१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तुइन विस्थापन गर्न झोलुंगे पुल

हेटौंडा/मुगु — मकवानपुरमा एकै वर्ष ९ वटा झोलुंगे पुल निर्माण भएका छन् । यो अवधिमा २ वटा तुइन विस्थापन गरिए । मकवानपुरगढी गाउँपालिकाअन्तर्गत गढी र आमभन्ज्याङ जोड्ने गरी सामरी खोला र भीमफेदी गाउँपालिकाअन्तर्गत त्रिखण्डे मन्दिर नजिकका तुइन हटाई झोलुंगे पुल बनाइएको छ । ‘गत आवमा ९ वटा झोलुंगे पुल बने पनि २ वटा मात्र तुइन विस्थापन भएका छन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सेनाले भने, ‘काम अझै बाँकी छ ।’ 

तुइन विस्थापन गर्न झोलुंगे पुल

जिल्लामा क्षेत्रगत कार्यक्रमअन्तर्गत स्विस सरकारको सहयोगमा ग्रामीण भेगमा आव ७३/७४ मा सातवटा झोलुंगे पुल बनेका छन् । सबैभन्दा ठूलो र लामो पुल कैलाश गाउँपालिका १० स्थित नामटारको गोपिराङ–बेतेघारी बस्तीबीच मनहरी खोलामा बनाइएको छ । करिब ४१ लाख लागतको उक्त पुल १ सय १७ मिटर लामो छ । पुल नहुँदा गोपिराङका बालबालिका मनहरी खोला तर्न नसकेर प्रत्येक वर्ष जेठदेखि भदौ अन्तिमसम्म बेतेघारीस्थित स्कुल पुग्न पाउँदैनथे । बेतेघारीस्थित देवी प्राविका शिक्षक कर्ण चेपाङले भने, ‘गोपिराङका विद्यार्थीलाई स्कुल आउन सहज भएको छ ।’ पुल नहुँदा मनहरी खोलाले बगाएर यहाँ वर्षैपिच्छे २ देखि ५ जनाको मृत्यु हुने गरेको थियो ।

कैलाश गाउँपालिकाअन्तर्गत भार्ताको पाख्रेमा बनाइएको पुल सबैभन्दा छोटो ९० मिटर छ । ३४ लाख खर्चिएको उक्त पुलबाट २ सय २० घरधुरी लाभान्वित छन् । कैलाश गाउँपालिकाको च्याखेटारमा ३२ लाख र नामटारको गर्दोवामा ४९ लाख लगानीमा पुल हालिएको छ । निर्माण भएका ९ मध्ये चारवटा कैलाश गाउँपालिकामा रहेको प्रमुख इन्जिनियर तिमल्सेनाले जानकारी दिए । राक्सिराङ गाउँपालिकाअन्तर्गत खैराङमा २ वटा र थाहा नगरपालिकाको आग्रा, घट्टेखोलामा एउटा पुल बनाइएको छ । ‘तोकिएकै समयमा झोलुंगे पुल निर्माण गरियो,’ राडो नेपालका इन्जिनियर चन्द्र योञ्जनले भने, ‘स्थानीयको सहयोग सराहनीय थियो ।’

करिब ६ करोड लागतमा बनाइएका यी पुलबाट २ हजार १ सय घरधुरी लाभान्वित भएका छन् । तुइनमा जोखिम मोल्न बाध्य ३ सय २० घरधुरीका बासिन्दा पुलबाट सहजै आउजाउ गर्न थालेका छन् । जिल्लामा अझै ८ वटा तुइन विस्थापित गर्नुपर्ने स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए । पूर्वी क्षेत्रस्थित वाग्मती खोलामा तीन तुइन छन् । बाँकी पाँचवटा आमभन्ज्याङ, निबुवाटार, कुलेखानी र भार्तामा पर्छन् । यी तुइनमार्फत दैनिक १५ हजार जनसंख्या जोखिमयुक्त यात्रा गरिरहेका छन् । सबैभन्दा पुरानो पुल कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटार, कटुन्जेमा छ, जुन २०१९ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।

यस्तै, मुगुमा लामो समयदेखि प्रचलनमा रहेका तुइन अब हटिसकेका छन् । यात्रा जोखिमपूर्ण बनाउने तुइन विस्थापित गर्न ६० वटा पुल बनाइसकिएका छन् । विभिन्न खोला र कर्णाली नदीमा रहेका परम्परागत तुइन, काठेपुल र ढुंगेसाँघुको सट्टा व्यवस्थित पुल बनाइएका हुन् । गत वर्ष मुगु, बालै, रारा, डोल्फु, रोवालगायतका स्थानमा ११ वटा झोलुंगे पुल निर्माण गरिएको थियो ।

चालु आवमा स्टिल ट्रस र झोलुंगे पुल गरी १५ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको इन्जिनियर करन धामीले बताए । पुल निर्माणमा यस वर्ष ३ करोड ५० लाख बजेट विनियोजन गरिएको धामीको भनाइ छ । जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल किनारमै पर्ने निजार खोलामा यो वर्ष फलामे स्टिल ट्रस पुल निर्माण गरिएको छ । पुलले राराको पूर्वाधार निर्माणमा टेवा पुगेको छ । जोखिमयुक्त काठेपुल हटाएर पुल निर्माण गरेपछि रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मिलिचौर आउजाउ गर्न सुविधा भएको छ ।

छायाँनाथ रारा नगरपालिकाको बालै गमगाढ खोलाको परम्परागत काठेपुल हटाएर स्टिल ट्रस निर्माण गरेपछि स्थानीय र चौपायालाई वारपारमा सहज भएको छ । बालै गमगाढ खोलामा पुल बनेपछि बालबालिकालाई स्कुल जान सुविधा भएको छ । त्यसैगरी, पिना खोलामा यो वर्ष स्टिल ट्रस पुल बनाइएको छ ।

रारामा पुल बनेपछि पर्यटकलाई आउजाउ गर्न सहज भएको मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए । दुई महिनामै पुलको निर्माण सम्पन्न भएको थियो । पुलहरू बनेपछि दैनिक १८ हजारभन्दा बढी स्थानीयवासीलाई आउजाउमा सहयोग पुगेको छ । जिल्लामा साना मोडेलका स्टिल ट्रस पुल निर्माण गर्न ३० लाख र लठ्ठावाला झोलुंगे पुल बनाउन ४० लाख खर्च हुने प्राविधिकले जनाएका छन् । जिल्ला तुइनमुक्त भएपछि दैनिकी सहज बनेको दुर्गम क्षेत्र विकास समितिका इन्जिनियर सरोज केसीले बताए । उनका अनुसार २०३२ सालबाट पुल निर्माण थालिएको हो । जिल्लामा मोटर बाटो पुगेपछि पुल बनाउन सहज भएको छ ।

प्रकाशित : पुस १४, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?