कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वीलचियरबाटै १८ दिन यात्रा

माधव ढुंगाना

भैरहवा — चार वर्षअघि रामबहादुर तामाङले काभ्रेको नमोबुद्धदेखि लुम्बिनीसम्मको ३ सय ६६ किमि दूरी मेरुदण्डको महत्त्वका बारेमा जनचेतना जगाउँदै ह्वीलचियरबाट २६ दिनमा पूरा गरेका थिए । यसपटक उनी पुन: अर्को सन्देश दिन यात्रामा निस्किएका छन् । ह्वीलचियरबाटै बुद्ध जन्मस्थल लुम्बिनीबाट ज्ञानप्राप्तिस्थल भारतको बोधगयासम्मको ५ सय ५३ किमि लामो १८ दिने यात्रामा ।

ह्वीलचियरबाटै १८ दिन यात्रा

यस पटकको यात्राको सन्देश हो, ‘नेपाल–भारत असल छिमेकी राष्ट्र भएकाले आपसी मित्रता

प्रगाढ बनाउनुपर्छ ।’ यो सन्देश दिन उनले मंगलबार लुम्बिनीबाट ‘विश्वशान्ति मैत्रीपूर्ण पर्यटकीय

ह्वीलचियर यात्रा’ सुरु गरेका छन् । सिन्धुपाल्चोक बलेखी गाउँपालिका–७ काफलबोटका ३५ वर्षीय तामाङ अपांगता भएका साहसिक यात्री हुन् । २०६७ पुसमा खासा घुमेर फर्किंदा दोलालघाटमा भएको बस दुर्घटनामा परी उनको मेरुदण्ड भाँचिएको थियो । उनको कम्मरदेखि मुनिको अंग चल्दैन । एउटा आँखाले देख्दैनन् । मेरुदण्डमा दुईवटा रड राखेर १२ वटा पेचले कसिएको शरीर लिएर उनी ह्वील चियरको सहारामा बाँचिरहेका छन् ।

‘नेपाल र भारत असली छिमेकी राष्ट्र भएकाले आपसी सम्बन्ध पनि बलियो हुनुपर्छ भन्ने मेरो यो यात्राको सन्देश हो,’ पहिलो दिनको यात्रामा लुम्बिनीदेखि सीमावर्ती नेपालको बेलहियास्थित एक होटेलमा बास बसेका तामाङले भने, ‘यही सन्देशलाई पूर्णता दिन मैले यात्रा अवधिभर भारत र नेपालका

राष्ट्रिय झन्डालाई ह्वीलचियरमा अंकित गरेको छु ।’

दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएपछि उनको मेरुदण्डको शल्यक्रिया गरेर रड र पेचले शरीर कसियो । आमा, बुबा, सासू, ससुरा, श्रीमती, छोराछोरी र आफूसमेत गरी दसजनाको परिवार पाल्नुपर्ने व्यक्ति नै अपांग भएर अरूको सहारा लिनुपर्ने भएपछि कसरी परिवार पाल्ने ? भन्ने हीनताबोधले उनले अस्पतालमै आत्महत्याको प्रयास गरेका थिए ।

अस्पतालमा आत्महत्याको प्रयास गरेपछि चिकित्सकले उनलाई काभ्रेको साँगास्थित स्पाइनल इन्जरी पुन:स्थापना केद्रमा रिफर गरिदिए । उनका अनुसार पुन:स्थापना केन्द्रमा आफूजस्ता अपांगता भएका व्यक्तिहरू ह्वीलचियरमा बसेर दौडेको, मोबाइलमा हाँस्दै गफ गरेको देखेपछि आत्मबल बढेको हो । अहिले उनी त्यस पुन:स्थापना केन्द्रको कर्मचारी नै भएका छन् ।

‘अपांगले पनि अवसर पाए भने समुद्रमुनिको मोती टिप्न र सर्वोच्च शिखर सगरमाथामा राष्ट्रिय झन्डा फराउन सक्छन्,’ आत्मबलका साथ उनी भन्ने गर्छन् । लुम्बिनीजस्तो विश्वको पर्यटकीय स्थलमा बनाइँदै गरेका भवन पनि अपांगमैत्री नभएकाले आफूले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई सुझाव दिएको बताए । नेपालमा विश्वका धेरै अपांग पर्यटक आउन चाहेर पनि अपांगमैत्री वातावरण नभएकाले आउन नचाहेको अनुभव उनको छ ।

उनको अहिलेको यात्रामा साथ दिन उनका छोरा विज्ञान तामाङ र भतिजा रामबहादुर तामाङ साथमा छन् । लुम्बिनीको प्रचारप्रसार गर्दै अन्तर्राष्ट्रिय जगत्समक्ष पुर्‍याउनु पनि उनको अर्को यात्राको

उद्देश्य हो । ‘जसरी बुद्धले बुद्धत्व प्राप्त गरेर नयाँ जीवन पाए त्यसरी नै मैले पनि उपचारपश्चात् नयाँ जीवन पाएको हुँ’, लुम्बिनी–बोधगया यात्रा रोज्नुको कारण बताउँदै उनले भने, ‘अपांग हुँदैमा जीवनको अन्त्य हुँदैन । अपांग भए पनि हामी कमजोर छैनौं । र, अपांग हँुदैमा जीवनदेखि हरेस खाने होइन । चुनौतीसँग जुध्दै आपंैm बाँच्न सिक्नुपर्छ भन्ने सन्देशका साथ निस्किएको हुँ ।’ प्रतिदिन ३० किमिको यात्रा गर्दा बोधगयाको यात्राका लागि १८ दिन लाग्ने अनुमान गरे ।

प्रकाशित : पुस १४, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?