साक्षरता कक्षाले पढाइमा सुधार

‘दलित र जनजातिका छोराछोरी पनि यति राम्रो नेपाली बोल्छन् कि हामी आफैं दंग पर्न थालेका छौं ।’
माधव अर्याल

जुठापौवा (पाल्पा) — एउटा आरोप छ, जनजातिले नेपाली भाषा राम्रोसँग पढ्न सक्दैनन् । तर यहाँ भने बेग्लै छ । जनजाति र दलितको बाक्लो बस्तीका बालबालिका नेपाली भाषा फर्रर पढ्न सक्छन् । कालिका आधारभूत विद्यालय जुठापौवामा कक्षा १, २ र ३ मा अध्ययन गर्नेको पठन संस्कृति बदलिएको छ ।

साक्षरता कक्षाले पढाइमा सुधार

दुई वर्षयता उनीहरूले नेपाली भाषा फर्रर पढ्न सक्ने भएका हुन् । सोही विद्यालयमा पढ्ने कक्षा ७ र ८ का विद्यार्थीले भन्दा कक्षा ३ मा पढ्नेले नेपाली भाषा राम्रो पढ्न सक्ने विद्यालयका शिक्षकशिक्षक बताउँछन् ।

तानसेनदेखि ४५ किलोमिटर दुर्गममा कालिका आधारभूत विद्यालय पर्छ । यही विद्यालयका अन्य कक्षामा भन्दा साना कक्षामा पुग्दा छुट्टै अनुभूति हुन्छ । त्यही कक्षाका बालबालिकाको नियम भिन्दै देखिन्छन् । ‘यति राम्रो बोल्छन् कि हामी आफंै दंग पर्न थालेका छौं,’ कक्षा २ मा पढाइरहेकी शिक्षिका अञ्जु पौडेलले भनिन्, ‘दलित र जनजातिका छोराछोरी हुन् तर धेरै राम्रो नेपाली भाषा पढ्न सक्ने भएका छन् ।’ उनीहरूले कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीले भन्दा धेरै राम्रो उच्चारण गरेर भाषा पढ्न सक्ने भएको उनले दाबी गरिन् । विद्यालयमा १ सय ६५ विद्यार्थी छन् । शतप्रतिशत दलित र जनजाति विद्यार्थी हुन् ।

यहाँ सफा कपडा लगाएर विद्यार्थी विद्यालय प्रवेश गर्छन् । साना कक्षामा बाहिर जुत्ता चप्पल मिलाएर राखिएको छ । उनीहरूलाई साना टेबुल र भुइँ बसाइ छ । बालबालिका खेल्दै, रमाउँदै आफ्नो कपी निकालेर चित्र कोर्न थाल्छन् । पढ्न थाल्छन् । कसैले ‘हेलो’ भन्यो भने ‘हाई’ गर्छन् । कोही नयाँ व्यक्ति देख्यो भने नमस्कार गर्छन् । खोलाको छेउमै रहेको विद्यालयमा कक्षाकोठाको दृश्यले सबैलाई लोभ्याउँछ । अभिनय, नृत्य, आºनो मनले देखेको गर्न दिएर सिकाउने क्रियाकलापका माध्यमबाट बालबालिकालाई आधारभूत शिक्षा दिने विधि यहाँ सिकाइन्छ । यही विद्यालयका दुई जना शिक्षकले रूम टु रिडको पठन संस्कृति विकास गर्ने तालिम लिएका छन् । उनैका कारण विद्यार्थीमा पठनसीपको विकास भएको छ । विद्यालयमा रूम टु रिडको सहयोगमा पुस्तकालय भवन छ । त्यही पुस्तकालयमा उनीहरूले नयाँ अभ्यास गर्छन् ।

पठन संस्कृतिको विकास गर्न देखिएको विद्यार्थीको क्रियाकलापले सिकाइलाई झनै राम्रो बनाएको छ । ‘पठनपाठनमा एकोहोरो घोकाउँदा केटाकेटीलाई सिक्न समय लाग्छ,’ कक्षा १ की नेपाली शिक्षक लक्ष्मी पुनले भनिन्, ‘घोकेका कुरा छिटो बुझ्न पनि समस्या हुन्छ ।’ सुँगालाई रटाएजस्तो र धेरै कुरा पढाइँदैन । विद्यालयमा भएका पुस्तक, पुस्तकालय जाने बेला होस् वा अन्य स्थानमा देखेका कुरा नेपालीमा भन्न समस्या रहेका हुन्छ । त्यसैले यस्तो नहोस् भनेर पठन संस्कृतिको विकास गर्न कक्षा १ र २ मा नेपाली शब्द पढाइएको छ । अरू विषयभन्दा नेपालीलाई दोब्बर समय दिइन्छ ।

अरू विषय ४५ मिनेटको घन्टी हुन्छ भने नेपालीलाई ९० मिनेट दिइएको छ । यहाँका विद्यार्थीले कक्षा १ बाट २ मा पुग्दा नेपालीका प्राय: सबै अक्षर पढ्न र लेख्न सक्ने भएका छन् । कक्षा २ का विद्यार्थीले झनै राम्रो नेपाली उच्चारण गर्न सक्छन् । ‘यस वर्ष तीन कक्षामा पुगेका विद्यार्थी र पहिला पढेका ८ कक्षाको तुलना गर्दा अचम्म लाग्छ,’ शिक्षक पौडेलले भनिन्, ‘विद्यार्थीको पढाइलाई नै धेरै फरक पार्दो रहेछ ।’

पछौटेपन उन्मुलन समाज बेसको सहकार्यमा ७५ विद्यालयका १ सय ७५ कक्षामा यस्तो पठनसीपलाई अघि बढाउने कार्यक्रम चलाएको छ । ‘अभिनय र कलात्मक ढंगले आफ्नै मनभित्रबाट हुने क्रियाकलाप दिगो हुन्छ,’ रूम टु रिडका सिनियर प्रोग्राम एसोसियट एलबी खडाले ‘जसले गर्दा केटाकेटीले रुचि मानेर सिक्ने र छिटो बुझ््ने हुन्छ ।’

पठनसीप क्षमतालाई बढाउनलाई नै अहिले यसरी सिकाइने गरेको हो । कार्यक्रम लागू भएका र नभएका विद्यालयमा गरेको अध्ययनबाट दोब्बर, तेब्बरसम्म सिकाइ उपलब्धि बढेको पाइएको बेस नेपालका कार्यक्रम संयोजक टेकबहादुर ढेंगाले दाबी गरे । उनका अनुसार ७५ मध्ये जुनसुकै विद्यालयमा पनि विद्यार्थीको पठनसीप बढेको छ । अहिलेसम्म कार्यक्रम लागू भएका विद्यालयमा जोसुकै पुगेर अनुगमन गरे पनि यसमा उन्नाइस/बीसबाहेक फरक नपाइने उनले बताए । विद्यालयका शिक्षकशिक्षक पनि पहिला र अहिले पढाउने शैलीमा परिवर्तन भएको बताउँछन् । उनीहरूले पहिला पढाउने शैली र अहिले सिकेको सीपलाई कक्षा कोठमामा प्रयोग गर्दा धेरै फरक पाएको बताए ।

‘अहिलेसम्म हामीले पढाउने तरिका नै गलत रहेछ भन्ने यति बेला बुझेका छौं,’ शिक्षक पुनले भनिन्, ‘एकै साथ धेरै काम गर्दा केटाकेटीले बुझ्दैनन् भन्ने सोचिएको थिएन ।’


प्रकाशित : पुस १४, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?