पुरातात्त्विक क्षेत्रमै बालुवा संकलन

मनोज पौडेल

कपिलवस्तु — विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको बुद्धस्थल तिलौराकोटमा नदीजन्य पदार्थ संकलन थालिएको छ । यहाँस्थित केन्द्रमा ट्रिपर र ट्रयाक्टरले दिनभर बालुवा डम्पिङ गर्छन् । वाणगंगा नदीको सगरहवा, तिलौरी र रामघाटबाट बालुवा ल्याएर डम्पिङ गर्न थालिएको हो ।

पुरातात्त्विक क्षेत्रमै बालुवा संकलन

प्रशोधनको नाम दिएर त्यहाँबाट फेरि ग्राहकलाई बेचिन्छ । अझ त्यो पनि पुरातत्त्व विभागले गत वर्ष मात्र मुआब्जा दिएर अधिग्रहण गरेको सरकारी जग्गामा संकलन थालिएको छ । गैरकानुनी रूपमा केन्द्र सञ्चालन गरिए पनि सरोकारवाला निकाय मौन छने । तिलौराकोटबाट नजिकै रहेको

अर्को बुद्धस्थल धमनिहवा जाने बाटोमै सञ्चालित केन्द्रका कारण उक्त क्षेत्र दिनभर धूलाम्य हुन्छ । प्रदूषण बढेकाले पर्यटक अर्को बुद्धस्थल जानै मान्दैनन् ।

क्षमताभन्दा बढी भार लिएर ट्रिपर र ट्रयाक्टर चल्दा तिलौराकोटबाट धमनिहवा जाने डेढ किमिभन्दा बढी कालोपत्रे बाटो ठाउँ–ठाउँमा धस्सिएको छ । सबै कालोपत्रे उप्किएर धुलाम्मे बनेको छ । ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी परेका छन् । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयले बताए । ‘साँघुरो सडकमा ट्रिपर र ट्रयाक्टरको चाप बढी छ,’ तिलौरी गाउँका माधव अर्यालले भने, ‘सञ्चालकलाई पर्यटकीय ठाउँबाट हटाउन पटक–पटक गरेको आग्रह पनि अटेर गरेका छन् । हिँड्न पनि गाह्रो छ ।’

राजा शुद्धोदन र रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहवा अवलोकन गर्न भारतको लद्दाखबाट आएका ५८ वर्षीय काञ्चोङ दोर्जेले भने, ‘हिँड्न सक्दिनँ, बाटो राम्रो नहुँदा जिप चलेनन् । त्यसै फर्कनुपर्दा

दु:ख लागेको छ ।’ अस्ट्रेलियन पर्यटक अन्ना इग्लेटोनले पनि प्रदूषणले जान नसकेको बताइन् ।

घरेलु कार्यालयमा दर्ता गराई जयबुद्ध सप्लायर्स, चौधरी सप्लायर्स र विन्धवासिनी सप्लायर्सले संकलन केन्द्र सञ्चालनमा ल्याएका हुन् । तिलौराकोटको उत्तरमा पर्ने साबिक गोबरी–८ (क) कित्ता नम्बर १ सय ११ मा जबरजस्ती बालुवा संकलन गरी सप्लायर्सको नाममा व्यापार गरिरहेको स्थानीयको आरोप छ । गत वर्ष पनि यी तीन सप्लायर्सले उक्त ठाउँमा नदीजन्य पदार्थको मौज्दात राखेका थिए । कपिलवस्तु नगरपालिका–६ मा रहेको उक्त ठाउँमा बिहानदेखि साँझसम्मै बालुवा ल्याउने र बिक्री गर्ने ट्रयाक्टरको चाप बढेकाले स्वदेशी तथा विदेशी पर्यटकलाई आवतजावत गर्न समस्या भइरहेको छ । तिलौराकोट र धमनिहवा पुग्ने बाटो मुस्किलले साढे ३ मिटर चौडा छ । त्यसमाथि अत्यधिक भार बोकेका ट्रयाक्टर र ट्रिपर सञ्चालन हुँदा पैदल यात्रुलाई सकस भएको छ ।

‘धूवाँ र धूलोले तिलौराकोटको ५ सय मिटर दूरीमै धमनिहवा स्तूप जान सकिनँ,’ काठमाडौंबाट आएका लामा ग्याल्जो शेर्पाले भने, ‘जाँदा सास फेर्नै गाह्रो भयो । यसले यस क्षेत्रको बुद्धस्थलकै अस्तित्वलाई नराम्रो गर्दै छ । नकारात्मक सन्देश गइरहेको छ ।’

गत मंसिर १० मा कपिलवस्तु संग्रहालयले ३ दिनभित्र मौज्दात बालुवा हटाउन ३ वटै सप्लायर्सलाई पत्र काटेको थियो । एक महिना बित्दा पनि चौधरी सप्लायर्सले बालुवा सरकारी जग्गाबाट हटाएको छैन । अरू २ सप्लायर्सले हटाए पनि बुद्धस्थल आसपासमै सञ्चालन गरेका छन् । त्यसले पनि समस्या पारेको छ । संग्रहालयका प्रमुख सुवासकृष्ण डंगोलले आफूहरूले ती सप्लायर्सलाई त्यहाँबाट बालुवा हटाउन लिखित र मौखिक निर्देशन दिइसकेको बताए । उक्त विषयमा आफूहरूले प्रशासन कार्यालय र पुरातत्त्व विभागमा समेत जानकारी गराएको उनको भनाइ छ ।

‘ट्रक, ट्रिपरलगायत अत्यधिक भार बोकेका गाडीले गर्दा जमिनमुनिका पुरातात्त्विक संरचनालाई समेत क्षति पुग्ने खतरा बढेको छ । त्यसकारण तिलौराकोट आसपास यस्ता कामका लागि स्वीकृत दिनु हुँदैन । उद्योग सञ्चालन गर्दा वातारणीय प्रभाव मूल्याकंन गर्नुपर्ने भए पनि यस विषयमा ध्यान नदिँदा अहिले समस्या परेको छ,’ डंगोलले भने । जयबुद्ध सप्लायर्सका सञ्चालक परशुराम कोहारले आफूहरूले घरेलु कार्यालयमा व्यवसाय दर्ता गरी राज्यलाई कर तिरेर व्यापार गरेको बताए ।

व्यवसाय सञ्चालन गर्दा वार्ड मात्र खोलेर अनुमति दिइने घरेलु कार्यालयका उद्योग अधिकृत मनोज सैनीले बताए । ‘व्यवसायीले आफूलाई सजिलो हुने उक्त वार्डको जुनसुकै ठाउँमा केन्द्र सञ्चालन गर्दा समस्या आएको हो । विदेशी पर्यटकलाई पनि नराम्रो सन्देश गएको छ,’ उनले भने ।

बुद्धस्थल र त्यसमाथि विश्व सम्पदा सूचीमा सूचीकृत हुन लागेको ठाउँलाई प्रभाव पार्ने गरी व्यापार गर्न नहुने लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए । ‘सक्दो छिटो व्यवस्थित गर्नुपर्छ । विश्वलाई नै नकारात्मक सन्देश जान दिनु हुँदैन, सबै मिलेर तत्काल रोक्नुपर्छ,’ उनले थपे ।

पर्यटकीय स्थलमा बाटो अवरोध हुने गरी कुनै पनि उद्योग व्यवसाय सञ्चालन गर्न दिन नमिल्ने सहायक प्रजिअ रामेश्वर अर्यालले बताए । यसबारेमा बुझेर कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

प्रकाशित : पुस १४, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?