भूपि राजमार्गमा धमाधम काम
पोखरा — मध्यपहाडी लोकमार्गको याम्दीदेखि पोखरा–बागलुङ (भूपि) राजमार्ग खण्डमा धमाधम स्तरोन्नतिको काम भइरहेको छ । याम्दीदेखि पूर्व लमजुङ सीमाको करापुटारसम्म भने रेखांकन नहुँदा काम भएको छैन ।
डिभिजन सडक कार्यालय पोखरा र बागलुङ मातहत रहेको पोखरा (बागलुङ खण्ड मध्यपहाडीमा समेटिएसँगै महिनायता सडक स्तरोन्नतिको काम थालिएको हो । याम्दीदेखि फेदीसम्म पोखरा–लेखनाथ महानगरभित्र ४ र त्यसउता २ लेन हुने गरी ६१ किमि खण्डमा सडक स्तरोन्नति भइरहेको छ । ‘कास्की खण्डको आधा भागमा काम भइरहेको छ,’ मध्यपहाडी राजमार्गअन्तर्गत कास्की खण्ड हेर्ने सिनियर डिभिजनल इन्जिनियर रमेश दृष्टिले भने, ‘महानगरभित्र ४ र अन्यत्र २ लेनको सडक हुनेछ ।’ कुनै बाधा अवरोध नभए ३ वर्षभित्र पोखरा–बागलुङ खण्डको स्तरोन्नति सकिने उनले बताए ।
यतिबेला महानगरभित्र २ र अन्यत्र २ गरी ४ खण्डमा काम भइरहेको छ । यातायातका साधनको आवतजावतमा समस्या नहोस् भनेर पुरानो पिच नछोई भित्ता काट्ने र आवश्यकताअनुसार ‘रिटेनिङ वाल’ लगाउन थालिएको छ । अहिले सडकमा विद्युता पोल र खानेपानी पाइप भएकाले काममा समस्या आएको इन्जिनियर गोवद्र्धन बाँस्कोटाले बताए । ‘महानगरको १२ किमि खण्डमा थुप्रै्र पोल र पाइप पनि भएकाले काममा केही समस्या आएको छ,’ उनले भने, ‘काम भने धमाधम भइरहेको छ ।’
इन्जिनियर दृष्टिका अनुसार पोल र पाइप हटाउन सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ । पाइपभन्दा पनि पोल बढी समस्याका रूपमा रहेको र सार्न विद्युत् प्राधिकरणलाई लागतसहित विवरण पठाउन भनिएको उनले बताए । करिब साढे २ दशकदेखि सञ्चालनमा आएको पोखरा–बागलुङ राजमार्गले धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । राजमार्ग एक लेनको मात्रै छ । त्यही पनि नियमित मर्मत नहुँदा जीर्ण थियो । यस्तो अवस्थामा मध्यपहाडी राजमार्ग खण्डमा परेर स्तरोन्नति हुनु धौलागिरिवासीका लागि ठूलो अवसर र खुसीको कुरा रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी बताउँछन् । ‘राजमार्गको स्तरोन्नतिसँगै कोरला नाका पुग्न सहज हुने र समग्र धौलागिरिको पूर्वाधार विकासमा सहयोग पुग्नेछ,’ उनले भने, ‘बसाइँसराइ रोकिने, स्थानीय उत्पादनले सहजै बजार पाउने, बागलुङ र कुश्मालगायत बजार क्षेत्रमा व्यापारिक चहलपहल बढ्ने र सहरमा पनि चाप कम हुने विश्वास छ ।’ उनले निर्माणको काम समयमै सकिनुपर्नेमा सरोकारवालाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
रेखांकनका लागि डीपीआर हुँदै
यसैबीच लमजुङ सीमादेखि पोखराको याम्दीसम्मको खण्डमा भने रेखांकन हुन सकेको छैन । सम्भाव्यता अध्ययन र सर्वेक्षण सकिएर अहिले उक्त खण्डमा रेखांकनका लागि विस्तृत आयोजना रिपोर्ट (डीपीआर) को काम भएको सिनियर इन्जिनियर दृष्टिले बताए । उनका अनुसार लमजुङको करापुटारबाट कास्कीको रामबजार, भगवतीटार, माझठाना, विजयपुर, काँहु, मणिपाल शिक्षण अस्पतालको पछाडिपट्टि हुँदै भलाम, बाटुलेचौर, लामाचौरबाट याम्दीस्थित पोखरा–बागलुङ राजमार्गमा जोड्ने योजनाअनुसार डीपीआर तयार हुँदै छ । ‘सडक विभागले गरेको सम्भाव्य इन्जिनियरिङ सर्भेअनुसारको रुटमा रेखांकन हुने गरी डीपीआर तयार हुँदै छ,’ उनले भने, ‘कन्सल्टेन्सीलाई चाँडो काम सक्न ताकेता गरिरहेका छौं ।’
सुरुमा करापुटारदेखि पोखराको बेगनासताल निकाल्ने गरी रेखांकनको परिकल्पना गरिएको थियो । तर त्यस रुटमा धेरै घर तथा बजार क्षेत्रसमेत पर्ने भएपछि कम बस्ती र छोटो रुट हुनेगरी प्रस्तावित गरिएको हो । पूर्व–पश्चिम जोड्ने राजमार्गको २०६४ देखि काम थालिएको हो । यसले मध्यपहाडी क्षेत्रका ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
प्रकाशित : पुस १४, २०७४ ०७:५८