कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२ वर्षको औषधि अब ९ महिना

अतुल मिश्र

काठमाडौँ — राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी (मल्टी ड्रग रेसिस्टेन्ट) क्षयरोगको उपचारका लागि छोटो अवधिको उपचार विधि सुरु गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर केन्द्रले सोमबारदेखि नयाँ विधि सुरु गर्न लागेको हो ।

२ वर्षको औषधि अब ९ महिना

केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले यो उपचार विधि काठमाडौं, बुटवल, विराटनगर र नेपालगन्जमा सुरु गरिने बताए । ‘बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचारमा छोटो उपचार विधि कोसेढुंगा साबित हुनेछ,’ केसीले भने ।

यो विधि सुरु गर्ने मुलुकमा नेपाल ३८ औं भएको छ । ९ महिने उपचार विधिको सफलता दर करिब ८५ प्रतिशत छ । क्षयरोगको बिग्रिएको र जटिल स्वरूप अर्थात् सामान्य औषधिले नछुने अवस्थालाई नै बहुऔषधि प्रतिरोधी क्षयरोग भनिन्छ । बहुऔषधि प्रतिरोधी क्षयरोगीलाई हाल २० देखि २४ महिनासम्म औषधि खुवाइने गरिएको थियो । यसको सट्टा ९ महिना मात्र औषधि सेवन गर्नुपर्ने छोटो विधि सुरु गर्न लागिएको हो । यसअघि सञ्चालित हुँदै आएको दुईवर्षे उपचार विधिमा ८ देखि १२ महिनासम्म सुईसमेत लिनुपर्ने भए पनि ९ महिने उपचार विधिमा ४ देखि ६ महिनासम्म मात्र सुई लिए पुग्छ ।

‘छोटो अवधिअन्तर्गत एकजनामा उपयोग गरिने औषधिको मूल्य करिब दुई लाख रुपैयाँ पर्छ, तर यसको उपचारअन्तर्गत निदान, फलोअप, उपचार, औषधि सबै नि:शुल्क छ,’ केन्द्रका डा. प्रमोद भट्टराईले भने ।

उनका अनुसार यो विधिमा औषधिको कारणले हुने विषाक्तता, नकारात्मक असरसमेत कम देखिएको छ । छोटो उपचार विधिअन्तर्गत ९ महिनासम्म औषधि दिँदासमेत खकार पोजेटिभ देखिए पुन: दुई महिना औषधि थप्ने गरिएको समेत जेनटपकी डा. भावना श्रेष्ठ बताउँछिन् । छोटो अवधिको उपचार सेवा फोक्सोबाहेकका अंगको क्षयरोग भएका एवं गर्भवती महिलालाई दिइने छैन ।

मुलुकमा करिब १२ वर्षअघि बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचार विधि सुरु गरिएको हो । हाल १८ उपचार केन्द्र र ८६ उपकेन्द्रबाट वार्षिक ४ सय ५० जनालाई बहुऔषधि प्रतिरोधी उपचार उपलब्ध गराइएको छ । हाल मुलुकमा ३२ हजार ५७ जना नयाँ सामान्य क्षयरोगीहरू उपचार गराइरहेका छन् । सामान्य क्षयरोगको औषधिसमेत नि:शुल्क छ ।

प्रकाशित : पुस १४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?