कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तीनजुरेमा क्याम्प फायरले पर्यटक बढे

चन्द्र कार्की

तेह्रथुम — तीनजुरे जंगलमा क्याम्प फायरका लागि आउने पर्यटकको संख्या बढेको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे जंगलमा चिसो मौसम सुरु भएसँगै क्याम्प फायरमा आउने बढेका हुन् ।

तीनजुरेमा क्याम्प फायरले पर्यटक बढे

शान्त र मनमोहक रहेको तीनजुरेदेखि चौकीसम्मको जंगल क्षेत्रमा मंसिर महिना सुरु भएयता पूर्वी तराई र भारतका विभिन्न स्थानबाट क्याम्प फायरमा आउनेहरू बढेको पर्यटन विकास तथा प्रवद्र्धन समिति सदस्य प्रकाश श्रेष्ठले जनाए । यो क्षेत्रमा दैनिक १० भन्दा बढी समूह बन्दोबस्तीसाथ क्याम्पका लागि आउने गरेको श्रेष्ठले बताए । कात्तिक पहिलो साताबाट सुरु क्याम्प फायर अहिले थप बढेको हो । अहिले पूर्वी तराई, आसपासका जिल्ला र भारतको बिहार र दार्जिलिङदेखिका युवायुवती क्याम्प फायरका लागि आइरहेका छन् । यहाँको जंगली क्षेत्रमा आएर टेन्ट टाँगेर रात बिताउने र जंगलमै खानपान गरेर रमाउनेहरू बढिरहेको स्थानीय बुद्धिजीवी कुमार खडकाले बताए । धरान, विराटनगर, दमक र इटहरीदेखि शौखिनहरू क्याम्पमा आउने गरेको उनले जानकारी दिए ।

खसी, कुखुरा, हाँस, भेडालगायत जनावर जंगलमै लगेर काट्ने र आगोको धुनीमा विशेष तरिकाले सेकाएर खाने, नाचगानसहित सांस्कृतिक कार्यक्रममा रमाउने र केही दिन तथा रात जंगलमै बास बस्ने संस्कारलाई पछिल्लो पुस्ताकाले क्याम्प फायर भन्छन् । यसका लागि खाने बस्नेदेखि अन्य सम्पूर्ण बन्दोबस्तीका सामान लिएर जानुपर्छ । घना जंगलबीचको खुला चौरमा रात बिताउँदा न्यानो पनि हुने र प्राकृतिक आनन्द प्राप्त हुने भएकाले धेरैको रोजाइ तीनजुरे क्षेत्र परेको गायक किशोर थुलुङले बताए ।

धराने यी युवा वर्षमा एकपटक साथीसाथ क्याम्प फायरका लागि तीनजुरे जंगलमा उक्लिने गर्छन् । ‘यहाँको शान्त वातावरणमा क्याम्प फायरमा रमाउनुको मजा नै बेग्लै,’ पूर्वका एकहुल साथीसाथ तीनजुरे फेदी आरआर गार्डेननजिक क्याम्प फायरमा रमाउँदै गर्दा भेटिएका उनले भने । सहरको भीडभाड र कोलाहलबाट निस्किएर प्राकृतिक सौन्दर्यमा रमाउँदै दिन र रात जंगलमा बिताउँदा छुट्टै आनन्द आउने उनको बुझाइ छ । क्याम्पमा आउनेले खसी, बोका, कुखुरा, भेडाको थुमा, हाँसलगायत किन्ने हुँदा स्थानीय पशुपालक किसानलाई पनि राम्रै फाइदा भएको छ । जंगलभित्र क्याम्प फायरमा रमाउनेले खानेकुरादेखि मदिरासमेत खरिद गर्ने भएकाले आसपासमा रहेका साना पसलसमेत राम्ररी चलेको घुर्मिसेका युवराज खडकाले बताए ।

पर्यटकीय क्षेत्र तीनजुरेको आरआर गार्डेन, डुँडपानी, घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे र आसपासका घना जंगलभित्रका केही खाली चौर क्याम्प फायरका लागि उपयुक्त मानिन्छन् ।



स्थानीयले गरे गुफा पोखरी संरक्षण

संखुवासभा र तेह्रथुमको सीमा गुफा बजारको पर्यटकीय गुफा पोखरीको संरक्षणमा स्थानीय जुटेका छन् । मानव अतिक्रमणका कारण पोखरीको क्षेत्रफल साँघुरिँदै गएपछि स्थानीय संरक्षणमा जुटेका हुन् । पोखरी संरक्षणका लागि तत्कालीन जिविस संखुवासभाले छुट्टाएको ५ लाख रुपैयाँबाट पोखरी वरिपरि तारघेरा गरिएको छ । पोखरीको संरक्षण गरी वर्षभरि नै पर्यटक आकर्षित गर्न स्थानीयको संलग्नतामा पोखरीको संरक्षण थालिएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताए ।

पोखरी परिसरमा घेराबारा, सरसफाइ, पानीको मुहान संरक्षणलगायत काम गरिएको केन्द्रले जनाएको छ । पोखरीलाई आकर्षक बनाउन बाहिरबाट अवलोकन आउनेसँग समेत स्थानीयले सुझाव माग्ने गरेका छन् । ‘सबैको सल्लाह र सुझाव लिएर पोखरीलाई आकर्षक बनाउने हो,’ केन्द्र अध्यक्ष लिम्बूले भने, ‘पोखरीको आकर्षण बढाउन सके बाहिरी पर्यटक तान्न सजिलो हुन्छ ।

प्राकृतिक गुफा पोखरीमा बर्सेनि पर्यटक बढिरहेको र नजिकै बस्ती विकास भएकाले फोहोर र प्रदूषण बढदो छ । मौसम परिवर्तनका कारण पोखरीसम्म आउने पानीको मुहान पनि सुकेका छन् । पोखरीमाथिबाट मोटर बाटो निर्माण गरिएकाले वर्षादमा लेदो माटो बगेर पुरिएको स्थानीय हरि खनालले बताए । त्यसो त पोखरीमा आउने पानीको स्रोत पनि सुकेको छ । पानीको सतह घटेकाले बालुवामात्रै देखिन्छ । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे मिल्के जलजले (टीएमजे) तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम क्षेत्र हो । टीएमजे क्षेत्रको पदमार्ग भएर बर्सेनि हजारांै पर्यटक ओहोरदोहोर गर्छन् । यो क्षेत्र प्राकृतिक सुन्दरताका कारण वर्षभरि नै पर्यटकको रोजाइ हुने बताइएको छ ।

प्रकाशित : पुस १४, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?