कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सेवामा कर छली 

अधिकांशले एक्सरे, प्रयोगशाला, डाक्टर शुल्कको कर तिर्दैनन् 
माधव अर्याल

पाल्पा — रामपुर नगरपालिका, १ गाडाकोटकी ४३ वर्षीया विनिता मल्लले रामपुर बेझाँडस्थित मेडिकलमा गएर डाक्टरसंग जाँच गराएको चार सय रुपैयाँ तिर्नु पर्‍यो । उनले डाक्टरलाई देखाए वापतको उक्त पैसा तिरेकी हुन् ।

स्वास्थ्य सेवामा कर छली 

त्यसपछि औषधि, ल्याव, एक्सरे, अल्ट्रासाउण्ड गरेको अलग्गै पैसा तिरेको बताइन् । ‘मैले डाक्टरले जाँचेको मात्र चार सय तिरेकी हुँ,’ उनले भनिन्, ‘त्यसपछि अन्य सेवाको छुट्टै पैसा तिर्नुपर्छ ।’ उनले बिरामी जाँचे वापत यसरी तिरेको रकम मेडिकल संचालकले भने आफुले राख्दैनन् । यसको रसिदसमेत दिँदैनन् ।


यो रकम तानसेन र बुटवलबाट त्यहाँ पुग्ने डाक्टरलाई बुझाउने हुन् । मेडिकल सञ्चालक आफैले बिरामी जाँच्दैनन् । उनीहरुले साप्ताहिक रुपमा विशेषज्ञ बोलाउने र उनीहरुसंग जाँच गराउने गर्छन् । तानसेन नगरपालिका, १० की ५८ वर्षिय तुलबहादुर अस्लामीले तानसेनमा हड्डीको डाक्टरलाई देखाए । डाक्टरले जाँचे वापतको चारसय रुपैयाँ अतिरिक्त तिर्नु पर्‍यो । यो बाहेक ल्याव, औषधि र अन्य सेवा वापत्को भने उनले अलग्गै तिरेको बताए । ‘डाक्टरले जाँचेको अलग्गै पैसा लिइएको हो भन्ने सुने,’ उनले भने, ‘तर मलाई यसको रसिद भने दिइएन है ।’ उनले औषधि खरिद, ल्याव, एक्सरे लगायतको रसिद पाएपनि डाक्टरले जाँचेको भने कुनै रसिद नपाएको बताए ।


रामपुर र तानसेनका यी दुई उदाहरण मात्र हुन् । जिल्लाका निजी क्लिनिक र मेडिकल हलमा डाक्टर पुगेर दिने सेवाको कर छली हुने गरेको छ । यस्तै, जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता नभएका क्लिनिक, एक्सरे, प्रयोगशाला लगायतका सेवामासमेत यसैगरी करछली गरेका छन् । उनीहरुले वार्षिक तिर्ने स्वास्थ्य सेवा करबाहेक अन्यमा छली हुने गरेको छ । रामपुरस्थित श्रेष्ठ मेडिकलका संचालक राजकुमार श्रेष्ठले अहिलेसम्म डाक्टरले लिने पैसाका विषयमा छलफल नै नभएको बताए । ‘हामीले यस प्रकारको अभ्यास अहिलेसम्म गरेकै छैनौं,’ उनले भने, ‘आगामी दिनमा व्यवस्थित होला ।’


उनका अनुसार डाक्टरकालागि लिने चार सय फिसको रसिद काटिदैन । बिरामीसँग लिएको रकम सोझै डाक्टरलाई दिने गरिन्छ । औषधि र अन्य सेवा वापतको रकम मात्र मेडिकलले पाउने उनले बताए । ‘हामीले बिरामीसंग लिएर कर बुझाउनुपर्ने हो,’ उनले थपे । तर, उनले औषधि व्यवस्था विभाग र कम्पनी ऐन अन्तर्गतको तिर्नुपर्ने कर छुट्टै तिर्दै आएको बताए । त्यो बाहेक वार्षिक तिर्नुपर्ने स्वास्थ्य सेवा कर भने तिरेका छन् । उनको ल्याव र एक्सरे भने दर्ता भएको छ । यो उनको मात्र होइन रामपुरमा खुलेका मेडिकल सेन्टर सबैको एउटै समस्या हो । रामपुरमा रहेका अधिकांश मेडिकलमा सातामा एक पटक विभिन्न विशेषज्ञ डाक्टर जान्छन् । अधिकांश डाक्टरलाई भने यस विषयमा जानकारी नभएको बताए ।


रामपुर र तानसेनमा बिरामी जाँच गर्ने अर्थोपेडिक डा. महेश घिमिरेले आफुलाई यस विषयमा जानकारी नभएको बताए । उनले भने, ‘जुन मेडिकलमा गइन्छ, उसैले हाम्रो कर तिर्नुपर्छ जस्तो लाग्छ ।’ रामपुरका कुनै पनि मेडिकलले डाक्टर फिस वापतको रकमको कर तिर्ने अभ्यास गरेका छैनन् । अहिलेसम्म करदाता सेवा कार्यालयसमेत यहाँसम्म अनुगमनमा पुगेको छैन । रामपुरमा जिल्ला स्वास्थ्यमा दर्ता नगरी सञ्चालन भएका मेडिकलसमेत छन् । उनीहरुले सरकारलाई तिर्ने करमासमेत छली गरेका छन् । स्वास्थ्यमा १० हजार प्रतिसेवाको कर तिरेर दर्ता हुनुपर्छ । उसको न्यूनतम् मापदण्ड पुगेकोसमेत हुनुपर्छ । तर जथाभावी रुपमा ल्याव, एक्सरे, अल्ट्रासाउण्ड चलाएका छन् । तानसेनमा संचालन भएको शाक्य क्लिनिक डा. राजु शाक्य आफैले बिरामी जाँच्छन् । तर उनले पनि ५० देखि ३ सयसम्म फिस लिने गरेका छन् । यसको रसिद नै काटेर तिरेपनि अहिलेसम्म करको दायरमा भने उनी गएका छैनन् । स्वास्थ्य कार्यालयमा भने उनले दर्ता गरेका छन् । ‘अहिलेसम्म त्यत्तिकै संचालन गरियो, आगामी दिनमा करको दायरामा जानेछु,’ उनले भने ।


लुम्विनी मेडिकल कलेज, बुटवल र भैरहवाका विभिन्न अस्पतालबाट तानसेन, रामपुर र मेडिकल कलेजमासमेत विशेषज्ञ सेवाकालागि आउने डाक्टरले लिने फिसको कर छली हुँदै आएको स्वयं मेडिकल संचालकहरु बताउँछन् । तासनेनका संगम मेडिकल हलका संचालक रुक्मागत शर्माले विभिन्न सेवा वापतको डाक्टर र विशेषज्ञ आएर लिने रकमको विषयमा अहिलेसम्म कर तिर्ने अभ्यास नभएको बताए । ‘डाक्टर हुन् वा अन्य विशेषज्ञबाट लिने रकमको रसिद काटिदैन र कर पनि तिरिएको हुँदैन,’ उनले भने, ‘तर आगामी दिनमा यस विषयमा सचेत भएर कर तिर्नेतर्फ जानेछौं ।’ तानसेनका केही मेडिकलमा अल्ट्रासाउण्ड गर्न डाक्टर र अन्य विशेषज्ञ जान्छन् । उनीहरुले लिने ७ सय रुपैयाँकोसमेत रसिद काटिदैन । उनीहरुले ६ सय रुपैयाँ लिन्छन् भने सय रुपैयाँ मेडिकलले आफ्नो खर्च वापत लिने गर्छन् ।


स्वास्थ्य कार्यालयका अनुसार डाक्टरसहितको सेवा दिने सन्चो मेडिकहल, सन्चो क्लिनिक, सन्चो प्रयोशशाला दर्ता छ । यस्तै, लुम्विनी मेडिकल कलेजको टाउन क्लिनिक, डा. राजु शाक्यको शाक्य क्लिनिक, संगमको एक्सरे, उपकारको प्रयोगशाला, इशा फार्मेशीको अल्ट्रासाउण्ड, रामपुरका कालीगण्डकी र कान्तिपुर डेन्टलले स्वास्थ्यमा दर्ता गरेका छन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन इश्वरी न्यौपानेका अनुसार केही मेडिकलमा प्रदान गर्ने सेवाको दर्ताकालागि प्रकृयामा छन् । तर उनीहरुको मापदण्ड नपुरेर रोकिएका हुन् । यी बाहेक जिल्लाका ७० प्रतिशत मेडिकलले प्रदान गर्ने सेवाको भने दर्ता गरेका छैनन् । ‘सबै भन्दा पहिला सन्चो क्लिनिक दर्तामा आयो,’ उनले भने, ‘त्यसपछि बिस्तारै अरुले पनिदर्ताकालागि प्रकृया अगाडी बढाए ।’ सन्चो क्लिनिकका डा. झपेन्द्र ढकालले अहिले सबै प्रकारको सेवा वापतको कर अनुशासित ढंगले बुझाउने गरिएको छ ।


एक वर्षअघि सम्म जिल्लामा कुनै पनि प्रयोगशाला, अल्ट्रासाउण्ड, क्लिनिक दर्तामा थिएनन् । स्वास्थ्य कार्यालय, करदाता सेवा कार्यालय कसैले पनि अनुगमन नगर्ने भएकाले मेडिकलको नाममा सबै सेवा र विशेषज्ञ सेवा दिने प्रचार गर्दै सेवाग्राहीबाट रकम असुल गरेका थिए । करदाता सेवा कार्यालयका प्रमुख बासुदेव नेपालका अनुसार सरकारी र सामुदायिकवाहेक स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति, निकाय, संस्था करको दायरामा हुन्छन् । उनीहरुले बीजक मूल्यमा ५ प्रतिशतले असुल गर्नुपर्छ । चार–चार महिनामा त्यस्तो करको विवरण बुझाउनुपर्ने नियम छ । ‘स्वास्थ्य सेवा कर निर्देशिकाको अनुसूची २ बमोजिमको बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराएर मात्र प्रयोग गर्नुपर्छ,’ अधिकृत नेपालले भने ।

प्रकाशित : पुस १४, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?