प्रकृति संरक्षण कोषको बजेट साढे ८१ करोड
काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सन् २०१८ का लागि ८१ करोड ५८ लाख रुपैयाँको बजेट पास भएको छ । वनमन्त्री तथा कोषका अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले २०१८ मा कोषअन्तर्गत विभिन्न कार्यक्रममा ८१ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सदस्य सचिव गोविन्द गजुरेलले बताए ।
बैठकले कोषमातहत चितवन सौराहामा रहेको ‘जैविक विविधता केन्द्र/बीसीसी’ लाई मुलुककै उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा विकास गर्नेसमेत निर्णय गरेको छ । बीसीसीमार्फत वन्यजन्तुको अध्ययन–अनुसन्धान र तालिम दिई दक्ष जनशक्ति उत्पादन गरिएको छ ।
यस्तै, चितवनको बरन्डाभार वन क्षेत्रलाई ‘जैविक विविधता पार्क’का रूपमा विकास गर्नेसमेत निर्णय भएको छ । गजुरेलका अनुसार जैविक विविधतासम्बन्धी मुलुकभरको एटलास तयार गर्न ४० लाख रुपैयाँ बजेट तय गरिएको छ । माडी क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यून गर्न विद्युतीय तारबार गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ । कोषले अन्नपूर्ण, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रसहित चिडियाखानाको व्यवस्थापन र पर्सा, बर्दिया र शुक्लाफाँटा निकुञ्जको व्यवस्थापन तथा अनुसन्धानमा सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
प्रकाशित : पुस १४, २०७४ ०७:२३