१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वनभोजमा हात्तीको ताँती

विमल खतिवडा

सौराहा — १४ औं चितवन हात्ती महोत्सवमा बिहीबार अघिपछिभन्दा छुट्टै भीडभाड थियो । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा दर्शक हुल बाँधेर बसेका थिए । कतै बालबालिकाको जमात थियो त कतै युवायुवतीको । पाका उमेरका झन् के कम । पैलेंटी कसेरै भुइँमा बसी एक तमासले मैदानतर्फ नियालिरहेका थिए । यो भीड बढ्नुको मुख्य कारण थियो हात्तीको वनभोज ।

वनभोजमा हात्तीको ताँती

सबैलाई एउटै जिज्ञासा थियो, हात्तीले के खान्छ ? आँखैअगाडि कुची, उखु, स्याउ, फर्सी, गाँजर, केरालगायतका फलफूल खाएको देख्दा मान्छेकै जस्तो आहारा रैछ भन्दै पिकनिक खाएको ठाउँमा हेर्नेको भीड लाग्यो । कोही भिडियो खिच्न त कोही हात्तीलाई फलफूल खुवाउन व्यस्त बने । मैदानको एक छेउमा हात्तीलाई छुट्टै टेबुल जस्तो बनाएर खाने व्यवस्था मिलाइएको थियो । पिकनिकमा करिब सय हात्ती सहभागी भए । सबैलाई लाइन लगाएर मन पर्ने आहारा खुवाइयो । ‘मान्छेले वनभोज खाएझैं हात्तीलाई पनि समूहमा राखेर वर्षमा एकपटक मन पर्ने खाना खुवाऊँ भन्ने उद्देश्यले यस्तो कार्यक्रमको सुरुवात गरिएको हो,’ आयोजक क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष सुमन घिमिरेले भने, ‘हात्तीलाई स्याहारसुसार गर्नुपर्छ, यसलाई माया गरेर राम्रो खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश पनि यो वनभोज कार्यक्रमले दिनेछ ।’ वनभोज कार्यक्रम सुरु गरिएको ३ वर्ष भयो । वनभोज कार्यक्रम हेर्न विदेशी पर्यटकको समेत भीड लाग्ने गरेको छ ।

‘महोत्सवमा हात्तीका अन्य खेल पनि छन्, तर सबैभन्दा बढी मन पराइएको कार्यक्रम हात्तीहरूबीचको वनभोज नै हो,’ महोत्सवका मूल संयोजक दीपक भट्टराईले भने, ‘हात्तीले वनभोज खाएको हेरेर पर्यटक रमाउने गर्छन्, यो कार्यक्रमले सबैको ध्यान तान्न सफल भएको छ ।’ उनका अनुसार वर्षको एक दिन हाफ होलिडे गरेर हात्तीलाई वनभोज कार्यक्रममा सहभागी गराउने गरिएको छ । यस्तो कार्यक्रमले मानव र वन्यजन्तु बीचको सम्बन्ध प्रगाढ बनाउने संयोजक भट्टराई बताउँछन् । वनभोजमा निजी ५८ र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र चितवन निकुञ्जका ४२ वटा हात्तीे सहभागी थिए । अधिकांश हात्तीलाई सिँगारेर ल्याइएको थियो ।

प्रकाशित : पुस १४, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?