कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जिसस कर्मचारी जिम्मेवारीविहीन

अधिकांश स्थानीय तहमा कर्मचारी नहुँदा योजना प्रभावित छन् तर जिम्मेवारीविहीन बनाइएका जिसस कर्मचारी भने घाम तापेर दिन कटाउँछन्
घनश्याम खड्का

म्याग्दी — स्थानीय विकास अधिकारी यामप्रसाद सुवेदी बिहान १० बजे जिल्ला समन्वय समिति (जिसस) पुग्छन् । पुसको चिसोमा दिनभर बाहिर चौरमा घाम ताप्छन्, चिया मगाउँछन्, कर्मचारी भेला गर्छन् अनि सुरु हुन्छ, रमाइला गफ । घाम अस्ताएपछि चिसो बढ्न थाल्छ । अनि कर्मचारीहरू ‘४ बज्यो’ भन्दै निवास फर्कन्छन् ।

जिसस कर्मचारी जिम्मेवारीविहीन

स्थानीय तह चुनावपछि सामान्य संयोजनकारी भूमिकामा खुम्चिएको जिसस कर्मचारीलाई कामको जिम्मेवारी नतोकिएकाले दिन कटाउनै मुस्किल भएको छ । जिससमा अहिले १५ जनाको दरबन्दी कायम भए पनि निजामती र स्थानीय विकासतर्फका गरी २५ कर्मचारी छन् ।‘स्थानीय शासन सञ्चालन ऐनले स्थानीय तहलाई स्वायत्त बनाई जिससको भूमिकालाई खुम्च्याएपछि जिम्मेवारीविहीन भयौं । स्थानीय निकायबाट नियुक्ति पाएर कार्यक्रम हेर्ने कर्मचारी अलपत्र छन्,’ स्थानीय विकास अधिकारी सुवेदीले भने, ‘प्रदेशसभा गठन र प्रदेश कानुन नभएको अवस्थामा हामी भूमिकाविहीन छौं । अघिल्ला वर्षका क्रमागत २/३ योजनाबाहेक कुनै कार्यक्रम नै छैनन् ।’

जिससलाई संविधानले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र स्थानीय तहका योजना अनुगमनको भूमिकामा सीमित गरेको छ । तर, स्थानीय शासन सञ्चालन ऐनले जिससलाई सामाजिक सुरक्षा, आन्तरिक आय, स्थानीय तहका विकास योजना अनुगमन गर्ने अधिकार भने

दिएको छ ।

जिल्ला कर्मचारी व्यवस्थापन समितिले चलाउन नसकेका कर्मचारी पनि यसरी नै पारिलो घाम ताप्दै सरकारको तलबभत्ता खाइरहेका छन् । एकातिर जिससमा दुई दर्जनभन्दा बढी कर्मचारीको जिम्मेवारी नभएकाले कामविहीन छन्, अर्कातिर अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ । गाउँपालिकाहरूमा लेखापाल र प्राविधिकका दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् ।

‘जिससमा रहेका कतिपय पद र दरबन्दी गाउँपालिका, नगरपालिकामा नभएकाले कर्मचारी व्यवस्थापनमा समस्या भएको हो,’ कर्मचारी व्यवस्थापन समिति अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले भने, ‘हामीले जिल्लाको आवश्यकता र अवस्था हेरी कर्मचारी व्यवस्थापन गर्दै गर्दा सामान्य प्रशासन मन्त्रालयबाट समन्वय नगरी भटाभट कर्मचारी सरुवा गरी अन्यत्र पठाएपछि यहाँ समस्या भएको हो ।’ जिससका सूचना अधिकृत, सामाजिक अधिकृत, सहायक लेखापाल, स्थानीय विकास कोष, सामाजिक परिचालक आदिको पद र दरबन्दी व्यवस्थापन हुन नसकेको हो ।

प्रकाशित : पुस १४, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?