२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रुकुमका विद्यालयमा कम्प्युटरबिनै पढाइ

हरि गौतम

रुकुम पश्चिम — मुसिकोट नगरपालिका १० को मालिका माविमा नयाँ शैक्षिक सत्र सुरु भएयता विद्यार्थीले कम्प्युटर छुनसमेत पाएका छैनन् । ६ देखि १० कक्षासम्मका विद्यार्थीले प्रयोग नै नगरेर मौखिक आधारमा कम्प्युटर शिक्षा लिइरहेका छन् । कम्प्युटर अभावमा यस्तो समस्या आएको होइन ।

रुकुमका विद्यालयमा कम्प्युटरबिनै पढाइ

विद्यालयमा रहेका ८ वटा कम्प्युटर बिग्रिएर समस्या भएको हो । गत शैक्षिक सत्रमै बिग्रिए पनि अझै मर्मत गरिएका छैनन् ।

मुसिकोट नगरपालिकाकै २ नम्बर वडाको महाकाली माविमा रहेका २० थान कम्प्युटरमध्ये १६ वटा थन्किएका छन् । लामो समयदेखि कम्प्युटर न शिक्षकले चलाउँछन् न विद्यार्थीले नै चलाउन पाएका छन् । थन्किएका कम्प्युटर मर्मत नहुँदा विद्यार्थीको पढाइमा बाधा पुगेको छ । सहजै कम्प्युटर शिक्षा लिन नपाएको विद्यार्थीले बताए ।

यी दुई विद्यालय त उदाहरण मात्रै हुन । जिल्लाका अधिकांश विद्यालयको हालत यस्तै छ । कम्प्युटरलगायत सामग्रीमा बेवास्ता गरेको पाइएको छ । भएका सामग्रीको वास्ता नहुँदा कम्प्युटरलगायत सामग्री खराब हुने गरेका छन् । तिनको समयमै मर्मत नहुँदा विद्यार्थी मारमा पर्ने गरेका छन् ।

मालिका मावि चुनमा जडान गरिएको झन्डै ३२ किलोवाट क्षमताको सोलार सिस्टम पनि बिग्रेको छ । बिजुलीको विकल्पका रूपमा कम्प्युटर पढाउन जोडिएको उक्त सोलार बिग्रेको लामो समय भइसक्दा पनि मर्मत हुन सकेको छैन । सोलार र कम्प्युटर बिग्रँदा विद्यार्थीलाई पढाउन मुस्किल भइरहेको मालिका माविका निमित्त प्रध्यानाध्यापक धनेन्द्र रोकायले बताए । ‘मर्मत गर्दा पनि कम्प्युटर चलेनन्,’ उनले भने, ‘यसले गर्दा पठनपाठनमा समस्या भइरहेको छ ।’ उनले सैद्धान्तिक कुरा मात्रै सिकाएर पठनपाठन गराइरहेको बताए ।

महाकाली माविका प्रधानाध्यापक लोकबहादुर खड्काले व्यवस्थापन गर्न नसक्दा बिग्रेका कम्प्युटर मर्मत गर्न नसकेको बताए । ‘विशेष गरी ठाउँ अभाव छ,’ उनले भने, ‘भवन र कोठा अभावमा कम्प्युटरको व्यवस्थापन भएन र भएकामध्ये धेरै कम्प्युटर बिग्रेका छन् ।’ पठनपाठनको क्रममा हैरानी बेहोरिरहेको उनले बताए ।

जिल्लामा विद्यालयको समग्र व्यवस्थापन कमजोर हुँदा भौतिक सामग्री खराब हुने र तिनको मर्मत नगरिनु चलनजस्तै बनेको छ । जिल्ला शिक्षा कार्यालयले अधिकांश विद्यालयमा कम्प्युटर पुर्‍याइए पनि धेरै विद्यालयले त्यसलाई सदुपयोग गर्न नसकिरहेको पाइएको जनाएको छ । जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले औपचारिक रूपमा कम्प्युटर बिग्रेका कारण पठनपाठनमा समस्या भयो भनेर कसैले नभने पनि त्यो कुरा कार्यालयलाई थाहा भएको बताए ।

‘कतिपय कम्प्युटर पुराना छन्, कतिपय ठाउँमा विद्युतको अभाव छ,’ उनले भने, ‘अब यसको व्यवस्थापन गरेर प्रेक्टिकलसहितको पठनपाठन गराउन निर्देशन दिइनेछ ।’ उनले यही महिनाको २५ गते सबै प्रअहरूको बैठक बोलाइएको र सोही बैठकमार्फत विद्यालयको सम्पूर्ण व्यवस्थापनलाई व्यवस्थित गर्न निर्देशन दिने बताए ।

प्रकाशित : पुस १४, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?