ’

तेह्रथुम — तराईमा शीतलहरसँगै चिसो सिरेटोले जनजीवन प्रभावित भइरहेका बेला पहाडमा भने मौसम न्यानो बन्दै गएको छ । अघिल्ला वर्षमा यति बेला दिनभर हुस्सु लाग्ने र रातमा तुसारो परेर ठण्डा हुन्थ्यो । अहिले पूरै परिवर्तन भएको छ ।

तराईमा शीतलहर पहाडमा न्यानो

पूर्वी तराईलाई बाक्लो हुस्सुसहितको शीतलहरले छोपिरहँदा पहाडी जिल्ला तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतमा न्यानो बढेको हो । पुस सुरु भएयता आकाश खुला छ । न्यानो घाम लागिरहेको छ । दिनभर घाम लाग्दा यो वर्षको पुसमा पहाडका बासिन्दाले जाडोको महसुस गर्न नपरेको ३ हजार मिटर उचाइको बस्ती गुफाबजारका हरि खनालले बताए । पुसजस्तो चिसो बेलामा समेत यो महिना न्यानो अनुभव भइरहेको उनी सुनाउँछन् ।

पुस लागेयता पहाडमा न्यानो घाम लागिरहेको छ । मौसम खुलेको छ । तुुसारो परे पनि घामका कारण चाँडै पग्लिने गरेको छ । यसले पुसको रातसमेत न्यानो रहेको तीनजुरे पहाडमा व्यवसाय गर्ने युवराज खडकाले बताए । उनका अनुसार अघिल्लो वर्ष यो क्षेत्रमा बाक्लो तुसारो जम्थ्यो । तापक्रम माइनसतिर झरेपछि तुसारो परेर पानीका मुहान बाक्लो सिसा जम्ने र पाइपभित्रै पानी जम्ने गथ्र्यो । बिहानबेलुका आगो नतापेसम्म शरीर कामी रहन्थ्यो । यो वर्ष त्यस्तो भएको छैन । मौसम न्यानो हुँदा लेकाली क्षेत्रका पशु र भेडी गोठसमेत औलतिर झारिएको छैन । ३ हजार मिटर उचाइको गुफाबजारमा समेत अघिल्लो वर्षजस्तो चिसो नभएको स्थानीय मकालु होटलका हिमा खनालले बताइन् । यहाँ शेर्पा र भोटेले उच्च लेकाली क्षेत्रका चौंरी गोठसमेत तल झारेका छैनन् ।

पूर्वी तराईमा चिसो बढेपछि आफन्त र घरघडेरी हुने तराईको चिसो छल्न पहाडतिर उक्लिन थालेका छन् । तराईमा शीतलहरसँगै कठ्ङयाग्रिने जाडो बढेपछि विराटनगरको बरगाछीनजिकका केशरकुमार भट्टराई तेह्रथुमको मोराहाङका आफन्तकोमा आएका छन् । तराईमा चिसो बढेर बस्न नसकेपछि पहाडतिर उक्लिएको उनले बताए ।

तराईको चिसो छल्न धेरै बूढापाका र केटाकेटी पहाडतिर आइरहेको भट्टराईले बताए । अब एक महिना यतै रहने र तराईमा तातो बढेपछि फर्किने झापा तोपगाछीका मोहनसिंह लिम्बूले बताए । ‘तराईभन्दा त पहाड धेरै तातो,’ धनकुटा सिंधुवामा भेटिएका उनले भने ।

मौसम न्यानो भएकाले अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा चिसोका कारण समस्या लिएर आउनेको संख्यासमेत अघिल्लो वर्षको तुलनामा यस सिजनमा कम रहेको स्वास्थ्यकर्मीले बताए । अघिल्लो वर्ष यही सिजनमा कोल्ड डायरिया, ज्वरो, हाडजोर्नी, रुघाखोकीका बिरामी अत्यधिक आएका थिए । यो वर्ष भने यस्ता समस्या लिएर आउने निकै कम रहेको जतहित मेडिकल प्रालि वसन्तपुरका सञ्चालक लोकेन्द्र कटुवालले वताए ।

‘चिसोका कारण आउने बिरामीको संख्या योपटक न्यून छ,’ उनले भने । मौसम न्यानो हँुदा बजारमा बाल्लो लुगा कपडाको व्यापारसमेत चम्किएको छैन । जाडोलाई लक्षित गर्दै ल्याइएका बाक्ला कपडाको बिक्री कम रहेको मिनु फेन्सी स्टोरका दानबहादुर खड्काले बताए ।

त्यस्तै वसन्तपुरमै ठूलो लगानीमा सञ्चालन गरिएको खुसी कपास उद्योगमा बाक्ला सिरक डसना बनाउन आउने ग्राहकको संख्यासमेत घटेको उद्योगले जनाएको छ । यो पटक पुसमा पनि पहाडमा न्यानो भएकाले चिसो मौसममा बढ्ने व्यापार नचम्किएको उद्योग वाणिज्य संघ वसन्तपुर उपशाखाका अध्यक्ष रोसन सुवेदीले बताए ।

प्रकाशित : पुस १४, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?