२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

७ किमि पार गर्न २ घण्टा !

प्रकाश बराल

बागलुङ — विकल्पबिना सडक निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्ने गरेका छन् । निर्माण कम्पनीले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ बजार–काठेखोला बीचको ७ किमि सडक ठाउँठाउँमा भत्काएर अलपत्र छाडेपछि समस्या भएको हो ।

७ किमि पार गर्न २ घण्टा !

पैदल हिँड्दा ३० मिनेटमा पुगिने दूरी पार गर्न दुई घण्टाभन्दा बढी लाग्ने गरेको छ । काठेखोला गाउँपालिकाका प्रमुख अमर थापाले घण्टौं जाममा पर्दा तोकेको समयमा कार्यालय पुग्न नसकेर सेवाग्राहीलाई कुराउन बाध्य भएको बताउँछन् । ‘जाने बाटो अरू छैन, भएको बाटो पनि जामले पार गर्नै गाह्रो छ,’ उनले भने । बाटोमा अवरुद्ध भइरहँदा विद्यार्थी तथा बालबालिका पनि मर्कामा परेका छन् ।

जिल्लाभित्रको १ सय ४२ किमि खण्डमध्ये सदरमुकामदेखि बिहुँको ताराखसेसम्मको १३ किमि खण्डमा सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कम्पनीले यसअघिको काम अलपत्र पारेपछि यो खण्डमा जोखिम मोलेरै यात्रा गर्न यात्रु बाध्य छन् । ‘दैनिक अफिस जान आउन पनि हैरानी खेप्नुपरेको छ,’ गाउँपालिका प्रमुख थापाले भने, ‘पैदल हिँड्न पनि नमिल्ने गरी सडक बिगारेपछि समस्या भएको छ ।’ पैदल भए पनि सहज हिँड्ने अवस्था बनाइदिन आग्रह गर्दासमेत बेवास्ता गरेको उनले

गुनासो गरे ।

एक वर्षअघि ठेक्का लिएको कम्पनीले अहिले सडक चौडा पार्ने काम गरिरहेको छ । निर्माणाधीन सडकको विकल्पमा अर्को बाटो नभएपछि यात्रीले दु:ख पाएको कम्पनीका साइट इन्चार्ज यज्ञ शाहीले बताए । ‘दैनिक दुई सयवटा हाराहारी गाडी चल्छन्, विकल्प दिने बाटो छैन,’ उनले भने, ‘ढुंगा खस्ने समस्या भएका ठाउँमा गाडी र यात्रीलाई जान दिन पनि सकेका छैनौं ।’ स्थानीयवासीले भने कम्पनीका कर्मचारी र प्राविधिकले यात्रीको समस्या बुझ्ने प्रयासै नगरेको आरोप लगाए । बिरामी बोकेर आएका सवारीदेखि कार्यालय पुग्ने कर्मचारी र विद्यालय हिँडेका विद्यार्थी पनि समयमा गन्तव्यमा पुग्न नपाएको उनीहरूको गुनासो छ । यो खण्डमा गाउँपालिका कार्यालय, विद्यालय, कृषि र पशुसेवालगायतका सेवा कार्यालय, विभिन्न सहकारी संस्थाका कर्मचारी र विद्यार्थी गरी दैनिक हजारजना भन्दा बढीले पैदल यात्रासमेत गर्नुपर्छ ।

सडक १० मिटर चौडा बनाएर कालोपत्रे गर्ने गरी कम्पनीले ठेक्का लिएको हो । आगामी दुई वर्षभित्र कम्पनीले काम सम्पन्न गर्नुपर्नेछ । खुकुलो माटो र पानीको स्रोतसमेत नतर्काएकाले हिलाम्य सडकमा दैनिक जिप र साना सवारी फस्ने गर्छन् । ट्रयाक्टरले पारेका खाडल नपुर्दा साना गाडी फस्ने गरेको जिप चालकहरू गुनासो गर्छन् । निर्माणाधीन २५ किमि खण्डमा धूलोले पनि स्थानीयलाई सास्ती छ । ‘हामीले शुद्ध पानीसमेत खान पाएका छैनौं,’ बिहुँका भवानीप्रसाद कँडेलले भने, ‘रुघाखोकीका बिरामी भएर घरघरमा औषधि खुवाउनुपरेको छ ।’ बूढाबूढी र बालबालिका यसको बढी सिकार भएको उनले गुनासो गरे । गाईभैंसीलाई दिने डाले घाँससमेत धुलाम्मे हुँदा समस्या भएको पनि उनले बताए । प्रशासनले भने सडक अवरोध नगरिकनै काम गर्न लगाएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । ‘विकल्प भएसम्मको समयमा मात्र काम गरेर भए पनि यात्रीलाई दु:ख नदेऊ भनेका छौं,’ उनले भने ।

प्रकाशित : पुस १४, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?